युक्रेन आक्रमणको असर



रसियाले छिमेकी मुलुक युक्रेनमाथि गरेको हिंसात्मक आक्रमणले शक्तिशाली छिमेकी मुलुक निरपेक्ष भएर चल्नखोज्ने सानो मुलुकको गति के हुनेरहेछ भन्ने तीतो पाठ सिकाएको छ । साढे १४ करोड जनसंख्याको रसियाले साढे ४ करोड जनसंख्याको युक्रेनमाथि मात्र आफू अनुकूलको सरकार नभएका कारण अन्धाधुन्ध गोलीबारी गर्‍यो । अमेरिकालगायत पश्चिमेली मुलुकको साथमा उभिने युक्रेनको रणनीति रसियालाई आपत्तिजनक लाग्यो । रसियाले अहिले त्यसकै रिस फेरिरहेको छ ।

विश्वको शक्तिशाली मुलुक रसियाले युक्रेनमाथि हमला गरेपछि अहिले विश्व दुई भागमा विभाजित भएको छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अहिले विश्व समुदायलाई सहयोगको याचना गरेर हतियार दिन आग्रह गरिरहेका छन् । अमेरिका र चीनले आफ्नो पक्षधरतालाई पछिल्लो समय आएर प्रष्ट्याएका छन् । दुई ध्रुवमा बाँडिएको विश्वका कारण तेस्रो महायुद्धको अवस्था नआउला भन्न सकिदैन । अहिले युक्रेनलाई चौतर्फी रुपमा रसियाका १ लाखभन्दा बढी सेनाले घेराबन्दी गर्दै आक्रमणलाई तीव्र बनाइरहेका छन् । दुई मुलुक बीचको शान्ति–वार्तासमेत निष्कर्षविहीन भएपछि दुवै मुलुक फेरि एक–अर्कामा भिड्नथालेका छन् । विश्व समुदायले रसियालाई एक्लो बनाउँदै लगेका छन् । अन्तर्राष्ट्रिय वित्तीय संस्थाले रसियासँग अलग हुने घोषणा गरेपछि अहिले त्यहाँ राष्ट्रिय मुद्रा रुवलको अवमूल्यन तीव्र भइरहेको छभने अन्य सहयोगी संस्थाले समेत रसियासँगको सम्बन्धविच्छेद गरेका छन् । पश्चिमा राष्ट्रहरु अहिले युक्रेनलाई बचाउन वार्ताको वातावरण बनाउनुभन्दा पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेर रसियालाई उत्तेजित बनाउने र युक्रेनमाथि आक्रमाण गर्न उक्साउनेजस्ता काममा लागेका छन् । नेपालजस्ता साना र गरिव मुलुकहरु अहिले महँगीको मारमा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय रुपमा तेलको मूल्य बढेको छ भने अन्य दैनिक खाद्यान्नका सामानको मूल्य पनि अकासिएको छ, अभावसमेत सिर्जना हुनथालेको छ ।

विश्व समुदाय विभाजित हुनुभन्दा पनि दुई मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर युद्ध रोक्ने बाटोमा लाग्नुपर्नेमा त्यसो हुनसकेको देखिंदैन । युक्रेनमाथिको आक्रमण निन्दनीय छ, तर रसियालाई गाली गरेर मात्र निकास निस्कन्न । कुनै पनि मुलुकको सार्वभौमिकतामाथि धावा बोल्ने अधिकार कुनै मुलुकसँग छैन तर छिमेकी मुलुकले पनि आफ्नो छिमेकीको चाहनाबारे ध्यान दिन जरुरी हुन्छ । युक्रेनलाई नाटोको सदस्यता अहिले नै चाहिएको छ । रसिया त्यसको विरोधमा लागेको छ । छिमेकी रसियाले भनेको नमान्दा अहिले निर्दोष युक्रेनी नागरिकले अनाहकमा ज्यान गुमाइरहदा पनि युक्रेनका शासक अन्य देशबाट हतियार ल्याएर भएपनि रसियालाई ठिक पार्छु भन्ने असहज विकत्पतिर लागेका छन् । युद्धले केवल विनास मात्रै गर्ने भएकाले अहिले रसिया र युक्रेनले सोच्ने बेला आइसकेको छ । आफ्नो लक्ष्य प्राप्त नभए आणविक हतियारको प्रयोग गर्ने घोषणा रसियाले गर्नुले पनि ऊ युद्धबाट पछि हट्न चाहेको देखिदैन । आणविक युद्ध शुरु भयो भने कुनै पनि देशको भविष्य सुरक्षित हुनेछैन त्यसैले विश्व समुदायले युद्ध रोक्नेतर्फ अघिबढ्नु अनिवार्य देखिन्छ । हतियार उत्पादक मुलुकहरु आफ्नो व्यापार बढाउने दिशामा केन्द्रित भए भने उनीहरुभन्दा स्वार्थी र अमानवीय अर्को कोही हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्