कुखुरा चोर पनि पत्रकार बन्ने प्रवृत्ति रोक्न पूर्वआयुक्तको आग्रह



भक्तपुर । 

चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेसनल नेपाल प्रालिले भक्तपुरमा आयोजना गरेको पालिकाको पाँचवर्षे विकासमा सञ्चारकर्मीको भूमिका एवं सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले २० वर्षमा हुन नसकेको काम यो पाँच वर्षको अवधिमा जनप्रतिनिधिले गरेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिका क्षेत्रमा मेयरसँग उद्यमशिलता कार्यक्रममा, बैंक खाता छोरीको सुरक्षा भरिको जस्ता कार्यक्रममा देशमै नमुना बनेको भन्दै शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, महिला उद्यमशिलता जस्ता विषयमा नगरपालिकाले अघि सारेको कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।

सडक, पुल, भवन, खानेपानीजस्ता भौतिक संरचनाको निर्माण तीव्र भएको बताउँदै उहाँले विकास यो मात्र नभई सामाजिक आर्थिक रूपान्तरणका लागि ल्याएका परिवर्तन पनि धेरै भएको बताउनुभयो ।उहाँले पाँच वर्षका विकासलाई फर्केर हेर्दा २०० पन्नाको किताबमा पनि नहट्ने विवरण रहेको भन्दै चुनावमा गरेको घोषणा भन्दा धेरै विकास जनताको दैलो दैलोमा पुगेको बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर प्रमुख भएर जादा भाडाको चार कोठाबाट शुरू गरेको काम आफ्नै भवन बनाउनेसम्ममा पुगेको, सबै वडा कार्यालय भवन, नगर अस्पताल, स्वास्थ्य संस्थाहरू निर्माण गरेको बताउनुभयो ।

उहाँले यो पाँच वर्षको अवधिमा १२१ वटा कार्यपालिका बैठक कुनै विवाद बिना सम्पन्न गरेको, १० वटा नगर सभा सम्पन्न गरेको, ११० किलोमिटर सडक कालोपत्र गरेको, ६५ वटा ऐन, कानुन बनाएको, ३७ वटा स्कुल, ३३ वटा पुल, ८ वटा ट्रस पुल, एक झोलुङे पुल बनाएको बताउँदै घोषणा पत्र भन्दा धेरैनै बढी काम सम्पन्न गरेको बताउनुभयो ।संघीय, प्रदेश र स्थानीय सरकारको बजेटका कारण सूर्यविनायक नगरपालिकाको चौतर्फी विकास गर्न सफल भएको भन्दै उहाँले आफ्नो कार्यकालमा गर्न हुने काम नगरेको र गर्न हुने काम कुनै पनि पार्टी नहेरी गरेको बताउनुभयो ।

त्यसअवसरमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बाँस्तोला, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, चानपाका प्रमुख प्रशासकीय प्रमुख हरिप्रसाद चापागाईं, सूनपाका प्रमुख प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद कँडेललगायतले पाँच वर्षमा भएको विकासका कामहरूकाबारेमा चर्चा गर्नुभएको थियो ।कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त यशोधा तिमल्सिनाले सूचनाको हककाबारेमा जानकारी दिँदै प्रत्येक पालिकाले सूचना माग्न आएका व्यक्तिलाई सूचना दिनु पर्ने बताउनुभयो ।

उहाँले सूचनाको हककाबारेमा अझै कर्मचारीले जान्नु पर्नेमा जोड दिँदै पत्रकारले सूचनाको हकलाई प्रयोग गर्नु पर्ने औंल्याउनुभयो । उहाँले कुखुरा चोर पनि पत्रकार हुने नेपालको प्रवृत्ति हटाउन पर्नेमा जोड दिँदै पत्रकार बन्नका लागि कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने र लाइसन (अनुमति पत्र) अनिवार्य लिनुपर्ने व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले निर्वाचनपछि नयाँ आउने जनप्रतिनिधिले विगत पाँच वर्षका भएका राम्रा कामलाई निरन्तरता दिनु पर्ने र नराम्रा कामलाई छाडेर जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्