मानव अंगसहित एमबीबीएस पढ्ने विद्यार्थी पक्राउ



काठमाडौँ ।

सशस्त्रको टोलीले विराटनगरको रानीस्थित मुख्य भन्सार नाकाबाट मानव अंगसहित पक्राउ गरेको एमबीबीएस पढ्दै गरेका एक भारतीय नागरिकलाई तत्काल रिहा गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ ।

वीपी प्रतिष्ठानले मंगलबार पक्राउ परेका आदित्य सिन्हा आफ्नो विद्यार्थी भएको उल्लेख गर्दै उनलाई रिहा गरी घर जान अनुमति दिन सशस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई आग्रह गरेको हो । प्रतिष्ठानले सशस्त्रलाई लेखेको पत्रमा सिन्हासँग भेटिएको भनिएको मानवअंग अध्ययनका क्रममा आवश्यक पर्ने सामग्री भएको उल्लेख गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले सशस्त्रलाई लेखेको पत्रमा भनिएको छ–‘भारतको विहारका विद्यार्थी सिन्हा विशेष कारणवस घर जाने क्रममा आफ्नो अध्ययनलाई आवश्यक पर्ने सामग्रीहरूसहित लिएर जाँदै गरेको अवस्थामा रानी बोर्डर एरियामा चेक जाँचको क्रममा हिरासतमा रहेको जानकारी प्राप्त भएको हुँदा निज यस प्रतिष्ठानको विद्यार्थी भएको र चिकित्साशास्त्र अध्ययनमा पुराना बोन सेट पनि आवश्यकता पर्ने हुँदा निजलाई आवश्यक सहयोग गरी घर जान अनुमति दिनुहुन अनुरोध छ ।’

यसअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले सिन्हाबाट १ थान मानव खप्पर, खुट्टाको हड्डी ३ थान, हातको हड्डी ६ वटा, करङ ७, बंगाराको हड्डी १, काँधको हड्डी २, घाँटीको हड्डी १, हिपको हड्डी १, ढाडको हड्डी ८, औलाको हड्डी ८ र कुरकुच्चाको हड्डी ८ वटा बरामद गरिएको बताएको थियो । रिक्सामा गएका सिन्हाले कार्टुनभित्र उक्त हड्डी राखेर ल्याएको अवस्थामा फेला पारेको सशस्त्रले बताएको थियो ।

बीओपी रानीबाट असई प्रभातकुमार गौतमको कमान्डमा खटिएको टोलीले उनलाई मंगलबार रिक्सामा गइरहेको अवस्थामा शंका लागि पक्राउ गरेको थियो । उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कुनै पत्र या हड्डी अध्ययनका लागि भारत लैजाने स्वीकृति भने लिएका थिएनन् ।
प्रहरीले उनको साथबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र बरामद गरेकै आधारमा कलेजसँग सोधपुछ गर्दा कलेजले रिहाका लागि अनुरोध पत्र लेखेको बुझिएको छ ।

बन्यजन्तुको हड्डी ओसार पसार गर्न समेत नमिल्ने कानुनी व्यवस्था हुँदा हुँदै मानव शरीरको टाउको, खुट्टा, हात, करङ, दाँत, कुर्कुच्चाको लगाएतका शरीरको हड्डी बाक्सामा प्याक गरी खुलेआम सिमा पार गर्दै गरेको व्यक्तिलाई विद्यार्थी भएका कारण कानुनी कारबाही नगर्न र घर जान दिन कलेजले गरेको पत्राचार कानुन सम्मत नभएको कानुन व्यवसायी दिपेन्द्र थापा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– ‘विद्यार्थीले एक देशबाट अर्को देश त्यो पनि घरमा हड्डी लगेर पढ्ने भन्ने विषय कतै उल्लेख छैन । यो विषयमा थप अनुसन्धान गरी हड्डी कुन उदेश्यले कहाँ र किन लान लागिएको हो । त्यो हड्डी कलेजबाटै स्वीकृति लिएर रेकर्ड दाखिला गरी लगएको भए प्रमाण पुग्नुपर्ने र कलेजले ल्याबमा सिकाउनुपर्ने विद्यार्थीलाई कुन आधारमा घरमा लान दिँदैछ यो आफैंमा विवादास्पद विषय हो । आधिकारिक प्रमाणका आधारमा राज्यको स्वीकृति लिएको हुनुपर्छ ।

एउटा मुलुकबाट अर्को मुलुकमा मानव हड्डी ओसार पसार गर्ने जस्तो कार्य दुवै देशका लागि आधिकारिक, विश्वसनीय प्रमाण हुनुपर्छ । यस्तो अवस्थामा कुनै व्यक्ति हराएको छ र डीएनए परीक्षण गर्नेसम्मको अवस्थामा पुग्छ । यो कलेजले एउटा पत्र लेखेकै भरमा सुरक्षा निकायले अनुसन्धान रोक्न मिल्दैन र अनुसन्धान पुरा नभै छोड्न पनि मिल्दैन । यस विषयमा अनुसन्धान गर्दा कलेजमा कहिले, कसरी प्राप्त भयो भन्नेसम्मको अनुसन्धान हुन्छ ।मंगलबार थप अनुसन्धान तथा कारबाहीका लागि सिन्हालाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको गणपति लामिछानेले बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्