मौसमी सतर्कता



गर्मी मौसम शुरु हुनलागेको छ । हुरीबतास चल्नथालेको छ । खासगरी यस मौसममा आगलागीका घटना बढी हुनेगर्छन् । हाम्रो मुलुकमा आगलागीका कारण जनधनको क्षति भएको खबर आउन थालेपछि मात्र न्यूनीकरणको उपायबारे चर्चा हुनेगर्छ । पूर्व तयारी भए आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । आगलागीका घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने पूर्व तयारी नहँुदा वर्षेनी ठूलो क्षति व्यहोरिरहनुपरेको छ । वर्षा याममा बाढी–पहिरोले धेरै जनधनको क्षति भएको खबर थियो, त्यो यस समयमा सेलाउदै गएको छ । अहिले असार–साउनका लागि चिन्तन नगर्नु र असार साउनमा फागुन–चैतको हुरीलाई बिर्सनु निरन्तर आकस्मिकताको विषय बनेको छ । पूर्व तयारी भए प्राकृतिक प्रकोपको रुपमा लिइने बाढीपहिरो न्यूनीकरण गर्न सकिन्थ्यो । तर, बाढी–पहिरो गइसकेपछि मात्र रोकथामको चर्चा हुने र वर्षायाम सकिदासाथ यो चर्चा सेलाउने गरेका कारण वर्षेनी बाढी पहिरोबाट हामीले ठूलो जनधनको क्षति व्यहोरिरहनु परेको छ ।

सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना पनि बढ्नथालेका छन् । सामान्य हेलचेक्र्याइँ र असावधानीका कारण आगलागीका घटना घट्नेगर्दछन् । सानो कुरामा सतर्कता नअपनाउँदा क्षणभरमै ठूलो जनधनको क्षति हुनेगरेको छ । पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा आगलागीमा परी १ सय ९७ जनाको मृत्यु भएको छ । ९ सय ३२ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार यी तीन वर्षमा ४ हजार १२ वटा घर जलेर नष्ट बने । गत वर्ष मात्र देशभर दुई हजार २ सय दुई वटा आगलागीका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो ५ वर्ष यताको तथ्याङ्क विश्लेषण गर्ने हो भने आगलागीबाट मात्रै वार्षिक दुई अर्बभन्दा बढीको क्षति हुनेगरेको छ । हिउँदमा बाढी–पहिरो नियन्त्रण र वर्षायाममा आगलागी नियन्त्रणका पूर्व तयारीका काम हुदैनन् । वार्षिक करिब दुई अर्व रुपियाँ बराबरको क्षति हुन्छ । कतिपय आगलागीका घटनामा मानिसको ज्यान गएको खबर पनि आइरहेको हुन्छ । अहिले नेपालमा ७ सय ५३ वटा स्थानीय तह छन् । अझ भनौं, गाउँगाउँमै सरकार छ । तर पनि ५ सयभन्दा बढी स्थानीय तहमा दमकल छैन । यसबाट के पुष्टि हुन्छ भने आगलागी नियन्त्रणको पूर्व तयारीका बारेमा स्थानीय तहको प्रथमिकता छैन ।

बाढीपहिरोको तुलनामा आगलागीका घटनामा मानव मृत्यु कम भएको देखिए पनि आर्थिक क्षति भने आगलागीको घटनाबाट बढी हुने गरेको छ । आगलागीका घटना मात्र हैन गर्मी मौसममा पानीको मुहान सुक्दै गएर कम हुने, झाडापखाला, हैजाजस्ता रोग फैलने सम्भावना पनि बढी हुन्छ । यस मौसममा स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विषय पनि महत्वपूर्ण छ । सरसफाइको लागि पानीको कमी हुने, धुँवा, धुलो प्रदूषण बढी हुनेजस्ता कारणले पनि रोग फैलनेगर्छ । जब समस्या पर्छ अनि मात्र समाधानको उपाय खोज्ने नेपाली परम्पराले गर्दा आगलागीका घटना न्यूनीकरण हुन नसकेको प्रति सचेत हुनैपर्छ । सतर्कता मौसमी मात्र भएर पुग्दैन ।

प्रतिक्रिया दिनुहोस्