कंगोमा कार्यरत नेपाली शान्ति सैनिक मृत्यु ,नेपाली सेनाद्वारा श्रद्धाञ्‍जली अर्पण (तस्विरसहित)



काठमाडौं ।

कंगो शान्ति मिसनमा घाइते भएका नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । कंगोमा कार्यरत शान्ति सैनिक सुर्खेतका सिपाही अनिल गुरुङको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

अपरेसन ‘बाली’का क्रममा विद्रोहीले अज्ञात स्थानबाट आक्रमण गर्दा उनी घाइते भएका थिए । उपचारका लागि हेलिकोप्टरबाट बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । कंगोमा कार्यरत सैनिक प्युठ अनिल गुरुङ्गको पार्थिव शरीरलाई मंगलबार नेपाल ल्याई उनको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्दै नेपाली सेनाले आज (बुधवार) श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अर्पण गरेको छ ।

छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा आयोजित उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सम्मान स्वरुप  शान्ति सैनिकको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्‍जली स्वरुप फूलमाला अर्पण गरेका थिए ।  भने रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्‍जली अर्पण गरेका थिए । सो अवसरमा संयुक्त राष्ट्रसंघको तर्फबाट आवासीय संयोजक नेपाल, मिस्टर रिचर्ड होवर्ड ले गुरुङ्गको पार्थिव शरीरमा (UN) को झण्डा ओढाई सम्मान प्रकट  गरेका थिए ।

उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात स्वर्गीय प्युठ अनिल गुरुङ्गको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्