अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या आरोपित पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज । 

 पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत पुष महिनाको अन्तिम साता वीरगन्जमा हत्या गरिएकी १० वर्षीया बालिका रिजवाना महतोको हत्यारालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी ४० वर्षीय मोती पटेल भनिने मोतीलाल प्रसाद कुर्मीलाई , रिजवानाको हत्याको आरोपमा पक्राउ गरेको हो ।पटेलले अवैध सम्बन्ध लुकाउन रिजवानाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना पश्चात् रिजवानाको परिवारले पटेल विरुद्ध दिएको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा पटेलले अवैध सम्बन्ध लुकाउने उद्देश्यले रिजवानाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ घर भई हाल वडा नम्बर १५ भिष्वामा बस्दै आएका सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीय रिजवाना महतोको शव गत पुष २४ गते वीरगन्ज स्थित कञ्चनजङ्घा स्कुल नजिकै निर्माणाधीन भवन नजिकै भेटिएको थियो ।पक्राउ परेका पटेलमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।