काठमाडौं महानगरपालिकामा विवेकशीलले टुंगो लगायो उम्मेदवार



काठमाडौं  ।

विवेकशील साझा पार्टीले काठमाडौं महानगरको नगरप्रमुख र नगर उपप्रमुखको टुंगो लगाएको छ । विवेकशीलले समीक्षा बाँस्कोटालाई नगर प्रमुख र कीर्ति तुलाधरलाई नगर उपप्रमुखको उम्मेदवार बनाएको हो । विवेकशील साझा पार्टीले उम्मेदवारले प्रतिज्ञा–पत्र पनि सार्वजनिक गरेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायातलाई मूल एजेन्डाका रूपमा अघि सार्दै उम्मेदवारद्वयले प्रतिज्ञापत्रमा महानगर तथा वडा कार्यालयमा हुने गरेका भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने उल्लेख गरेका छन् । महानगर र वडाबाट हुने अधिकांश कामलाई डिजिटलाइज गरी सेवाग्राही सकभर कार्यालयमा धाउनै नपर्ने र घरबाटै सम्पन्न गर्ने व्यवस्था मिलाइने बताउँदै प्रतिज्ञा पत्रमा महानगरका कर्मचारीको प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम र प्रशिक्षणको व्यवस्था गरिने बताएका छन्।

महानगर र वडा कार्यालयहरूलाई ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री बनाउँदै सेवा प्रवाहमा प्राथमिकता दिइने, महानगरपालिकाभित्र दलीय पेशागत संगठन तथा सुशासनमा अवरोध पु-याउने, दलीय राजनीतिक गतिविधिलाई निरुत्साहित गरिने, सुलभ, व्यवस्थित यातायात, विद्युतीय सवारी प्रवद्र्धन, निजी क्षेत्रसँगको सहलगानीमा काठमाडौंभित्र बिजुलीले चल्ने ठूला तथा मझौला आकारका सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गरिने प्रतिज्ञापत्रमा भनिएको छ ।

समीक्षा बाँस्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हालः पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहनुभएको छ । उहाँले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गर्नुभएको छ । कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको छ। नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्षमध्येकी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्