वीरगन्ज महानगरपालिकामा ‘महाभिडन्त’को तयारी



वीरगन्ज ।

वीरगन्ज मधेस प्रदेशको एक मात्र महानगरपालिका हो । आर्थिक रूपमा सबल रहेको भनिएको वीरगन्ज महानगरपालिकामा राजनीतिक सरगर्मी पनि बेला बेलामा बढ्ने गर्दछ । जब चुनाव आउँछ तब यहाँको राजनीतिक माहौल तातिने गर्दछ । त्यसो त मधेस आन्दोलनको समयमा वीरगन्जले आन्दोलनको नेतृत्व नै लिएको थियो भन्दा पनि फरक पर्दैन । जसका कारण पनि वीरगन्ज महानगरपालिकामा त्यत्ति बेलाको संघीय समाजवादी  फोरमले सत्ता कब्जा गर्न सफल भयो ।

त्यो पार्टीबाट वीरगन्जमा मेयर विजय सरावगी  उठ्नुभयो र  काँग्रेसलाई पराजित गर्दै उहाँ वीरगन्जको मेयरको विरासतमा पुग्नुभयो । उहाँले हाँकेको सत्ता पनि अब अन्त्यतिर पुग्दै छ । तर विजय सरावगी फेरि मेयर पदकै उम्मेदवार बन्ने निश्चित छ तर यसपालिको चुनावमा भने फरक पार्टीबाट उहाँले नगर प्रमुखमा उम्मेदवारी दिँदै हुनुहुन्छ । हालै नेकपा एमालेमा प्रवेश गरेका सरावगीलाई एमालेले वीरगन्जको मेयरमा उठाउने निर्णय गरेको छ । सरावगीको पाँच वर्षे कार्यकाल र उहाँ उद्योगी घरानाका व्यक्ति भएकाले चुनावमा उहाँको मत रहेको एक थरीको भनाइ छ यद्यपि अघिल्लो स्थानीय चुनावमा एमालेको मत भने थोरै थियो र एमालेमा उम्मेदवार बसरुद्धिन अंसारी पाँचौँ नम्बरमा हुनुहुन्थ्यो ।

कति सम्भव गठबन्धन :
साङ्गठनिक हिसाबले बलियो भनिएको नेपाली काँग्रेसले पर्सा र वीरगन्ज महानगरपालिकामा गठबन्धन नगर्ने बताएको छ । पत्रकार सम्मेलनको आयोजना गरेर नै महानगरपालिकामा आफूहरू बलियो रहेकाले गठबन्धन अस्वीकार गरेको बताएका छ । काँग्रेसका पर्साका नेता समेत रहेका रमेश रिजालले वीरगन्जमा गठबन्धन नहुने बताउनुभयो । उहाँ सभापति शेर बहादुर देउवा निकटकै मानिनु पनि हुन्छ ।

काँग्रेसले गठबन्धन नगर्ने बताए पनि उसले उम्मेदवारको टुङ्गो लगाएको छैन तर अघिल्लो चुनावमा उठेका अजय द्धिवेदी लगायत काँग्रेसका केही पुराना नेताहरूको नाम सिफारिस गर्ने सम्भावना रहेको छ । तर वीरगन्जको काँग्रेसीमा अन्तर घातको समस्या रहेकाले गठबन्धनबिना जीतको सम्भावना धेरै कम रहेको काँग्रेसका नेताहरूले नै बताएका छन् ।काँग्रेस अघिल्लो चुनावको प्रतिस्पर्धी हो । जसपाबाट अघिल्लो चुनावमा तत्कालिन राजपाका उम्मेदवार राजेशमान सिंह यस पटक उठ्दै हुनुहुन्छ ।

केही महिना अगाडि एमालेमा र लगत्तै जसपामा प्रवेश गरेका सिंहलाई जसपाले वीरगन्जको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उहाँ अघिल्लो चुनावमा तेस्रो बन्न सफल हुनु भएको थियो भने माओवादी केन्द्र र नेकपा समाजवादीको सङ्गठनको अवस्था वीरगन्जमा कमजोर छ । यी दुईका बीचमा समेत गठबन्धन स्थानीय स्तरमा सम्भावना कम छ । यद्यपि माओवादीमा आन्तरिक विवाद भएकाले उम्मेदवारको टुङ्गो छैन भने नेकपा यसमा समस्या नरहेको नेताहरू बताउँछन् ।

माओवादीको तर्फबाट महानगरमा उठेका रहबर अंसारी चौथो हुनु भएको थियो तर पार्टीको टिकटै विषयमा विवाद भएपछि माओवादी केन्द्र पर्साले रहबरलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ । यसरी हेर्दा ३० गते हुने चुनावमा वीरगन्ज महानगरमा काँग्रेस ,एमाले र जसपा बीचमा भने बढी प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्