समुदायमा धमाधम स्वास्थ्य शिविर, नागरिक लाभान्वित

कम्युनिटी वेलनेस् सेन्टर तथा बनेपा डाइग्नोस्टिक ल्याबको निःशुल्क सेवा



काभ्रे ।

बनेपामा रहेको कम्युनिटी वेलनेस् सेन्टर र बनेपा डाइग्नोस्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टर बनेपाले विभिन्न संस्थाहरुसँगको समन्वयमा विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकतामा राखी नागरिकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

पनौतीमा पनौती पर्यटन विकास केन्द्र, पनौती सोसाइटी ग्रुपको संयोजनमा कम्युनिटी वेलनेस् सेन्टर र बनेपा डाइग्नोस्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा चैत्र २८ देखि वैशाख १ गतेसम्म तीन दिने प्राथमिक स्वास्थ्य शिविर आयोजना गरिएको थियो । पहिलो दिन १ सय ७० जनाले सेवा लिएका थिए भने दोस्रो दिन ६७ जना गरी २ सय ३७ जनाले सेवा लिएका थिए । तेस्रो दिन पनि एक सय भन्दा धेरैले सेवा लिएको प्रबन्ध निर्देशक दिपेश ताम्राकारले जानकारी दिनु भयो । निःशुल्क सुगर परीक्षण, प्रेसर तथा अन्य स्वास्थ्यका बारेमा प्राथमिक स्वास्थ्य सेवामा जानकारी गराइएको थियो ।

वैशाख ३ गते शनिवार काभ्रे नित्य चण्डेश्वरमा बिहान ९ बजे देखि साधारण दाँत परीक्षण देखि दाँतमा देखिएका अन्य समस्याहरूको बारेमा शिविरको आयोजना गरिएको छ । निःशुल्क फिजियोथेरापी सेवा, ल्याब तथा आँखा जाँचका साथै रक्तचाप परीक्षण, मुटुको धड्कन, श्वासप्रश्वास परीक्षण गरिने छ । नेपाल रेडक्रस सोसाइटी धुलिखेल ९ शाखा, काभ्रे भन्ज्याङ युवा क्लब लगायतका विभिन्न संघ संस्थाहरूले उक्त शिविरको आयोजना र व्यवस्थापन गरेका छन् । कम्युनिटी वेलनेस् सेन्टर र बनेपा डाइग्नोस्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग रहने प्रबन्ध निर्देशक दिपेश ताम्राकारले बताउनु भयो ।

२०७८ चैत्र २० गते विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थासँगको आयोजनामा सुप्रिम डेन्टल केयर प्राली, रुबी आई केयर एण्ड अप्टिकल सेन्टरको प्राविधिक सहयोगमा ६५ औ सहकारी दिवसको अवसर पारी निःशुल्क शिविर आयोजना गरेको थियो । सोहि शिविरमा २ सय ३ जनाले सेवा लिनु भएको थियो । जसमा ८४ जना पुरुष र १ सय १९ जना महिला थिए । ग्रेस ल्याण्ड विद्यालय साँगाका कक्षा ९ र १० मा अध्ययनरत ६६ विद्यार्थीहरूले पनि सेवा लिएका थिए ।

बनेपा डाइग्नोस्टिक ल्याबका प्रबन्ध निर्देशक दिपेश ताम्राकारका अनुसार घुँडा, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भएका, ग्यास्ट्रिक, पिसाब सम्बन्धी समस्या भएका व्यक्तिहरूले सेवा लिएका थिए । १ सय १७ जनाले सुगर परीक्षण गराएका थिए भने पाँच जनाको बिग्रेको दाँत निकालिएको थियो । आँखा परीक्षणको क्रममा सामान्य अवस्थामा पनि आँखा चिलाउने र सुख्खा हुने समस्याहरू देखिएको थियो । जिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवेन्द्र गौतमले शिविरमा सहभागी भएका औषधी आवश्यक हुने बिरामीहरूलाई निःशुल्क औषधी उपलब्ध गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्