समाचारपत्रकर्मी महर्जनलाई जनसेवाश्री पदवी प्रदान



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई जनसेवाश्री पदवी पञ्चमबाट विभूषित गर्नुभएको छ । विहीबार शीतल निवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले महर्जनलाई सो पदवी प्रदान गर्नुभएको हो ।

गृह मन्त्रालयले राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण, अलङकार र पदक पाउने नामावली संविधान दिवसको अवसरमा गत असोज ३ गते आइतबार सार्वजनिक गरेको थियो । २०५९ सालमा महानगर दैनिकमा प्रशिक्षार्थी पत्रकार हुँदै महर्जनले २०६० साल श्रावणदेखि नेपाल समाचारपत्र दैनिक मार्फत पत्रकारिता शुरु गर्नुभएको थियो ।

महर्जनले पत्रकारिता मार्फत बुद्धधर्मको विकास, मूर्त र अमृत संस्कृति, सम्पदाको संरक्षण र ललितपुरका बृहत सरोकारको विषयमा योगदान पुर्याउँदै आउनुभएको छ । हाल नेपाल समाचारपत्र दैनिकमा सहायक सम्पादकसमेत रहनुभएका महर्जनले निजामती प्रशासन, संघीयता, स्थानीय तह विषयमा निरन्तर रिपोटिङ गर्दै आउनुभएको छ ।

यसका अतिरिक्त महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय महासचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्यको रुपमा समावेशी पत्रकारिता र मातृभाषाको पत्रकारिता विकासमा क्रियाशील हुनुहुनुहुन्छ ।

बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्षसमेत रहनुभएका महर्जन मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको महासचिव, बुद्ध विहार पुनःनिर्माण समितिको सहसचिव समेत रहनुभएको छ । राष्ट्रिय युवा महासंघ नेपाल, ललितपुर मार्फत युवा परिचालन र नागरिक मैत्री प्रहरी प्रशासन निर्माणको अभियानमा पनि महर्जन सक्रिय रहँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्