अलमलमा तालमेल



स्थानीय निर्वाचनको मिति नजिकिएको छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब एकसाता मात्र बाँकी छ । निर्वाचन आयोगले ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

सत्तारुढ दलले यस चुनावमा तालमेल गरी प्रतिस्पर्धा गर्ने जनाएका छन् । २०७४ सालको निर्वाचनमा प्राप्त जनादेशले इतिहासकै कमजोर दल सावित गर्दै नेपाली कांग्रेसलाई पाच वर्ष प्रतिपक्षमा बस्न पठाएको थियो । दुई पार्टी एकीकरण गरी झण्डै दुई तिहाइको हाराहारीमा बहुमत पु-याएको कम्युनिष्ट नेतृत्वको सरकार साढे तीन वर्षमै विवादित भएर उत्पन्न परिस्थितिका कारण कांग्रेस सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ।

आम कार्यकर्ता मात्र हैन पार्टीभित्र संस्थापन इतर पक्षको चर्को दबाबपछि कांग्रेस नेतृत्व केन्द्रबाट नै स्थानीय तह बाँडफाड गरी चुनावी प्रतिस्पर्धामा जाने योजनाबाट पछि हटेर स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल गर्ने नीति बनाएको छ । अधिकांश स्थानीय तहमा कांग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने लक्ष्यका साथ अघिबढेको थाहा पाएपछि तालमेलको लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बनेको केन्द्रीय समितिले स्थानीय तहलाई बारम्बार दबाब दिइरहेको छ । तालमेलकै विषयलाई लिएर पालिकास्तरमा होस् वा जिल्ला स्तरमा होस्, गठबन्धमा रहेका दलहरुबीच नियमित छलफल भैरहेको छ । परिणामतः उम्मेदवार छनौटको प्रक्रियामा अघि बढिसकेको प्रमुख सत्तासीन दल नेपाली कांग्रेस अलमलमा परेको छ ।

चुनावी तालमेलमा कुन दलले कुन पालिका वा वडा छोड्ने भन्ने विषयले प्राथमिकता पाउँदा वडा तहसम्म क्रियाशील भएका कांग्रेसका आम नेता तथा कार्यकर्तामा निराशा छाएको देखिन्छ । निर्वाचनमा उम्मेदवार छान्न एउटा प्रक्रियामा अघि बढिसकेको बेला तालमेलको कुराले कांग्रेस पार्टीभित्र मतदाता तहसम्म व्यापक असन्तुष्टि बढिरहेको छ । कुन दललाई कुन पालिकाको अध्यक्ष, उपाध्यक्ष वा वडा अध्यक्ष भनेर छनौट गर्न महाभारत भैरहेको बेला कांग्रेस केन्द्रले फेरि निर्देशन जारी गरेको छ– पार्टी आवद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरुलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँंग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुने ।

यसअघि घरघर जाऔं कांग्रेस जिताऔं भन्दै एकमहिना अभियान सञ्चालनका क्रमममा मतदाताको घरघर पुगेको कांग्रेसका नेता कार्यकर्ताले अबको एकसाता पछि फेरि घरघर गएर माओवादी तथा संघीय समाजवादीका उम्मेदवारलाई जिताउन भोट माग्नुपर्ने अवस्था आउनेछ । दल फरक, उम्मेदवार फरक, चुनाव चिन्ह फरक, दलको घोषणापत्र, नीति कार्यक्रम सबै फरक तर पनि हामी एक हौ भनेर भोट माग्नु पर्ने अवस्थामा रहेका दलहरुको तालमेलले गरेको अलमल अझै कति दिन लम्बिने हो, निश्चित छैन ।

यस अलमलसँगै आम जनमानसमा एउटा प्रश्न उब्जेको छ– चुनावमा मिलिभगत गरी सत्तामा पुग्नको लागि मात्र गरिएको तालमेलको औचित्य के ? सरकारमा गठबन्धन गरेको कांग्रेसले स्थानीय तहमा पनि चुनावी तालमेल गरी अघिबढ्ने नीति अवलम्बन गरेपछि गत निर्वाचनमा गुमेको साख फर्काउन चुनावी प्रचार–प्रसारका साथ देशभर परिचालित कांग्रेस अलमलमा परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्