जिल्लाबाट हुन सकेन, पालिकालाई गठबन्धनको अधिकार



बाँके  । 

भागबन्डामा कुरा नमिलेपछि बाँकेमा सत्ता गठबन्धन दलका बीचमा चुनावी गठबन्धन हुन सकेन । पटक–पटकको छलफलमा सहमति हुन नसकेपछि सत्ता गठबन्धन दलका बीचमा चुनावमा मित्रवत् व्यवहारका साथ जाने निर्णय भएको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालयमा पटक–पटक बसेको बैठकमा दलहरू आ–आफ्नै अडानमा रहँदा भागबन्डामा कुरा मिल्न सकेन । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सुरुआती दुई वटा बैठकबाटै बाहिरिएको थियो । अन्य चार दलका बीचमा धेरैपटक बैठक भए पनि भागबन्डा मिल्न सकेको छैन ।

बाँकेमा आठ वटा पालिका छन्, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका । २०७४ सालको निर्वाचनमा कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ र जानकी गाउँपालिकामा एमालेले चुनाव जितेको थियो । राप्तीसोनारी र डुडुवामा कांग्रेस, नेपालगन्जमा राप्रपा र नरैनापुरमा तत्कालीन फोरम (हाल जसपा) ले चुनाव जितेको थियो ।

केन्द्रीय सर्कुलरअनुसार, २०७४ सालमा जितेको ठाउँमा त्यही पार्टीलाई दिने, अरू पार्टीले जितेको ठाउँमा मतभारका आधारमा निटकतम प्रतिस्पर्धीलाई टिकट दिने उल्लेख गरिएको छ । यस अनुसार खजुरा गाउँपालिकामा माओवादी निकटतम प्रतिस्पर्धी थियो । त्यहाँ कांग्रेसले माओवादीलाई दिन तयार रहेको छ । माओवादीले नेपालगन्ज, कोहलपुर र राप्तीसोनारीमध्ये एकमा दाबी गरेपछि कुरा मिल्न सकेको छैन । कांग्रेसले लचकता देखाउदै नेपालगन्ज, कोहलपुर र राप्तीसोनारीमा उपाध्यक्ष दिन तयार रहेको छ । यसमा पनि कुरा मिल्न नसकेपछि जिल्लाबाट गठबन्धन गर्न नसकिने र पालिका वा वार्डले आवश्यकताका आधारमा गठबन्धन गर्न सक्ने गरी सत्ता साझेदार दलहरू छुट्टिएका छन् ।

संयुक्त बैठकबाट बाहिरिएपछि दलहरू सिंगल सिंगल बैठक बसिरहेका छन् । शनिबार बसेको कांग्रेसको पदाधिकारी सकिएको छ । पार्टी प्रवक्ता डिल्ली गिरीले जिल्लास्तरमा गठबन्धन हुन नसकेकाले पालिकाहरूले आवश्यकताका आधारमा गठबन्धन गर्न सक्नेबारेमा छलफल भएको जानकारी दिनुभयो । ‘जिल्लाबाट गठबन्धनको निर्णय हुन सकेन । हाम्रो पदाधिकारी बैठकले पनि आवश्यकताका आधारमा पालिकास्तरमा गठबन्धन गर्न सक्ने निर्णय गरेको छ, पार्टी प्रवक्ता गिरीले भन्नुभयो, जुन पालिका वा वार्डले गठबन्धनको आवश्यकता महसुस गर्छन् । त्यहाँ उनीहरूले नै गठबन्धन गर्न सक्छन् ।’

माओवादीले खजुराका साथै कोहलपुर नगरपालिकालाई बढी तार्गेट गरेको छ । २०७४ सालको निर्वाचनमा ८३ मतले पराजित भएको कांग्रेसले कोहलपुर नगरपालिका छोड्ने अवस्था छैन । कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसीले कोहलपुर र कांग्रेसले जितेको राप्तीसोनारीमा समेत उपाध्यक्ष दिन तयार रहेको बताउनुभयो । यस विषयमा छलफल गर्न माओवादीको बैठक बस्दैछ । माओवादीका नेता नवीन शर्माले पार्टीको बैठक बसिरहेको र बैठकले एउटा निर्णय गरेपछि गठबन्धनका दलका बीचमा बैठक हुने बताउनुभयो ।

२०७४ मा कांग्रेस खजुरामा बाहेक सबै ठाउँमा पहिलो या त दोस्रो भएको थियो । गठबन्धनमा माओवादी र कांग्रेसका बीचमा अझै मिल्न सक्ने झिनो आशा देखिँदा रहँदा जसपा एक्लै लड्ने निर्णयमा पुगिसकेको छ । जसपाले नेपालगन्ज उपमहानगरपालिका, जानकी, डुडुवा र नरैनापुरमा कुनै हालतमा नछोड्ने बताइसकेको छ । जिल्लामा ठूलो पकड नभएको नेकपा समाजवादी एकीकृतमा बैजनाथको उपाध्यक्षसम्म दिन सकिने कांग्रेसका नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्