संकटमा आरन व्यवसाय



लमजुङ ।

गाउँ घरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । धेरै मेहनतमा कम आम्दानी हुन थालेपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुस्तौँदेखि चल्दै आएको व्यवसाय बजारमै तयारी भएका साधन आएपछि ओझेलमा पर्दै गएको हो ।

गाउँ घरमा चलाउँदै आएका हँसिया, बन्चरो जस्ता हतियार बिस्तारै लोप हुँदै गएको मर्स्याङ्दी गाउँपालिका-५ छिचुका ६१ वर्षीय सन्ते कामी बताउँछन् ।

‘पहिला–पहिला बजारमा पनि त्यस्ता साधनहरू पाइदैन्थ्यो केही खर्च दिएर हसिया बन्चरो जस्ता घरायसी चाहिने हतियारहरू बनाउन स्थानीयको चाप हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन बनाउन आउँछन् । बजारमा उत्पादित समानले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’

समय परिवर्तनसँगै बिस्तारै गाउँघरमा परम्परागत रूपमा चलिआएका पेसा पनि लोप हुने स्थितिमा रहेको मर्स्याङ्दी गाउँपालिका-५ छिचुका ७८ वर्षीय हर्कबहादुर विक बताउँछन् । यस्ता पुराना पेसाहरूलाई संरक्षण गरेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने मर्स्याङ्दी गाउँपालिका ५ का वडाध्यक्ष लेखमान गुरुङ बताउँछन् । गाउँ घरमा भएका साधन, स्रोत र सिपलाई प्रयोगमा ल्याउँदा दिगो र टिकाउ हुने गुरुङको भनाई छ ।

पुर्ख्यौंली सिप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केही नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको मर्स्याङ्दी गाउँपालिका ५ निउरीका मनबहादुर कामीको भनाई छ । ‘मैले बुबासँग हँसिया, बन्चरो बनाउने सिप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सिप काम लागेको छ’ उनले भने, ‘त्यसैले पुर्ख्यौली पेसा र सिपलाई बचाइ आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटीको रूपमा लिँदै आएको छु ।’

पहिले पहिले यसै पेसाले घरपरिवारको एक गाँस खुवाउन केही सहयोग पुगेको थियो भने जनसंख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा गाउँघरका अन्य समुदायको हसिया, बन्चरो बनाउँदा वर्षेनी एक घरले एक दुई पाथी मकै वा गहुँ दिने गरेकाले यस व्यवसायबाट घरपरिवार पाल्न समस्या भएको सोमबहादुर कामीले बताए ।

एउटा आसीको पचास रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँदै कामीले एउटा आँसी बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यस्ता पेस छोड्दै कामका लागि खाडी मुलुक जानु पर्ने अवस्था आउँदा पेसा नै पलायन हुन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्