हात्तीपीडितको घर पुनर्निर्माणको प्रतिबद्धता


न्युज अफ नेपाल, हेटौँडा ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिले जङ्गली हात्तीबाट प्रभावित सिन्धुलीका १ सय ४० परिवारलाई नगदसहित खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।

पार्टीले भत्किएका घर पुनर्निर्माण गरिने प्रतिबद्धता जनाएको छ । सिन्धुलीमा जङ्गली हात्तीले केही दिनअघि स्थानीयको घर भत्काउनुका साथै बालीनाली नष्ट गरेको थियो । पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जिल्लाको विभिन्न क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराउनुभएको हो । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर–१३ र १४ अन्तर्गत रानीबास चन्दनपुरलगायत क्षेत्रका ७७ परिवार, दुधौली नगरपालिका वडा नम्बर–१, २, ३, ६ र ११ को झुगा, तीनतले, माथिल्लो फुटेपानी, कालापानी, लवा, माथिल्लो पत्रिङ्गालगायत स्थानका ६३ घरपरिवारलाई राहत उपलब्ध गराइएको हो ।

उनीहरूलाई प्रतिपरिवार ५ हजारसहित ब्ल्याङ्केट, चामल, नुन, तेल र दाललगायत खाद्यान्न सहयोग गरिएको हो । राहत वितरण कार्यक्रममा प्रदेश सभापति बानियाँले कांग्रेस जनताको पीरमर्का तथा अप्ठेरो परिस्थितिमा सदैव साथ सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले प्रदेशवासीको समस्यालाई कांग्रेसले आफ्नो समस्या ठानेको भन्दै त्यसको सम्बोधनमा पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जङ्गली हात्तीबाट प्रभावित भएका जति पनि घरपरिवार छन्, हामी प्रदेश सरकारसँग समन्वय गरेर  पीडामा मलमपट्टी गर्ने प्रयास गर्नेछौँ । भत्किएका घर पुनर्निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्छु,’ उहाँले भन्नुभयो । राहत वितरण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे, कांग्रेस बागमती प्रदेश उपसभापति द्वय मोहन बस्नेत र चन्द्र महर्जन, महामन्त्री द्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ, सह महामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ र जीवन डंगोल, पार्टी सिन्धुली जिल्ला सभापति उज्ज्वल बराललगायत उपस्थित हुनुहुन्थ्यो ।