तीन नयाँ दमकल आउँदै, ‘दाने’ थोत्रा दमकल हट्दै



काठमाडौं  । 

विदेशबाट ‘दान’मा पाएका थोत्रा दमकल हट्ने भएका छन् । पहिलोपटक आफैंले खरिद गरी तीनवटा दमकल ल्याउन लागेको काठमाडौं महानगरपालिकाले ती दमकल आएपछि दानमा पाएका दमकल बिस्तारै हटाउँदै लैजाने बताएको छ ।

विभिन्न संघसंस्थाले एक दशकभन्दा पुराना दमकल ल्याएर हैरान भएपछि कामपा आफैंले दमकल खरिद गरेको हो । करिब ६ महिनाअघि टेन्डर गरी खरिद गरिएका ३ वटा अत्याधुनिक दमकल एक महिनापछि नेपाल आउँदै छन् । कामपाले बालाजु औद्योगिक क्षेत्रभित्र निर्माण गर्न लागेको नयाँ स्टेसनमा नयाँ दमकल राख्ने तयारी गरेको छ ।

अब पुरानो दमकललाई विस्थापित गर्न कामपा आफैंले नयाँ दमकल खरिद गर्ने योजना बनाएको जानकारी दिँदै कामपा विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले बुधबार नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘२ हजार लिटर क्षमता भएका ती दमकल इन्डोनेसियाबाट ल्याउन लागिएको हो । तीनवटा दमकलको मूल्य करिब ७ करोड रुपियाँ रहेको छ ।’ कामपाका कर्मचारीका अनुसार कामपाले आगामी वर्षमा पुनः नयाँ दमकल खरिद गर्ने योजना छ ।

उपत्यकामा अग्ला अग्ला भवन निर्माण हुन थालेपछि अत्याधुनिक दमकल खरिद गर्न लागिएको जानकारी दिँदै श्रेष्ठ भन्नुभयो– ‘नेपाल भित्रिने तयारीमा रहेका ५ सय लिटर फोम भएको तीनवटा दमकलले १० तले अग्लो घरमा भएको आगलागी नियन्त्रण गर्न सक्छ ।’खरिद गरिएका दमकल स्पेसिफिकेसनअनुसार भए नभएको अवलोकन गर्न कामपाको इन्जिनियरको टोली इन्डोनेसियाको जाकार्ता पुगेको छ । उक्त टोली आएपछि उच्च स्तरीय टोली इन्डोनेसिया पुग्ने बताइएको छ । उच्चस्तरीय टोलीको भ्रमणपछि सबै प्रक्रिया पूरा गरेर तीनैवटा दमकल नेपाल आउनेछन् ।

कामपामा दान वापत प्राप्त भएका आधा दर्जन दमकल सामान नपाएर थन्किएका छन् । विदेशमा ५ वर्ष चलेपछि पुनः सञ्चालन गर्न नमिल्ने हुन्छ । त्यही थोत्रा दमकल केही नेपालीकै सहयोगमा नेपाल भित्रिने गरेका छन् ।राजधानी मात्रै होइन उपत्यका र वरपरका जिल्लामा आगलागी हुँदा थोत्रा दमकलकै भर पर्नुपरेको छ । सुविधा सम्पन्न वारुणयन्त्र कार्यालयमा रहेका अधिकांश दमकल खराब अवस्थामा रहेका छन् । कामपासँग भएका ९ वटा दमकलमध्ये ५ वटा चल्नै नसक्ने गरी थन्किएको छ । बाँकी ४ वटामा वटा न्युरोड र एउटा रामहिटीस्थित स्टेसनमा तैनाथ गरिएको छ ।

गृह मन्त्रालयको मातहतमा रहेको जुद्ध वारुण यन्त्र कार्यालय विसं २०६५ कातिक ९ मा कामपाको मातहतमा आएको थियो । वारुणयन्त्र कार्यालयमा त्यस बेला गृहले खरिद गरेको दुईवटा दमकल थियो । त्यसयता अहिलेसम्म प्राप्त भएका सबै दमकल पुराना हुन् । विसं. १०९२ मा बोकेर ल्याएको मोरिस र १९९४ मा नेपाल भित्र्याइएको डेनिस र विसं २००१ मा नेपाल भित्रिएको लहरी दमकल वारुण यन्त्र कार्यालयकै संग्रहालयमा राखिएको छ ।

विसं २०४४ मा जापानको सहयोगमा भित्रिएको मोरिता, विसं २०६९ मा बेलायतबाट ल्याइएको भोल्बो दमकल बिग्रिएर थन्किएको छ । सोही वर्ष इटालीबाट ल्याइएको मर्सिडिज, २०७३ मा भारत सरकारबाट सहयोग प्राप्त आइचर, कीर्तिपुर नगरपालिकाबाट प्राप्त आशोक लेल्यान्ड दमकल गरी चार दमकल चालु अवस्थामा छन् । तर, ती पनि बिग्रने अवस्थामा रहेका छन् । बिग्रिएका दमकल मेकानिकल शाखामा राखिएको छ ।वारुण यन्त्र कार्यालयमा रहेका पुराना दमकलको सामान नभएको र मर्मत गर्ने स्थान अभावका कारण अधिकांश सवारीसाधन बिग्रिएर थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्