सूर्य चिह्न लिएर थापा चुनावमा जाने



बुटवल । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी नयाँ भएकाले तीर चुनाव चिह्नबारे जनतालाई बुझाउने समय नभएकाले एमालेको सूर्य चिह्नबाट निर्वाचन लड्न लागेको बताउनुभएको छ । राप्रपा नेपालद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो बताउनुभएको हो ।

अध्यक्ष थापाले नेपालमा अब राजसंस्थाको पुनःस्थापनाको सम्भावना सकिएको समेत बताउनुभयो । राजसंस्था पुनःस्थापनाको एजेन्डा बोक्दा हिन्दू राज्यको एजेन्डा ओझेलमा परेकाले आफूहरूले राजसंस्था पुनःस्थापनाको एजेन्डा छुटेको उहाँको कथन छ । विगतमा राजतन्त्र पुनःस्थापनाको सम्भावना भए पनि पूर्वराजा ज्ञानेन्द्रको व्यवहारकै कारण अब राजसंस्था पुनःस्थापना हुने बाटो बन्द भएको थापाको दाबी छ ।
राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएपछि नयाँ पार्टी राप्रपा नेपाल पुनर्जागृत गरेको बताउँदै उहाँले भविष्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, धवलसमशेरलगायत पनि राप्रपा नेपालमै आउने दाबी गर्नुभयो ।

आफूहरूले १५ वर्षमा कमाएको आम्दानीमा राप्रपाको अहिलेको नेतृत्वले रजगज गरेको भन्दै अध्यक्ष थापाले अहिले रहेको सम्पत्ति सकिएपछि राप्रपा पार्टी पनि सकिने जिकिर गर्नुभयो ।आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउने उहाँले बताउनुभयो । ‘राप्रपा नेपालको योपटक पहिलो निर्वाचन भएकाले यसमा हाम्रो ठूलो महत्वाकांक्षा र अपेक्षा छैन’, उहाँले भन्नुभयो– ‘सम्मानजनक उपस्थिति र पार्टीले खुट्टा टेक्ने ठाउँ मात्रै बनाउन लागेका छौं ।’

प्रतिक्रिया दिनुहोस्