आचार संहिता विपरीत एसपी अधिकारीको काज सरुवा

कांग्रेस नेतृ आरजु देउवाको दबाबमा गैर कानुनी सरुवा गरेको आरोप



धनगढी ।

निर्वाचन आयोगले जारी गरेको आचार संहिता विपरीत कैलालीका एसपी विश्व अधिकारीको काज सरुवा गरिएको छ । चैत २५ गतेदेखि लागू हुने गरेर आयोगले आचार संहिता जारी गरे पनि कैलालीका एसपी अधिकारीको चैत ३० गते काठमाडौं सिआईबिमा सरुवा गरिएको छ ।

आचारसंहिता घोषणा गरेपछि सरुवा बढुवा लगायत कुनै पनि निर्वाचन प्रभावित हुने कार्य गर्न नहुने ब्यवस्था भएपनि एसपी अधिकारीको अकस्मात् गरेको सरुवाप्रति जिल्लावासीहरू अचम्ममा परेका छन् । यसरी अकस्मात् सरुवा गर्नुपर्ने कारण बारे विभिन्न प्रश्नहरू उठेका छन् । निर्वाचनमा सत्ता गठबन्धनलाई असहयोग हुनसक्ने भन्दै सत्ता गठबन्धनका स्थानीय नेताहरूको रिर्पोटिंगका आधारमा नेपाली कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवाले निर्वाचन आचार संहिता विपरीत एसपी अधिकारीको सरुवा गरेको बताइएको छ ।

निर्वाचन आयोगले एसपी अधिकारीको काज सरुवा कालागि अनुमति नदिएपछि नेतृ देउवाको दबाबमा नेपाल प्रहरीले बाध्य भएर काठमाडौं काजमा खटाएको छ । नेपाल प्रहरी भित्र अब्बल मानिएका एसपी अधिकारी आफ्नो गृह जिल्ला समेत रहेको कैलालीमा गत असार ११ गते आउनुभएको थियो । एसपी अधिकारी कैलालीमा आएपछि स्थानीय बासिन्दाहरू समेत खुसी भएका थिए । नेपाल प्रहरीका अब्बल मानिएका व्यक्तिले कैलाली प्रहरीको कमान्ड समालेपछि यस क्षेत्रमा हुने आपराधिक घटनामा कमी आउने विश्वास गरेका थिए ।

स्थानीयको अपेक्षा अनुसार एसपी अधिकारीले जिल्लामा हुने आपराधिक घटनाप्रति  शून्यसहनशिलता अपनाउँदै सकारात्मक परिणाम देखिन थालेका थिए तर विचमै एक्कासि सरुवा गरेपछि उहाँले चालेका कदमहरू अपुरो हुने भन्दै जिल्ला वासी दुःखी भएका छन् । लागूऔषतका कारण अस्तव्यस्त बन्दै गएको कैलाली जिल्लालाई लयमा ल्याउँदै गरेका एसपी अधिकारीको सरुवाले उक्त कार्य अपुरो हुने देखिएको छ । पछिल्लो समयमा कैलालीमा लागू औषध तथा दुब्र्यसनीका घटनाहरू तीव्र रूपमा बढ्दै गएका थिए ।

लागु औषध नियन्त्रणमा अब्बल मानिएका एसपी अधिकारीले यसको जड पत्ता लगाउँदै थिए । उनको नौ महिने कार्यकालमा गत वर्षको तुलनामा बढी मुद्दा दर्ता भएको र नियन्त्रणको काम समेत तीव्र पारिएको थियो । समय नपुग्दै गरिएको सरुवाले उनको कार्य क्षमतामाथि प्रश्न उठेको जस्तो देखाएर उनको नेपाल प्रहरीमा अघि बढ्ने बाटो अवरुद्ध गर्न खोजेको कैलालीका बासिन्दाहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्