पन्ध्र सञ्चार गृहको एक नेपाल



 काठमाडौं  । 

मिडिया एलायन्स नेपालमा आवद्ध १५ वटा मूलधारका सञ्चार गृहले विश्वसनीय र सत्य समाचार शीघ्रातिशीघ्र आम पाठकसमक्ष ल्याउने उद्देश्यले नयाँ वर्ष २०७९ सँगै एक नेपाल नामक एप प्रयोगमा ल्याएका छन् ।

पछिल्लो समय सम्पूर्ण नेपाली मिडिया क्षेत्रलाई नै असर पर्नेगरी असत्य, भ्रामक र अतिरञ्जित समाचार आउन थालेको महसुस गर्दै मिडिया एलायन्स नेपालले पाठकमा विश्वसनीय र भरपर्दो समाचार छिटोभन्दा छिटो पु¥याउन एक नेपाल एप परियोजना ल्याएको बताएको छ ।
मिडिया एलायन्सले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हामी पेसागत प्रवद्र्धनका लागि संगठित भएका हौं, तर हाम्रो अन्तिम लक्ष्य भनेको मिडियाका पाठकहरू नै हुन् । उनीहरूले सही समाचार पाएका छैनन् भने हामी संगठित हुनुको के अर्थ ?’

यस एपले पाठकप्रतिको आफ्नो सेवा भाव र इमानदारी सावित गर्ने दाबी गर्दै मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले यस एपमा शुरूमा मिडिया एलायन्सका सदस्य मात्र भए पनि पछि अरू मिडियालाई पनि समेट्ने बताउनुभयो ।मूलधारको मिडिया यसरी एउटा साझा मञ्चमा आएर सत्य समाचार मात्र दिने भनेर प्रतिवद्ध हुनु ठूलो कुरा भएको जिकिर गर्दै एक नेपालका अध्यक्ष दिरेकलाल श्रेष्ठले भन्नुभयो– ‘सत्य र सकारात्मक समाचारले समाजमा राम्रो प्रभाव पार्छ । मूलधारको मिडियाका लागि यो अति आवश्यक समयसान्दर्भिक परियोजना हो । यसमा चुनौती पनि धेरै छन् । सुरुआत भयो, यो राम्रो कुरा हो ।’ उहाँले हरेक तीन महिनामा सेवाग्राहीको सुझाव लिएर यस एपमा नयाँ–नयाँ फिचर थपिने जानकारी पनि दिनुभयो ।

आम पाठकलाई सत्य समाचार दिन नसके मिडिया अलायन्स नेपालको अर्थ नहुने सोचका साथ ल्याइएको एक नेपाल एप एलायन्समा आबद्ध सबै सञ्चार गृहको साझा परियोजना हो । मिडिया एलायन्स नेपालमा मूलधारका छापा, रेडियो र टेलिभिजन समावेश रहेकाले सबैको प्रतिनिधित्व झल्किनेगरी एक नेपालमा पढ्ने, सुन्ने र हेर्ने तीनै माध्यमबाट सेवा लिन सकिने व्यवस्था छ । प्रिन्ट पीडीएफ, लाइभ रेडियो र लाइभ टिभी एक ठाउँमा पाइने भएकाले एक नेपाल सबैको प्रिय हुने विश्वास मिडिया एलायन्स नेपालको छ ।

समाचारसँगै यस एपमा आम व्यक्तिको जीवनमा अति आवश्यक प्रयोगका विषय पनि समेटिएका छन् । सेयर बजार, सुनचाँदी मूल्य, मौसमी विवरण, विदेशी मुद्रा सटही दर, मिति परिवर्तन, भूमि परिमाण हिसाब, वजन क्याल्कुलेटर, युनिकोड रूपान्तरण, एमआई हिसाबलगायतका आधारभूत विषयमा पनि एपबाट जानकारी लिन सकिने बताइएको छ ।

अहिले बेटा भर्सनमा लन्च गरिएको एक नेपाल केही महिनाभित्रै सेवाग्राहीहरूको सुझावसमेत समेटेर फूल भर्सनमा अपडेट गर्ने तयारीमा छ । ‘गलत र भ्रमपूर्ण समाचारविरुद्ध सही र शीघ्र समाचार’ नाराका साथ आएको एक नेपालले अनावश्यक भ्रम र तनाब बोकेर हिड्न बाध्य लाखौं पाठक, दर्शक र स्रोतालाई बौद्धिक तथा मानसिक सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।एक नेपाल एप दुवै एनरोइड र आईओएसमा डाउनलोड गरी जोकोहीले उपयोग गर्न सक्ने बताइएको छ ।

https://play.google.com/store/apps/details?id=com.app.eknepal

प्रतिक्रिया दिनुहोस्