सहबाज चुनिए पाकिस्तानका नयाँ प्रधानमन्त्री



काठमाडौं । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ पाकिस्तान मुस्लिम लिग नजाफ (पीएसएम–एन) का अध्यक्ष सहबाज सरिफ सोमबार पाकिस्तानका नयाँ प्रधानमन्त्री चुनिनुभएको छ ।

प्रधानमन्त्री इमरान खान अविश्वासको प्रस्तावबाट पदमुक्त भएपछि सोमबार बसेको पाकिस्तानको संसद् बैठकले उहाँलाई नयाँ प्रधानमन्त्री चुनेको हो । संसद्को कुल ३ सय ४२ सिटमध्ये उहाँले १ सय ७४ मत प्राप्त गर्नुभएको थियो । उहाँको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्मा राखेको अविश्वासको प्रस्तावको पक्षमा पनि त्यति नै मत अर्थात् १ सय ७४ मत परेको थियो । ७० वर्षीय नवनिर्वाचित प्रधानमन्त्री सरिफले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्नुहुनेछ ।

संसद्बाट प्रधानमन्त्री चुनिएपछि नवनियुक्त प्रधानमन्त्री सरिफले पाकिस्तान इतिहासमै सबैभन्दा ठूलो बजेट घाटा बेहोर्ने दिशातर्फ गइरहेको टिप्पणी गर्दै खानको गलत व्यवस्थापनका कारण बिग्रेको अर्थतन्त्रलाई सही दिशामा ल्याउनु आफ्नो सरकारका लागि ठूलो चुनौती हुने बताउनुभयो ।नयाँ प्रधानमन्त्री मनोनयनका लागि पीएसएम–एनका अध्यक्ष सरिफका साथै पीटीआईका उपाध्यक्ष शाह मोहम्मद कुरैसीले आइतबार मनोनयनपत्र दर्ता भएको थियो ।

तर, संसद्मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनुअघि सरिफको मनोनयनबारे आपत्ति जनाउँदै आएका खानको पार्टी तहरिक ए इन्साफ (पीटीआई) का सबै सांसदले सामूहिक राजीनामा दिएका थिए ।यसअघि खानको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले ‘आयातीत सरकार’को विरोधमा राजीनामा दिने निर्णय गरेको थियो । उक्त जानकारी पीटीआईका सूचना सचिव फारुख हबिबले ट्विटरमार्फत दिनुभएको थियो ।पाकिस्तानको संसद्ले शनिबार राति प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको थियो । खान अविश्वासका प्रस्तावबाट हट्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री बन्नुभएको छ ।

यसअघि आफूविरुद्धको अविश्वासको प्रस्ताव रोक्न निर्वतमान प्रधानमन्त्री खानले संसद् भंग गराउनुभएको थियो । तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि शनिबार मध्यरातमा अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो ।पदच्युत भएपछि प्रधानमन्त्री खानले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको नेतृत्वमा अभियान चलेको आरोप लगाउँदै विपक्षी नेतृत्वको सरकारलाई आफूले मान्यता नदिने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्