नयाँ वर्षमा रेग्मीको सन्देश, – ‘हाम्रोलाई होइन, राम्रोलाई जिताऔँ’



काठमाडौं ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले उत्पादकत्व वृद्धि र रोजगारीमूलक आर्थिक विकासका गतिविधि निर्माणमा जोड दिनु पर्ने भन्दै आउँदै गरेको  स्थानीय निर्वाचनमा राजनीतिक दलहरूले हाम्रा मान्छे होइन योग्य र राम्रा मान्छेलाई उम्मेदवार छान्नुपर्ने बताउनु भएको छ । साथै उहाँले प्रत्यक्ष देखे भोगेका जनताले पनि निष्कलङ्क, कर्मशील एवम् जनताको सुख दुख प्रति प्रतिबद्ध व्यक्ति चुन्नु पर्ने बताउनु भएको छ ।

नयाँ वर्षको पुर्वसन्धामा शुभकामना सन्देश जारी गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले  विप्रेषण ले आयातमुखी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिलाई बढावा दिने बताउँदै भन्नुभएको छ– उत्पादकत्व वृद्धि र रोजगारीमूलक आर्थिक विकासका गतिविधि निर्माण नगरेसम्म सेवा र सुविधाको नाममा वितरणमुखी बजेटको प्रवृत्ति र नीति रहेसम्म ऋण र अनुदानले आत्मनिर्भर होइन परमुखापेक्षी नै बनाउने हो । मुलुक आर्थिक सङ्कट तर्फ उन्मुख भएको प्रति लक्षित गर्दै उहाँले खेतबारी बाँझो राखेर विदेशी श्रम बजारमा नौजवान पाखुराहरू पठाएर दिगो विकास र समृद्धि नआउने पनि बताउनु भएको छ ।

‘नेपालमा विगत लामो समयदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध हुने आकाङ्क्षा राखेका हामी नेपालीहरू आफ्नो सुखद भविष्यका लागि अनवरत सङ्घर्ष गरिरहेका छौँ’ रेग्मीले शुभकामना सन्देशमा भन्नुभएको छ– जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता हो ।

२०७९ साल निर्वाचन वर्षको रूपमा आएको भन्दै रेग्मीले राजनीति जनताकै बलमा जनताकै लागि गरिने भएकोले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिने पनि बताउनु भएको छ । ‘राजनीतिक दलहरूले हाम्रा मान्छे होइन योग्य र राम्रा मान्छे उम्मेदवार छान्ने र प्रत्यक्ष देखे भोगेका जनताले पनि निष्कलङ्क, कर्मशील एवम् जनताको सुख दुख प्रति प्रतिबद्ध व्यक्ति छान्न सके गाउँकै विकास र भलाई हुन्छ भन्ने कुरा अब पनि नबुझे कहिले बुझ्ने ?’ रेग्मी भन्नुहुन्छ– अनि पछि परिणाम राम्रो खोज्ने, गुनासो गर्ने ठाउँ कहाँ पो रहन्छ र आफैँ चुकेपछि । आचारसंहिताको परिपालना र निर्वाचनलाई कम खर्चिलो बनाइ स्वच्छ र निष्पक्ष बनाउनु आजको आवश्यकता उहाँको भनाई थियो ।

‘२०७९ साल स्थिरता, सुशासन र सम्वृद्धिको असल मार्गचित्र निर्माण गर्दै अघि बढ्ने ऐतिहासिक वर्ष’ बनोस भन्ने शुभकामना दिँदै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले विगत केही समयदेखि कोरोना महामारीले आर्थिक, सामाजिक एवम् समग्र जीवन पद्धतिलाई थिलथिलो बनाएको र  अर्थतन्त्र संकटउन्मुख अवस्थामा पुगेको बेला  सकारात्मक सोच र दृढ इच्छाशक्तिका साथ विगतका कमी कमजोरीको समीक्षा गर्दै बिग्रँदो अर्थतन्त्रलाई बेलैमा सम्हाल्दै  अघि बढ्नु पर्ने बताउनु भएको थियो ।

‘राजनीतिक दलहरू, नेतृत्व तहका व्यक्तिहरू र नेपाली मात्रले यो २०७९ सालमा राजनीतिक रूपले स्थिर र सबल, विकास र समृद्धिका सही नीति र कार्यदिशा अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवम् विश्वसनीय बनाई स्वस्थ एवम् सबल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल होऔँ’–उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्