रुपदेहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु

घरपरिवारले मिलेर हत्या गरेको माईती पक्षको  दाबी



बुटवल । 

रुपन्देहीको तिलोत्तमा–२ भेटनरी लाइनमा एन महिलाको शंकास्पद मृत्यु भएको छ। तिलोत्तमा–२ जानकी नगरकी २९ वर्षीय अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो । बुधवार जानकी नगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

परिवारका सदस्यले अमृतालाई हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु-याएको माइती पक्षको दाबी छ । अस्पताल पु-याउंदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको मृतककी आमा सावित्रा खत्रीको दाबी छ ।

‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई,ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊन भए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो’– सावित्रीले भन्नु भयो–‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाई लाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासू, ससुरा,श्रीमान्ले धेरै पहिलादेखि नै गाली गलौज र यातना दिंदै आएको सावित्रीले बताउनु भयो । अमृताको सात वर्ष अघि प्रेम विवाह भएको थियो ।

पटक पटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकको ५ वर्षीय छोरा छन् ।विष सेवन गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर त्यसो नभई योजनावद्धरुपमा  हत्या गरेर विष सेवनको बहाना बनाएर अस्पताल पु-याइएको छिमेकी कमला पोखरेलले बताउनु भयो ।

घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका छन् ।  मृतकका श्रीमान, सासू र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्