आरजु राणाले निर्वाचन आयोगलाई स्मरण गराइन् संविधानको धारा ३८ (४)



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् ।

उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८(४) पनि स्मरण गराएकी छन् । धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्लेख छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।

देउवाले भनेकी छन्, नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्त ज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्