घरेलु तथा साना उद्योग मुलुकको मूल अर्थको आधार हुन् : मन्त्री वडु



काठमाडौं  ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको मूल अर्थको आधार र आर्थिक समृद्घिको मुख्य आधार भएको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा अन्तरक्रियामा मन्त्री बडुले यस्तो बताउनुभएको हो ।
यस्ता उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्रका रूपमा रहेको भन्दै उहाँले भन्नुभयो – सरकारको साथै व्यक्तिगत रूपमा पनि यस्ता उद्योगहरू मेरो पनि प्राथमिकतामा छन् । यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के के छन्, समाधानका लागि के गर्नुपर्छ आउनुहोस् हामी छलफल गर्न तयार छौं ।

‘मुलुक संघीयतामा गएपछि यो क्षेत्रको प्रवद्र्घनमा केही समस्या आएको हो कि भन्ने हामीलाई लागेको छ । ड्राफ्टमा रहेको ऐनमा सम्बोधन गरेर हुन्छ कि के गरेर हुन्छ समस्याको पहिचान गरेर अगाडि बढ्नुपर्छ’ – उहाँले भन्नुभयो ।उद्यमीले उत्पादन गरेका वस्तुहरूको बजारमा कसरी पहुँच पु-याउने, नयाँ प्रविधिमार्फत बजार कसरी व्यवस्थापन गर्ने अहिलेको महत्वपूर्ण विषय भएको भन्दै उहाँले भन्नुभयो – ‘स्थानीय तहमा प्राथमिकतामा नपरेको सत्य हो, त्यसलाई सुधार गर्न जरुरी छ । यो क्षेत्रलाई कसरी राष्ट्रिय अर्थतन्त्रको मूल आधार बनाउन सकिन्छ । उद्यमीहरू कहाँ अल्मलियौं भन्ने अवस्थामा छन् ।’

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तु उत्पादन गर्ने उद्योगहरूले विदेशबाट आयात हुने वस्तुहरूसँग प्रतिष्पर्धा गर्न नसकी उद्योगहरू धराशयी हुँदै गइरहेकाले स्वदेशी वस्तुको प्रवद्र्धन र स्वदेशी उद्योगको विकासका लागि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयनको व्यवस्था गरिनुपर्ने बताउनुभयो । नेपालमै उपलब्ध हुने कृषिलगायत अन्य औद्योगिक वस्तुको उपयोगलाई प्राथमिकता दिन विदेशबाट आयातमा रोक लगाउनुपर्नेमा उहाँको जोड थियो ।

स्वदेशी वस्तुको प्रवद्र्धन र स्वदेशी उद्योगहरूको विकासका लागि केन्द्र र सातै प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाका लागि राज्यको तर्फबाट संरचना र स्थान उपलब्ध गराउनुपर्ने भन्दै उहाँले भन्नुभयो – सो निर्यात गृहमा सम्बन्धित प्रदेश भरिका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्वदेशी वस्तु मात्र राख्ने व्यवस्था गरिनु पर्दछ भने केन्द्रमा देशभरका लघु, घरेलु तथा साना उद्यमीहरूबाट उत्पादित स्वदेशी उत्पादन मात्र राख्ने व्यवस्था गरिनु पर्दछ ।

नेपाल सरकारले महिला उद्यमी, कृषि उद्योगलगायतका उद्यमीहरूलाई दिँदै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई यथावत राख्दै कोभिडबाट पीडित उद्योगहरूलाई पुनःसञ्चालनका लागि ५ प्रतिशत व्याजदरमा दिने पुनर्कर्जालाई हालै २ प्रतिशत वृद्धि गरेकोमा यसलाई खारेज गर्दै ५ प्रतिशत नै कायम गर्न अनुरोध गर्दछौं । साथै साना उद्यमीहरूलाई बैंकहरूले कर्जा प्रवाहमा गर्ने भेदभावपूर्ण व्यवहारको अन्त्य गर्दै यस्ता उद्यमीहरूलाई सहज तरिकाले कर्जा उपलब्ध गराउन सहजिकरणका लागि अनुरोध गर्दछौं ।

महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले संविधान जारी हुनुभन्दा अगाडि जति सरकार र उद्योगीको निकटता अहिले टाढिएको स्थिति रहेको बताउनुभयो । संविधान जारी भएपछि झन् नजिक होलान्, राम्रो होला भनेको टाढिएको अवस्था आउनुमा तीनवटा कारण रहेको भन्दै भन्नुभयो – ‘पालिकाहरूले उद्योग प्रवद्र्घनमा कस्तो खालको कार्यक्रम ल्याउने भन्ने जानकारी नभएका कारण यहाँ छताछुल्ल ढंगले उद्योग प्रवद्र्घनका कार्यक्रम बने र ती कार्यक्रम बजेट सक्नेतर्फमात्रै केन्द्रित भए ।

प्रदेश सरकारसँग घरेलु तथा साना उद्योग कार्यालयहरू गएकोतर्फ ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो – ‘प्रदेश सरकारसँग घरेलु तथा साना उद्योग कार्यालयहरू जाँदा कर्मचारीमात्रै गए । उद्योगी समक्ष गएनन् । हिजो घरेलु कार्यालय केन्द्रीय सरकारसँग जति निकटता थियो । आज त्यो छैन । जति त्यहाँ बन्ने कमिटी र संयन्त्रमा कर्मचारीहरू मत्रै बस्ने कारणले गर्दा उद्योगीहरू झन् टाढै हुँदै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्