माओवादीले पठायो विशेष सर्कुलर

गठबनन्धनको सहमति कार्यान्वयन गर्न प्रचण्डको निर्देशन



काठमाडौं ।  

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्न पार्टी मातहतका कमिटीलाई विशेष सर्कुलर पठाएको छ । सत्ता गठबन्धनबीच भएको निर्णय र सहमति कार्यान्वयन गराउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसहितको सर्कुलर जारी गर्नुभएको हो ।

सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो । उहाँका अनुसार मंगलबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर बुधबार पार्टी पंक्तिमा सर्कुलर पठाइएको हो ।

पाँच दलीय गठबन्धनका बीच सीट बाँडफाँटका लागि जिल्ला स्तरीय संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने कुरा उल्लेख गर्दै सर्कुलरमा भनिएको छ – ‘हाम्रो पार्टीबाट संयन्त्रमा पालिकास्तरमा सम्बन्धित पालिकाका इन्चार्ज र अध्यक्ष सहभागी हुने । जिल्ला स्तरीय संयन्त्रमा जिल्ला इन्चार्ज र संयोजक सहभागी हुने र प्रदेश स्तरीय संयन्त्रमा प्रदेश इन्चार्ज र अध्यक्ष सहभागी हुने । गठबन्धनको ७ बुँदे आधारहरू र सिट बाँडफाँटसम्बन्धी ६ बुँदे निर्देशन अनुसार गर्ने ।’

त्यसै गरी माओवादीले काठमाडौं, ललिपुर र पोखरा महानगरपालिकामा नगरप्रमुखमा दाबी नगर्ने भएको छ । गठबन्धनको बैठकमा पहिले जितेको स्थानमा सम्बन्धित पार्टीकै हुने भन्ने सर्कुलरमा उल्लेख छ । माओवादीले चितवन महानगरपालिकामा दाबी प्रस्तुत गर्दै आएको छ । शीर्ष नेताबीच भएको समझदारीअनुरूप भरतपुर माओवादीलाई नै दिने सहमति भएको बताइएको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेले देशको आवश्यकताअनुसार बनेको गठबन्धनले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गर्दै भन्नुभयो– ‘परिस्थितिले गठबन्धन निर्माण गरेको हो, स्थानीय तहमा विगत के भएको थियो भनेर अल्झिने भन्दा पनि भविष्यमा राम्रो गर्न सकिन्छ भनेर अघि बढनु पर्छ ।’

गठबन्धनमा भएको सहमति र तयार पारिएको साँत बुँदे आधारले सिट बाँडफाँटमा सहज भएको बताउँदै उहाँले स्थानीय तहको आवश्यकताअनुसार अघि बढ्ने बाटो पनि सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गत स्थानीय तहको निर्वाचनमा जितेको आधार छँदै छ, एमालेले जित हासिल गरेको स्थानीय तहमा मिलेर अघि बढदा गठबन्धनमा आबद्ध कुनै पनि दललाई घाटा छैन ।’

प्रतिक्रिया दिनुहोस्