डिलरहरुलाई भगवती लेमिनेट्सको झुटो आश्वासन

कानुनी रुपमै उम्कन नसक्ने निश्चित



काठमाडौं । 

भगवती लेमिनेट्सले कर छली गरी आफू पानीमाथिको ओभानो बन्न खोजे पनि अब कानुनी रुपमा उम्कन नसक्ने देखिएको छ । कुनै कम्पनीमा काम गर्ने व्यक्ति राजस्व चुहावटमा संलग्न भएमा निजलाई समेत कारबाही हुने प्रावधानले पनि भगवती लेमिनेट्स कानुनी रुपमा उम्कन नसक्ने निश्चित छ ।

विगत दुई महिनादेखि विभिन्न सञ्चारमाध्यममा कल छलीसम्बन्धी समाचारहरु प्रमाणसहित प्रकाशित हुँदै आएको छ । आम नेपाली जनताले तिरेको भ्याट सम्बन्धित निकायकै कमजोरीका कारण सरकारको ढुकुटीमा पुग्न नसकेको भन्दै राजस्व विभागले अनुसन्धानलाई प्रभावकारी बनाउन तत्परता देखाएको छ ।

यदि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले ढिलो गरेमा वा स्वच्छ निष्पक्ष अनुसन्धान नगरेमा काठमाडौंस्थित केन्द्रीय कार्यालयले फाइल मगाएर अनुसन्धान गर्न सक्ने र दोषी ठहरिएमा वा भेटिएमा कुनै पनि सञ्चालक र डिलरलाई पनि नछोड्ने बताएको छ । राजस्व अनुसन्धान विभागले भने अनुसन्धान प्रक्रियामा कुनै प्रकारको प्रभावले काम नगर्ने स्पष्ट पारेको छ ।

एक वर्षको अवधिमा कच्चा बिलमार्फत ६५ करोड बढीको कारोबार गरी झन्डै २० करोड राजस्व छली गरेका आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको छ ।डिलरहरुले भगवती लेमिनेट्सलाई कारोबार लुकाउन सहयोग गर्दा आफू पनि कर लुकाउन पुगेको पत्तै पाएनन् । व्यवसायमा केवल नाफा मात्र देखेका डिलरहरुले कर छलीमा सहयोग गर्दा ५ वर्ष पछि सम्म पनि सम्पत्ति शुद्धीकरणले तान्न सक्ने र कर तिर्नुपरे व्यापार व्यवसाय नै चौपट हुने तथा त्यसमा पनि जरिवाना लाग्न सक्नेतिर अनुमान नै लगाउन सकेनन् ।

त्यसैले डिलहरुलाई मत्थर पार्न विष्णु मदगोरिया काठमाडौंका डिलरहरुलाई भेटेर राजस्व अनुसन्धानमा कुरा मिलिसकेको भन्दै झुटो आश्वासन दिइरहेका छन् । उनले डिलहरुलाई राजस्व अनुसन्धानलाई ३ करोड रुपियाँ दिएर कुरा मिलिसकेको बताउँदै आएका छन् । मदगोरिया मुख्य लगानीकर्तामध्ये एक भए पनि भारतीय नागरिक भएकाले शेयर लगतमा उनको नाम देखिँदैन । डिलरहरुले भगवतीका सामान उठाउन छोडेको महिनौं भइसक्यो । उनीहरुले भगवतीलाई भुक्तानी पनि गर्न छोडिसके । भगवतीकै कारण डिलरहरुले कर कार्यालय र सम्पत्ति शुद्धीकरणले ५ वर्षपछिसम्म पनि कारबाही गर्न सक्छ भनेर भुक्तानी रोक्का गरेका हुन् ।

केही समय अगाडि यसै विषयलाई लिएर राजस्व अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरेको थियो । तर हालसम्म पनि उनीहरूले पूरै विवरण बुझाएका छैनन् ।सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्