सार्वजनिक शिक्षा सुधारमा जोड



काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिनुभएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बुधबार मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधारमा जोड दिनुभएको हो ।

उहाँले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानुनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालमा सार्वजनिक विद्यालयहरूको स्थिति खस्केको छ, गुणस्तर छैन भन्ने जुन प्रकारको चर्चा, परिचर्चा चल्ने गरेको छ ।

त्यसमा सुधार गरेर हामीले त्यो चर्चालाई प्रत्युत्तर दिनुछ । त्यसको निम्ति हामीले भौतिक पूर्वाधारमा सुधार, कानुनी सुधार र शिक्षण सिकाई प्रक्रियामा सुधार गरी सार्वजनिक विद्यालयहरूलाई सुदृढ र व्यवस्थित गर्ने अभियानमा मन्त्रालय लागेको छ ।’उहाँले सार्वजनिक सुधारको अभियान काठमाडौं महानगरपालिकाबाट शुरू भएको जिकिर गर्दै निजी क्षेत्रलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जानुपर्ने धारणा अभिव्यक्त गर्नुभयोे ।

मन्त्री पौडेलले निजी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रूपमा नलिई न्युनतम शुल्कमा पढाउनुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘तोकेका कतिपय प्रक्रिया र प्रणालीभित्र रहेर लिइएको शुल्कलाई अधिकतम नगरीकन न्यूनतम शुल्कमा पढाउने र शिक्षालाई नाफा आर्जन गर्ने थलोको रूपमा होइन कि सेवा दिने संस्थाको रूपमा निजीले पनि सहयोग गर्नुस् ।’

उहाँले कम्तीमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिने गरी सरकारले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री पौडेलले सार्वजनिक सुधार मन्त्रालयको प्राथमिकतमा रहेको बताउँदै आगामी आर्थिक वर्षमा शिक्षामा बजेट वृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्