माता–पिताका नाममा असहायको सेवा गर्दै सांसद केसी



काठमाडौं  ।

प्रतिनिधिसभाका सांसद राजेन्द्र केसी (राजन) का तीन दाजुभाइ, चार दिदीबहिनी र उहाँहरूका परिवारका सदस्यले विगत २० वर्षदेखि माता–पिताका नाममा असहायलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

‘स्वर्गीय पदम केसी र टोलकुमारी केसी प्रतिष्ठानका नाममा हामीले सानो रकम, १० लाख रुपियाँ अक्षय कोष बनाई बैंकमा राखेका छौं, त्यसको व्याजबाट जम्मा हुने रकमले शिक्षा र स्वास्थ्यका क्षेत्रमा असहायलाई केही भरथेग गर्दैआएका छौं’, सांसद केसीका ठूलो दाजु तथा प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर केसीले भन्नुभयो– ‘यो पारिवारिक पहल हो, अक्षय कोष थप्दै जाने हाम्रो प्रयास छ, हामी तीन भाइ र चार दिदीबहिनीका स्वदेश र विदेशमा रहेका छोराछोरीले अक्षय कोष बढाइरहेका छन् ।’

केसी परिवारले शनिबार चोभारस्थित आफ्नै घरआँगनमा एक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान गर्दै प्रतिष्ठानका तर्फबाट शैक्षिक तथा पेशागत क्षेत्रमा उच्च सफलता हासिल गर्ने परिवारका सदस्यलाई प्रशंसापत्रका साथ सम्मान पनि ग-यो ।नेपाली कांग्रेसका नेता डा. रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर केसीले अक्षय कोषको ब्याजबाट आएको ९० हजार रुपियाँ आज पनि सही पात्रको प्रतीक्षामा छ, उपयुक्त पात्रले अनुरोध गरेमा प्रदान गरिने जानकारी दिनुभयो । डा. महत नाताले राजन केसीका मामाका छोरा हुनुहुन्छ । केसी परिवारले शुभकामना आदान–प्रदान कार्यक्रमका सहभागी तथा गाउँले गरी सात सयभन्दा बढी सहभागीलाई दिवा भोजन पनि गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्