बढ्यो चुनावी सरगर्मी, प्रचार–प्रसारमा तीव्रता



बैतडी ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चहलपहल बैतडीमा बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचार–प्रसार तीव्र बनाएका हुन् ।

उम्मेदवारको टुंगो नलगाएका भए पनि राजनीतिक दलहरुले आफ्नो पक्षमा मत तान्न गाउँ–गाउँ पुगेका छन् । मतदाता रिजाउनका लागि दलका नेताहरु गाउँ–गाउँ पुग्ने होडबाजी नै चलेको छ । मुख्य प्रतिस्पर्धीका रूपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाले पनि स्थानीय तहहरुमा चुनावी अभियान शुरु गरेको छ ।

केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्लाएक्लै चुनावी प्रचार–प्रसार गरिरहेका छन् । तालमेल गर्ने विषयमा टुंगो नलाग्दा उनीहरू एक्लाएक्लै प्रचारमा जुटेका हुन् ।नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रमअनुसार ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरिरहेको छ । पालिकास्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन गरिएको छ ।

कांग्रेस सभापति चतुरबहादुर चन्दका अनुसार निर्वाचन केन्द्रित भएर गाउँ–गाउँमा चुनावी अभियान सञ्चालन भइरहेको छ । ‘स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिएको छ । देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको शृंखला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो ।’ –उहाँले भन्नुभयो ।संगठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गरिएको र नेपाली कांग्रेस सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पु-याउनका लागि अभियान सञ्चालन भएको चन्दको भनाइ छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नो पार्टीले बहुमत ल्याउने उहाँको दाबी छ । ‘हामीले अहिले पनि हरेक वडामा अभियान सञ्चालन गरिरहेका छौं । अभियानका दौरानमा पनि कांग्रेसप्रति लोभलाग्दो आकर्षण छ । त्यस कारण हामी बहुमत सिटमा जित हासिल गर्छौं ।’ –सभापति चन्द भन्नुहुन्छ ।

नेकपा एमालेले पनि निर्वाचन केन्द्रित भएर प्रचार–प्रसारमा जुटिसकेको जनाएको छ । गाउँ–गाउँमा संगठन विस्तार गर्नुका साथै चुनावी अभियानलाई तीव्रता दिएको एमाले बैतडीका सचिव चक्र कार्कीले बताउनुभयो । ‘एमाले स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ ।’ – उहाँले भन्नुभयो ।यस्तै, माओवादी केन्द्रले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ । माओवादीका जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले देश अहिले माओवादीको एजेन्डामा चलिरहेको बताउँदै नेतृत्वको भूमिकामा पनि माओवादीलाई ल्याउनुपर्ने बताउनुभयो । ‘हामीले बोकेको एजेन्डामा देश चलिरहेको छ तर हाम्रो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन सकेको छैन् । त्यसैले हामीलाई नेतृत्व दिन सकेका छैनौं ।’ उहाँले भन्नुभयो ।

आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै स्थानीय तहमा माओवादीको कुनै न कुनै रूपमा प्रतिनिधित्व हुने गरेर अघि बढिरहेको इन्चार्ज कुँवरले बताउनुभयो ।एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पनि चुनावी अभियानमा व्यस्त रहेको छ । समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले संगठन विस्तारका साथै चुनावी अभियानलाई तीव्रता दिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘हाम्रो पार्टीप्रति नागरिकको आकर्षण रहेको छ, हामी निर्णायक शक्तिका रूपमा देखिन्छौं ।’

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घरदैलो अभियान शुरु गरिसकेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो । गएको स्थानीय तहको निर्वाचनभन्दा यो निर्वाचनमा बढी सफलता मिल्ने उहाँको दाबी रहेको छ । ‘जनजागरण कार्यक्रम र घर फर्क अभियानलाई पनि सँगसँगै लगेर चुनावी प्रचार–प्रसारमा जुटेका छौं ।’ –भट्टले भन्नुभयो ।गएको स्थानीय तहको निर्वाचनमा बैतडीमा रहेका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहमा बाजी मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्