नगरप्रमुखमा कांग्रेसका ६ जना आकांक्षी



लमजुङ । 

लमजुङको बेंसीशहर नगरपालिका प्रमुख उम्मेदारका लागि नेपाली कांग्रेसका ६ जनाले दाबी गरेका छन् । नगर प्रमुख सिफारिसका लागि नगर कार्यसमितिको बैठकमा पार्टीको विभिन्न पदमा जिम्मेवारी सम्हाल्दै आएका ६ जनाले आवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदार छनौटमा लागेको नेपाली कांग्रेसले स्थानीय तहबाट उम्मेदार सिफारिस गर्ने क्रममा कार्यकर्ता भेला गरी आकांक्षीहरुको आवदेन संकलन गरेको थियो । सो क्रममा बेंसीशहर नगरपालिका प्रमुखका लागि पार्टीको जिल्ला पदाधिकारीसहितका ६ जनाले आवेदन दिएका हुन् ।

नगरप्रमुखमा आकांक्षा व्यक्त गर्नेहरुमा नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख एवं निवर्तमान जिल्ला सचिव हरि बराल, जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचिव कृष्णबहादुर अधिकारी रहेका छन् ।त्यसै गरी, नगरप्रमुखको उम्मेदार आकांक्षीहरुमा महाधिवेशन प्रतिनिधिहरु जीवनकुमार श्रेष्ठ र वृषराज गुरुङ रहेका छन् । सोबाहेक बेसीशहर–११ की सुप्रिया जोशीले पनि कांग्रेसका तर्फबाट मेयरमा उम्मेदार बन्ने आकांक्षा राखेको नेपाली कांग्रेस बेंसीशहर नगर सभापति शरणहरि जोशीले बताउनुभयो ।

नगरस्तरीय भेलामा प्रमुखसहित उपप्रमुख उम्मेदारीका लागि भने पाँच जनाले आकांक्षा राखेका छन् । उपप्रमुख आकांक्षा राख्नेहरुमा नेपाली कांग्रेस महासमिति सदस्य टीका बस्याल, जिल्ला कार्यसमिति सदस्य सरस्वती धिताल, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष तिरकाशी गुरुङ, नेपाल शिक्षक संघ गण्डकी प्रदेश प्रतिनिधि विष्णुमाया भण्डारी, नेका गण्डकी प्रदेश प्रतिनिधि सुस्मिता अधिकारीलगायतले आकांक्षा व्यक्त गरेको नगर सभापति जोशीले बताउनुभयो ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदार सिफारिसका लागि पार्टीभित्र आन्तरिक छलफललाई तीव्र बनाएको छ । उम्मेदार दाबीका लागि पार्टीभित्रनै केही रकम मापदण्ड बनाई आकांक्षीको निवेदन संकलन गर्ने र सिफारिस गर्ने बेंसीशहर नगरकार्यसमिति सचिव प्रदीप बस्नेतले बताउनुभयो । कांग्रेसले नगरप्रमुख दाबी गर्न आवेदनसहित १५ हजार र उपप्रमुखका लागि १० हजार रुपियाँ शुल्क कायम गरेको छ ।
आकांक्षीहरु आवश्यकताभन्दा बढी भए पनि बृहत् छलफल र सहमतिबाटै सिफारिस गर्ने प्रयास जारी रहेको कांग्रेसले जनाएको छ । माथिल्लो तहमा सिफारिस गर्दा बढीमा तीन जनासम्म गर्ने र सहमति नभए सबै नाम सिफारिस गरिने कांग्रेस बेंसीशहर नगर कार्यसमितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्