भेरी र बारेकाेटमा एमालेले टुंगो लगायो

गठबन्धन दलमा उम्मेदवार छनोटमा सकस



वासुदेव शर्मा, जाजरकोट ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेले दुईवटा पालिकाको मेयर र अध्यक्षको नाम सर्वसम्मतरूपमा चयन गरेको छ । बैठकले भेरी नगरपालिकामा चन्द्रप्रकाश घर्ती र बारेकोटमा वीरबहादुर गिरीलाई चयन गरेको हो । गठबन्धन दलमा आकांक्षी धेरै हुँदा उमेदवार छनोटमा सकस परेको छ ।

जिल्ला सदरमुकाममा रहेको सातवटा पालिकामध्ये सबै नेता–कार्यकर्ताको रोजाइमा परेको गत निर्वाचनमा एमालेको तर्फबाट भेरी नगरपालिकाको मेयर जितेका घर्तीलाई फेरि दोहा-याउन लागिएको हो । बारेकोट गाउँपालिकाको अध्यक्षमा जिल्ला कमिटीका सचिव गिरीलाई छनोट गरेको छ । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएपछि उम्मेदवार छनोट गर्न सकेको छैन ।

२०७४ को स्थानीय निर्वाचनमा करिब ५ सय मतको अन्तरले जितेका घर्तीलाई यति बेला दुई ठूला शक्ति एक ठाउँमा उभिएपछि फलामको चिउरासरह हुने देखिन्छ । केन्द्रीय सर्कुरलअनुसार सत्ता गठबन्धन दल बीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भएपछि जाजरकोटमा चार राजनैतिक दलले भागवण्डा मिलाउन नसक्दा पेचिलो बन्दै गएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र समाजवादी जनताले भागवण्डा मिलाउन नसक्दा उमेदवार छनोटमा समस्या पर्दै गएको छ । एकीकृत समाजवादी र समाजवादी जनता पाटीको खासै प्रभाव देखिँदैन ।

गत स्थानीय तहको निर्वाचनमा सात पालिकामा तीन एमाले, दुई नेपाली कांग्रेस र दुई नेकपा माओवादी केन्द्रले जितेका थिए । जितेका पालिका आफूले नै राख्दा पनि एमाले जितेका पालिका कसले पाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । नेपाली कांग्रेसले पाँच, नेकपा माओवादी केन्द्रले पाँच र समाजवादीले एक पालिका पाउने दाबी गरेका छन् । नेपाली कांग्रेसले जितेका पालिकाबाहेक अन्य पालिकामा दुई सयदेखि पाँच सयको मतान्तरमा कांग्रेस उम्मेदवार पराजित भएका थिए । गत निर्वाचन भन्दा सबै पालिकामा कांग्रेसले सुधार गरेकाले पाँच पालिका पाउनुपर्ने अडान कायम रहेको नेपाली कांग्रेसका समापति वेदराज सिंहले बताउनुभयो ।

सातवटा स्थानीय तह रहेको जाजरकोटमा माओवादीले पाँचवटा पालिका दाबी गरे पनि तीन र कांग्रेसलाई चार पालिका दिन चाहेको छ । समाजवादीले एक पालिका आफूले पाउनुपर्ने अडान कायम राखेपछि भागवण्डामा सकस परेको सभापति सिंहको भनाइ छ ।नेपाली कांग्रेस एक्लै चुनाव लड्दा पनि सातवटै पालिका जित्न सक्ने सम्भावना बलियो रहेको उहाँ बताउनुहुन्छ । कांग्रेसमा जनमत बलियो बन्दै गएकाले पाँच पालिका भन्दा तल झर्ने पक्षमा नरहेको सभापति सिंहले बताउनुभयो ।

नेकपा आओवादी केन्द्रका नेता रामदीप आचार्यले गठबन्धन भए कांग्रेस–माओवादी दुवैलाई फाइदा हुने भएकाले मिलेर जाने बताउनुहुन्छ । भागवण्डा मिलाउन केन्द्र र प्रदेशबाट भए पनि मिलाउनुपर्ने पक्षमा उहाँ रहनुभएको छ । कांग्रसका नेता–कार्यकर्ताले भने भागवण्डा न्यायोचित नभए गठबन्धन नस्वीकार्ने चेनावनी दिँदै आएका छन् ।

वडादेखि गाउँ नगरका उम्मेदवारको नामावली चैत मसान्तभित्र पठाउन निर्देशन दिइसकेका छन् । वडादेखि पालिकासम्म आकांक्षी धेरै छन् । गठबन्धन सजिलै जित्न सक्ने भएपछि आफ्नो पक्षमा टिकट हत्याउन जिल्ला, प्रदेश तहका नेताहरुको घरदैलोमा पुग्न थालेका छन् । गठबन्धनको भागवण्डा मिलाउन माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र कांग्रेस नेता राजीवविक्रम शाह लागिपरेका छन् ।

दुई केन्द्रीय नेताले आन्तरिक तथा बाह्य छलफललाई तीव्रता दिएका छन् ।एमालेले भेरी र बारेकोटबाहेक पाँचवटा पालिकामा उम्मेदवारको टुंगो लगाएको छैन भने गठबन्धन दलले कुनै पनि पालिकामा उमेदवार फाइनल गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्