‘समपरिधानको महत्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’



 काठमाडौं । 

नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्षको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवनको सिद्धिचरण सभा कक्षमा ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक विचार–गोष्ठी आयोजना गरियो ।

गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गंगाप्रसाद उप्रेतीले संस्कृतिका क्षेत्रमा नेपाल विश्वकै धनी देश भएको उल्लेख गर्नुभयो । उहाँले विविध जातजाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक नेपालका मौलिक संस्कृतिहरूको संरक्षण र संवद्र्धन गर्नु अपरिहार्य भएको बताउनुभयो । कुलपति उप्रेतीले बोलीचाली, खानपान, वेशभूषा, रहनसहन र विविध जातीय संस्कारजस्ता कुराहरू नै संस्कृति भएको विचार व्यक्त गर्दै तिनको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण समाजले गरिआएका कार्यहरूको उच्च प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो– ‘नेपालका नारीहरूले लगाउने मौलिक पहिरन गुन्युचोलीमा केन्द्रित रहेर आयोजना गरिएको आजको गोष्ठी प्रशंसनीय छ । यसले सांस्कृतिक पहिचानको संरक्षण गर्न थप ऊर्जा सञ्चार गरेको छ ।’

प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागका प्रमुख उपकुलपति डा.जगमान गुरुङले सभाध्यक्षको आसनबाट बोल्दै नेपालको राष्ट्रिय समपरिधान गुन्युचोलीसम्बन्धी आयोजना गरिएको कार्यक्रमले गुन्युचोलीको महत्व र गरिमामाथि थप प्रस्ट पार्न सहयोग पु¥याएको बताउनुभयो । उहाँले नेपाली महिलाहरूको मौलिक र परम्परागत पोसाक गुन्युचोलीको महत्त्व र प्रयोगका बारेमा महत्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएको थियो । गोष्ठीमा बोल्दै सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले कुनै पनि देश संस्कृतिविहीन छ भने त्यस देशको सही समृद्धि हुन नसक्ने बताउनुभयो ।

उहाँले नेपाली समाजमा छोरीलाई गुन्युचोली दिने संस्कृति साडीचोलो लगाउने संस्कृतिको पूर्वाभ्यास भएको विचार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपाली मौलिक पोसाक दौरासुरुवालका विषयमा पनि विचार–गोष्ठीको आयोजना गरिने जानकारी गराउनुभयो ।नेपाल संस्कृति संरक्षण समाजकी अध्यक्ष लक्ष्मी ओझा भद्राले कार्यक्रममा स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहप्रायापक डा.लोकनाथ दुलालले ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्युचोली प्रयोगको अवस्था’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।

दुलालको गोष्ठीपत्रमाथि प्रा.डा. मदनकुमार रिमाल र प्रा.डा. सावित्री मल्ल कक्षपतिले टिप्पणी गर्नुभएको थियो । समाजकी सदस्य प्रियंका भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा गायक सञ्जु अमात्यले गीत गाउनुभएको थियो भने ट्युलिप श्रेष्ठ र तेजस्वी श्रेष्ठले नृत्य प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यक्रममा कुलपतिको निजी सचिवालयमा कार्यरत साहित्यकार राधा कार्की दुलालद्वारा रचित र मकालु प्रकाशन गृहद्वारा प्रकाशित ‘शाश्वत आकृति’ नामक गद्यकविता सङ्ग्रह र समाजद्वारा प्रकाशित ‘गुन्युचोलीः नेपाली राष्ट्रिय समपरिधान’ नामक पुस्तकसमेत लोकार्पण गरिएको थियो । कार्यक्रममा प्राज्ञहरू प्रा.दिनेशराज पन्त, प्रा.डा.हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा.गोपीन्द्र पौडेल, डा.देवी नेपाल, शशी लुमुम्बूका साथै दीर्घराज प्रसाईं, आशिष भद्रा, प्रा.डा.गोविन्दमानसिंह कार्कीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्