समस्या छ भने समाधान पनि हुन्छ



  • प्रेम रावत

कोरोना भाइरसको यो जुन परिस्थिति छ, हामीसँग यो एउटा यस्तो समय छ जसबाट हामी केही सिक्न सक्छौँ, केही बुझ्न सक्छौँ । हरेक मानिससँग एउटा कुरा छ । उसले त्यो चीज अरूलाई पनि दिन सक्छ । त्यो कुरा हो– प्रेम । प्रेम सबैभन्दा ठूलो उपहार हो । प्रेम, त्यो वास्तविक कुरा हो जुन अरूसँग गर्न सकिन्छ । हामी एक–अर्कालाई आदर गर्न सक्छौँ । यो संसारमा हामीले एक–अर्कालाई सुन्न बिर्सिसकेका छौँ । परिवारमा एक–अर्काको कुरालाई कसैले सुनिरहेको हुँदैन । एउटा मानिस, एउटा परिवारको सदस्य हुनुको नाताले सबैभन्दा ठूलो उपहार जुन तपाईँले दिन सक्नुहुन्छ, त्यो कुनै ठोस वस्तु होइन । त्यो त यी भावनाहरू हुन्– प्रेम, आनन्द । आफ्नो जीवनमा यदि हामीले वास्तविक मानवतालाई अपनायौँ भने हामीले कुन कुरामा परिवर्तन ल्याउन सक्दैनौँ र !

कुनै बेला आमाबुबाहरू छोरोछोरीले गर्दा दुःखी हुन्छन् । यदि तिनले पढेनन् भने उनीहरूप्रति आक्रोशित हुन्छन् । हामी दुई मिनेट आफ्ना बालबच्चासँग बसेर कुरा गरौँ– के समस्या छ ? उसले पढाएको कुरालाई नै नबुझेको पनि त हुन सक्छ । यदि उसले बुझिरहेको छैन भने पनि उसको मात्रै त कमजोरी होइन । उसलाई सहयोग गर्नु आवश्यक छ । ऊसँग बस्नु आवश्यक छ । उसलाई अझैँ बुझाउनु आवश्यक छ । यदि कसैको जीवनमा कुनै प्रकारको दुःख छ । अनि, समस्याको समाधान भइरहेको छैन भने रिसाएर समस्याको हल हुन्छ भन्ने पनि त होइन । ईष्र्या, द्वेष यी सबै कुरा परिवारमा देखा परेपछि परिवारमा नै उथलपुथल मच्चिन्छ । यस्तो कुरा परिवारमा कहिल्यै पनि हुनुहुँदैन । संसारले भन्छ, ‘मसँग यो छ, तपाईँसँग यो छैन ।’ यदि कसैसँग केही छ, कसैसँग केही छैन । यसको अर्थ ऊसँग कुनै नयाँ कुरा होला, जुन अर्कोसँग नहोला ।

यसै सन्दर्भमा एउटा कथा छ । एकपटक एकजना विद्वान् पण्डित एउटा डुङ्गाबाट यात्रा गरिरहेका थिए ।
उनले डुङ्गा चालकलाई सोधे, ‘भाइ, तिमीले कतिसम्म लेखपढ गरेका छौ ?’
डुङ्गा चालक भन्छन्, ‘मैले त पढे–लेखेको छैन !’
पण्डितले भने, ‘ओहो ! तिमीले त आफ्नो पूरै जीवनलाई बर्बाद पार्यौ ।’
डुङ्गा चालक डुङ्गालाई लिएर नदीको बीचतिर पुगेका थिए । पण्डित सोध्छन्, ‘तिमीले कहिल्यै यात्रा गरेका छौ ? कतै तीर्थ गएका छौ ?’
डुङ्गा चालकले भने, ‘छैन हजुर ! म त कहाँ जान सक्छु र ! म त यसैमा रातदिन खटिइरहन्छु ।’
पण्डितले भने, ‘तिमीले त साँच्ची नै आफ्नो जीवनलाई खेर फालिरहेका छौ ।’
अलि अगाडि पुगिसकिएपछि डुङ्गा चालकले देखे डुङ्गामा त प्वाल परेछ अनि डुङ्गाभित्र पानी भरिन थालिसकेछ ।
पण्डितले उनलाई फेरि सोधे, ‘तिमीले सिकेको, जानेको अरू केही कुरा छ त ?’
डुङ्गा चालकले भने, ‘मलाई त यो डुङ्गा चलाउने काम मात्र आउँछ ।’
पण्डितले भने, ‘तिमीले त सम्पूर्ण जीवनलाई नै बर्बाद बनायौ । केही पनि सिकेका छैनौ, केही पनि पढेका छैनौ ।’
त्यसपछि डुङ्गा चालक भन्छन्, ‘पण्डितजी ! म तपाईँलाई एउटा प्रश्न सोध्न सक्छु ?’
पण्डितले भने ‘के ?’
डुङ्गा चालकले भने, ‘तपाईँलाई पौडी खेल्न आउँछ ?’
पण्डितले भने, ‘आउँदैन भाइ ! मलाई पौडी खेल्न आउँदैन । मलाई पौडिनु किन आवश्यक छ र ! मैले वेद पढेको छु । थुप्रै शास्त्र पढेको छु । रामायणको अध्ययन गरेको छु । गीता पढेको छु । सबै कुराको अध्ययन गरेको छु । मलाई पौडिन नआउनु कुन ठूलो कुरा भयो र !’
डुङ्गा चालकले भने, ‘पण्डितजी ! तपाईँलाई पौडिन आउँदैन, तपाईँले पौडी खेल्न सिक्नुभएन । मेरो त जिन्दगी बर्बाद जहिले होला–होला तर तपाईँको अहिल्यै भइसक्न लाग्यो, किनकि यो डुङ्गामा प्वाल पर्यो । अब यो डुङ्गा बिस्तारै–बिस्तारै पानीमा डुब्दै छ । यदि तपाईँलाई पौडिन आउँदैन भने त तपाईँ पानीमा डुब्नुहुनेछ ।’

कुरा, हामीले जे सिकेका छौँ त्यसका बारेमा होइन ! हरेक व्यक्तिको जीवनमा सृष्टिकर्ताले एउटा उपहार दिएका छन् । हामी यसो भन्न सक्दैनौँ, ‘तपाईँको उपहार ठूलो छ या मेरो उपहार ठूलो छ ।’ सबैको आ–आफ्नै उपहार छ । त्यो तपाईँका लागि हो । त्यो उपहार पाएपछि तपाईँलाई आनन्द प्राप्त हुन सक्छ । त्यो उपहार के हो भनेर त्यसको खोजी गर्नुहोस् अनि त्यसलाई चिन्नुहोस् ।

कसैले कविता लेख्न सक्लान् त कोही कविता सुन्न सक्लान् । यदि कविता सुन्ने श्रोता छैनन् भने कविता सुनाउनेले के गर्न सक्छन् ! यदि कोही सुन्ने मान्छे छन् भने न उनले आफ्नो कवितालाई सुनाउन पनि सक्छन् । जब कोही श्रोता नै छैनन् भने सुनाउनेले के सुनाऊलान् । सबैलाई जीवनमा एउटा उपहार प्राप्त भएको छ । त्यो उपहारलाई चिन्नुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।

यो संसारमा धेरै घटनाहहरू घटित हुन्छन्– राम्रो पनि हुन्छ, खराब पनि हुन्छ । अनि, यो कुरा पनि हामीलाई राम्रोसँग थाहा छ– जे राम्रो हुन्छ, यदि त्यसबाट हामीलाई केही लाभ हुन्छ भने त्यसलाई हामी राम्रो ठान्छौँ । यदि केही यस्तो होओस् जसबाट हामीलाई हानि हुन्छ भने त्यसलाई हामी खराब ठान्छौँ ।

वास्तविक राम्रो र नराम्रो कुरा के हो ? तपाईँलाई यो मानिसको शरीर प्राप्त भएको छ । तपाईँ जीवित हुनुहुन्छ । यो राम्रो कुरा हो । कुनै परिस्थिति कस्तो हुन्छ भने– हुन सक्ला, त्यो तपाईँको इच्छा विपरीत हुन्छ । तथापि, त्यो परिस्थिति एउटै खालको रहिरहँदैन । एउटा समय थियो, त्यस्तो परिस्थिति थिएन । आज त्यो छ । भोलि हुन सक्ला त्यो, नहुन पनि सक्छ । फेरि नयाँ अवस्था सिर्जना हुन सक्छ । पुनः पुरानो अवस्था फर्कन पनि सक्छ । यो सारा कुरा त संसारमा भइरहन्छ नै । तर, हामीलाई यो जुन जीवन प्राप्त भएको छ, योभन्दा ठूलो कुरा अरू केही हुनै सक्दैन ।

कसैले हामीकहाँ आएर यस्तो कुरा गर्यो भने हामी भन्नेछौँ, ‘हो, तपाईँ ठीक भन्दै हुनुहुन्छ ।’ केही समयपछि त्यसको कुनै असर रहँदैन । भन्न त भनियो, ‘हो सबैभन्दा ठूलो कुरा यही हो । मेरो जन्म भएको छ । म जीवित छु तर त्यस कुराबाट खासै प्रभाव रहँदैन ।’ फेरि त्यही दुनियाँदारीको कुरा, त्यही चिन्ता, ‘अब के होला, यो गर्नु छ, त्यो गर्नु छ ।’ यी सबै कुरामा मानिसको ध्यान गइरहन्छ ।

आज थाहा छैन कति मानिसहरू यस्तो परिस्थितिलाई देखेर आत्तिएका हुँदा हुन् । तर, कसैले पनि यस्तो सोचिरहेका छैनन्– ‘म जीवित छु ।’ ठीक छ, यस्तो अवस्था छ । जे–जस्तो अवस्था होस् तर म जीवित छु । म जीवित भएका कारणले मैले केही गर्न सक्छु । एउटा त म आफ्नो सुरक्षा गर्न सक्छु, किनभने म जीवित छु । अर्को कुरा, म आफ्नो जीवनमा आनन्द ल्याउन सक्छु । यो कोभिड–१९ जस्तो महामारीबाट म बच्न सक्छु अनि आफ्नो जीवनमा आनन्द प्राप्त गर्न पनि सक्छु । यो सम्भावना– ‘म आफ्नो जीवनमा आनन्दलाई प्राप्त गर्न सकूँ’ भन्ने कुरा यो महामारीभन्दा पहिला पनि थियो र यसपश्चात् पनि रहनेछ । जबसम्म तपाईँ जीवित रहनुहुन्छ, तपाईँभित्र यो श्वास आइरहन्छ अनि गइरहेको हुन्छ तबसम्म यो सम्भावना रहिरहन्छ ।

यति राम्रो कुरा– ‘तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ ।’ यो सन्देशलाई बुझ्न त बुझियो तर हाम्रो जीवनमा यसको कुनै प्रभाव त हुनुपर्छ नि ! तथापि, मानिसहरू आफ्नो समस्यामा नै तल्लीन भइरहन्छन् अनि यो श्वासको मूल्यलाई बुझ्नै सक्दैनन् ।

यदि तपाईँसँग समय छैन भन्ने लाग्छ भने तपाईँको जीवनमा यो समयको अर्थ के भयो ! जुन चीज अत्यावश्यक छ, जब तपाईँसँग त्यसैका लागि समय छैन भने तपाईँसँग समय होस् या नहोस् त्यसको फाइदा नै के भयो र !

तपाईँ जीवित हुनुहुन्छ, त्यसकारण तपाईँले आफ्नो जीवनमा निर्णय लिन सक्नुहुन्छ । तपाईँले के निर्णय लिनुभयो ? के तपाईँ त्यो चीजलाई बुझ्नुहुन्छ ! यो हृदयलाई तपाईँ आनन्दले, साँचो आनन्दले भर्नुहुन्छ या केवल धन कमाउन चाहनुहुन्छ ! तपाईँले धन कमाउनुहुँदैन भनेर म भनिरहेको छैन । तर, धनका बारेमा तपाईँले के कुरालाई बोध गर्नुपर्छ भने– चाहे तपाईँ जतिसुकै धन कमाउनुहोस्, जतिसुकै भण्डारण गर्नुहोस् तर त्यसबाट एक पैसा, आधा पैसा पनि तपाईँ आपूmसँग लिएर जान सक्नुहुन्न ।

तपाईँ एउटै चीजलाई मात्र आफ्नो साथमा लिएर जान सक्नुहुन्छ र त्यो हो ‘आनन्द’ । मानिस आफ्नो जीवनमा त्यो आनन्दले भरिपूर्ण भएपछि उसको जिन्दगी बदलिनेछ । उसका लागि सबै कुरा सफल हुन्छ । जब उसले आफ्नो जीवनलाई हेर्छ अनि यो संसारलाई हेर्छ, त्यसपछि उसलाई लाग्छ– म कति भाग्यशाली छु । तब उसले कसैको नराम्रो होस् भन्ने चाहँदैन ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्