चल्ने भए थन्किएका ब्रुमर  

कामपाले चालक माग्न टेण्डर गर्दै 



काठमाडौं । 

चालक नभएर थन्किएका ब्रुमर सञ्चालनमा आउने  भएको छ । काठमाडौं महानगरपालिकाले  ५ जना ब्रुमर चालक ल्याउने भएपछि धुलाम्य भएर थन्किएको ब्रुमर पुनः सञ्चालन हुन लागेको हो । कामपाले ५ जना चालकको लागि टेण्डर खोल्ने तयारी गरेको छ । कामपासंग उपलब्ध भएका चालकले ब्रुमर चलाउन नसक्ने भएपछि टेण्डर मार्फत चालक लिन लागिएको हो ।

हामी एक दुई दिनमै टेण्डर गर्ने तयारीमा छौ–कामपाका प्रशासन विभाग प्रमुख एवं सहायक प्रवक्ता महेश काफ्लेले नेपाल समाचारपत्रसंग भन्नुभयो ।  यही चैत २८ गते नेपाल समाचारपत्रन्युज अफ नेपालले ‘चालक नभएर थन्कियो ब्रुमर’ समाचार लेखेको थियो । समाचार प्रकाशित भए लगत्तै मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले तत्काल ब्रुमर सञ्चालन गर्ने प्रक्रिया थाल्न  प्रशासन विभागलाई निर्देशन दिनुभएको थियो ।

लगत्तै प्रशासन विभागले फाइल तयार गरी सूचनाको लागि प्रक्रिया पुरा गरेको छ । केही छलफल गर्नुपर्ने छ । सबै प्रक्रिया पुरा भए लगत्तै चालक ल्याउनेछौ । ३ वर्षअघि खरिद गरेको ७ वटा इटालियन ब्रुमरका चालक नभएपछि थन्किएको हो । ब्रुमर नभएपछि कामपाले बाटो बढार्न सकेको छैन ।

कामपाले खरिद गरेको ७ वटा ब्रुमर करिब १४ करोड रुपियाँमा खरिद गरेको थियो । ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । हाल सात वटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्किएको छ ।   १० मध्य तीन वटा कामपाको टेकुस्थित ट्रान्सफ स्टेशनमा राखिएको छ । चोभारस्थित सुख्खा बन्दरगाह उद्घाटन गर्ने क्रममा सरकारले ब्रुमर मागेको थियो । त्यसबेला बल्ल तल्ल एउटा पठाइयो त्यसपछि अहिलेसम्म एउटा पनि ब्रुमर सञ्चालन भएको छैन ।

टेण्डरको प्रक्रिया पुरा गर्न ३० दिन लाग्छ । त्यसअघि कुनै पनि विकल्प गरेर सञ्चालन गर्नेछौ । त्यसपछि चालक आएपछि नियमित रूपमा सञ्चालन हुनेछ–सहायक प्रवक्ता काफ्लेको भनाई छ । उहाँका अनुसार ५ जना चालकले दुई वर्षसम्म ब्रुमर चलाउनेछन् । स्थायी वा करारमा कर्मचारी भर्ना गर्दा खर्च बढी हुने भएको कारण कामपाले टेण्डर मार्फत कम्पनीसँग ब्रुमर चालक लिन लागेको हो ।

कामपासंग सात वटा बाहेक तिब्बत सरकारले दिएको दुई वटा र २०७१ सालमा सम्पन्न सार्क सम्मेलनमा खरिद गरिएको सानो आकारको एउटा ब्रुमर छ  । ती मध्य अहिले एउटा मात्र सञ्चालन भइरहेको छ । स्रोतका अनुसार खर्च बढी हुने भएकोले कामपाले ब्रुमर चलाउन चाहेको छैन । एउटा ब्रुमर सञ्चालन गर्दा दैनिक करिब १५ हजार लाग्ने देखिएपछि सञ्चालन नभएको हो । ब्रुमर नहुँदा राजधानीको बाटो धुलाम्य  छ । गर्मीको समयमा सडकभर धुलो उड्दा नाक थुनेर हिड्नुपर्ने बाध्यता छ । तैपनि कामपाले जनताको स्वास्थ्यमाथि ध्यान दिन सकेको छैन । सानो बहाना बनाएर करोडौँ खर्चेर खरिद गरिएको ब्रुमर थन्क्याएर राखेको छ ।

देशकै सबैभन्दा  ठुलो र सुविधा  सम्पन्न काठमाडौं महानगरपालिकासँग चालक नभएको कारण ब्रुमर सञ्चालन गर्न नसकिनु हासोको विषय बनेको छ । महानगरसंगै सिमाना जोडिएको ललितपुर महानगर पालिकाले भने सधैँजसो बाटो बढार्न ब्रुमर सञ्चालन गरिरहेको छ । कामपाले इटालियन ब्रुमर सञ्चालन गर्न एउटा चालकको लागि वार्षिक करिब १६ लाख रुपिया तिने गरेको थियो । म्याद सकिएपछि घर फर्किएका चालकले अब पुनः ब्रुमर चलाउन चासो देखाएपछि कामपाले वास्ता गरेको छैन–एक कर्मचारीले भने ।

सहायक प्रवक्ता काफ्लेले राजधानीको सडकमा पुनः दैनिक जसो ब्रुमर सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । भन्नुभयो–केही समयको लागि रोकिएको होला, अब निरन्तर सञ्चालन हुनेछ । उहाँका अनुसार हाल सञ्चालन भइरहेका ब्रुमरले बाटोको धुलो सफा गरिरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्