शैक्षिक भ्रमण जान विद्यालयमा ‘होटल’


मोतीराम तिमल्सिना, काभ्रे ।

शैक्षिक भ्रमण तथा लोक हुँदै गएको योमरीको प्रचार प्रसार गर्ने उद्देश्यले पनौतीमा रहेको पनौती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले विद्यालय परिसरमा मकर मेला अवधिभरका लागि होटल सञ्चालन गरेका छन् ।

कोरोना भाइरसका कारण लगातार विद्यालयले शैक्षिक भ्रमण लगेको छैन । त्यस अघि स्थानीय, विदेशी दाताको सहयोगमा न्यून शुल्कमा धेरै बसाइको शैक्षिक भ्रमण गराउँदै आएको विद्यालयले यो वर्ष दाता नभएकाले विद्यार्थीहरूको शैक्षिक भ्रमणको चाहना पुरा गर्ने उद्देश्यले मकर मेलालाई उपयोग गर्ने निर्णय लिएको थियो । ‘कोरोना भाइरसको संक्रमण बढिरहेको थिएन, पनौतीमा लाग्ने १२ वर्षे मकर मेला सुरु हुँदै थियो, एक महिना विद्यालय बन्द हुने भएकाले त्यही समयलाई व्यवसायमा रूपान्तरण गरी रकम संकलन गर्ने र विद्यार्थीहरूलाई शैक्षिक भ्रमण लैजाने योजना बनाएका थियौँ’–प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले भन्नुभयो– ‘कोभिडका कारण सोचे जस्तो हुन सकेन । तर पनि थोरै विद्यार्थी, शिक्षक र कर्मचारीहरूले माघ २ गते देखि होटल सुरु गरेका छौँ ।’

होटलका लागि दैनिक चार विद्यार्थी र ७ शिक्षक शिक्षिका तथा कर्मचारी खटिएका छन् । मकरमा आउने मान्छेहरू कमी भएकाले सोचेजस्तो व्यापार नभएको प्रधानाध्यापक ताम्राकारले बताउनु भयो । तर पनि दैनिक ६÷७ हजारको कारोबार हुने गरेको छ । होटलमा भएको कारोबारको आधा मुनाफा हुने गरेको उहाँले बताउनु भयो । होटलमा लोप हुँदै गएको योमरी खुवा र चाकुबाट बनाएर राखिएको छ । नेवारी समय बजी, चटामरी, बारा, आलु तामा, छोयला लगायतका खानेकुराहरू उपलब्ध छन् । हरेक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तालिका बनाएर विद्यार्थी र शिक्षक विद्यालय उपस्थित भएर जिम्मेवारी पुरा गरिएको विद्यार्थी अस्मिता खनालले बताउनु भयो ।

 

कक्षा ८ मा अध्ययन गर्ने अस्मिता खनाल, अञ्जना तामाङ, रञ्जित थोकर, मनिषा तामाङ, सुनिता भ्लोन, सलिना तामाङ, शान्ति घलान, अनिल बलले साताको पालो लगाएका छन् । शनिवार सबै जुटेर स्वयंसेवा गरिरहेका छन् । कक्षा ७ र ८ मा अध्ययन गर्ने ५८ जना विद्यार्थीकै आलोपालो लगाएको भए पनि भिडभाड कम भएकाले ८ जना विद्यार्थीहरूले मात्रै स्वसेवाका लागि खटाइएको छ । ‘विद्यालयमा स्वयंसेवा गरेर शैक्षिक भ्रमण जाने चाहना पुरा होस भन्ने उद्देश्य हो’–विद्यार्थी अस्मिता खनालले भन्नुभयो–‘सबै विद्यार्थीहरूले योमरी बनाउन जानेका पनि थिएनन्, खाजा बनाउन र सेवा गर्ने अवसर मिल्यो ।’ स्कुलमा सिकेको उक्त कामले व्यक्तिगत जीवनमा पनि फाइदा पुगेको महसुस भएको खनालले बताउनु भयो ।

मकर मेलामा व्यवसाय गरेर लुम्बिनी, पाल्पा, पोखरा लगायतका स्थानमा जाने हाम्रो चाहना पुरा गर्न विद्यालयले होटल व्यवसाय शुरु गरेको विद्यार्थी रञ्जिता थोकरले बताउनु भयो । ‘होटल व्यवसायबाट पकाउने मात्रै नभई धेरै कुरा एकै पटक सिक्ने अवसर मिल्यो’–थोकरले भन्नुभयो–‘पैसा कति बचत हुन्छ थाहा भएन तर काम धेरै सिकियो । अनुभव बटुल्ने अवसर मिल्यो ।’ होटलमा विद्यार्थीहरू आफै पकाउने, सर्भिस गर्ने, अर्डर लिन जाने, पैसा लिने गर्छन् । विद्यार्थी मनिषा तामाङले लेखा राख्न सिकेको बताउनु भयो । घरमा काम नै नगरेको भए पनि विद्यालयमा शुरु गरिएको होटलमा धेरै काम गर्ने अवसर मिलेको उहाँले बताउनु भयो । व्यवहारिक शिक्षा धेरै मिलेको विद्यार्थीहरूको अनुभव छ ।

विक्रम सम्वत १९७२ सालमा स्थापना भएको जिल्लाकै पुरानो विद्यालयमा २ सय ४२ जना विद्यार्थी नियमित अध्ययन गर्ने गरेका छन् । गरिब, जेहेन्दार तथा दलित समुदायका विद्यार्थीहरुलाई सबै प्रकारको छात्रवृत्ति उपलब्ध गराउँदै आएको उक्त विद्यालयमा स्वदेशी तथा विदेशी दाताहरूले सहयोग पु¥याईरहेका छन् । गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षाका लागि गरिने फरक फरक कार्य मध्ये होटल पनि एक रहेको प्रधानाध्यापक ताम्राकारले बताउनु भयो । कक्षा ७ र ८ मा अध्ययन गर्नै ५८ जना विद्यार्थीहरूका लागि ५ रुपैयाँ लिएर तीन दिन दुई रात विभिन्न स्थानमा घुमाउन लैजाने गरिएको भए पनि यो पटक स्थानीय सहयोगीहरू कोभिडका कारण नभएकाले होटलबाट बचत भएको रकमबाट शैक्षिक भ्रमण लैजाने उदेश्यले होटल शुरु गरिएको उहाँले बताउनु भयो ।