ठगीको परिभाषाभित्र राजनीतिक गठबन्धनहरु



देशमा देखा परेका समस्याहरुको समाधानको खाका जनजनसमक्ष सार्वजनिक गर्नुभन्दा पनि आफ्नो व्यक्तिगत महत्वाकांक्षा कसरी स्थापित गर्न सकिन्छ भन्ने ध्याउन्नमै विभिन्न दलका राजनीतिक अंशियारहरु मरिमुक्त भएर लागिपरिरहेका छन् । भर्खरै सकिएको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशन नामको सभा अनि त्याहाँ भएका मतदानहरुले अन्ततः उच्च प्रतिशतमा यिनै कुरालाई इंगित गरेको छ भने आफूलाई परिवर्तनकारी बताउने माओवादीको हालत पनि त्यस्तै छ । जनजन आफूलाई के गर्ने, के नगर्ने भन्ने दोधारमा आफूलाई उभ्याउन पुगेका छन् ।

कतै–कतै दलहरुको दासत्वबाट मुक्त हुन खोजेको हो कि भन्ने आभास पनि दिन खोज्छन्, कतै–कतै होइन अरु तत्काल विकल्प देखिएन अझैँ केही वर्ष यिनीहरुको दास बन्नुबाहेक अन्य विकल्प तत्काल देखिएन भन्ने दोसाँधमा केही जनजन तथा कार्यकर्ताहरु पुगेको प्रतीत भइरहेको छ । त्यो नहुँदो हो त प्रत्येक राजनीतिक दलहरुका भेलाहरुमा यसरी मान्छेहरुको घुँइचो हुँदैनथ्यो । भलै भीड जम्मा गर्ने ठेक्का पाएको ठेकदारले खाना खर्च, गाडी भाडा अनि सामान्य पकेट खर्च दिएको भरमा जिम्मेवार कार्यकर्ता र अन्य मानिसहरु देशलाई यति विघ्न भड्खालोमा जाकिसक्दा पनि उनीहरुलाई नै देवतातुल्य ठानी अझ कुकर्म गर्न छुट दिनको निमित्त यसरी भेला हुने नै थिएनन् । भीड जम्मा पार्न आएको ठेकेदारलाई तिम्रो पैसा र खाना चाँहिदैन, हामी तिमीले भनेको ठाउँमा जाँदैनौँ भनेर केही जन र कार्यकर्ताले वास्तवमै उपस्थितिको लागि तिरस्कार गर्न सक्थे । विडम्बना, त्यसो हुन सकेन ।

देशमा भएका प्रायः सबै दलका राजनीतिक अंशियारहरुलाई पिछलग्गु र आफ्नो स्वार्थमात्र साँध्न खोज्ने कार्यकर्ताबाहेक अन्य जनजनले थरी–थरीका राजनीतिक गठबन्धनहरुलाई जनजनलाई झुक्याएर आफ्नो कुत्सित राजनीतिक स्वार्थमात्र साँध्ने र ठगी गर्ने दलको संज्ञा दिन थालेका छन् । दिग्भ्रमित पार्ने कुरा बोलेर गठन गरिने कुनै पनि राजनीतिक गठबन्धनलाई जनजनले ठगबन्धनको रुपमा हेर्न थालेका छन् । राजनीतिक अंशियारहरुले गरेका कुकर्मबाट पिल्सिएका कुनै पनि दलका कार्यकर्ताको अन्तरात्माको आवाज अब बिस्तारै नेताहरुकै अगाडि भन्दिन, नेताहरुको कुकर्महरु ढाकछोपमै लाग्छु भन्ने दृढता लिए पनि त्यसको ठीक उल्टो कार्यकर्ताहरुका अन्तरमनका आवाज स्वतः निस्कन थालेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना दिन पुगेका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो मन्तव्य राखेका थिए । यसै क्रममा ‘भर्खरै राप्रपाबाट अध्यक्षमा निर्वाचित भएर आएका राजेन्द्र लिङ्देनले नेताहरु गाउँमा आए भने गाउँलेहरुले ऊ हेर चोर आयो भन्छन्’ भनेर दिएको मन्तव्यको प्रतिउत्तरमा प्रचण्डले के हामी नेता गाउँमा गयौँ भने हामीलाई चोर भन्छन् त भनेर राखेको प्रश्नमा प्रायः त्यो भेलामा उपस्थित सबै सहभागीहरुले आफ्नो उत्तरमा हो भन्छन्, भनी प्रतिक्रिया जनाए । त्यो प्रतिक्रियाले तिल्मिलाएका प्रचण्डले तुरुन्तै सफाइ पेस गर्दै त्यस्तो होइन भन्दैनन् भनी थप स्पष्टीकरण दिन खोज्दा पनि हो चोरै भन्छन् भनी सहभागीहरुले थप दोहोर्याएरै प्रतिक्रिया जनाए । तत्पश्चात् प्रचण्डले अन्ततः बाध्य भएर कुरा अन्तै मोड्नुपरेको पछिल्लो घटनाक्रमले जनता तथा स्वयं विभिन्न दलका कार्यकर्ताहरुसमेतको अन्तरात्मा यी ठगालु नेताहरुदेखि कति आक्रोशित र आन्दोलित रहेछन् भन्ने कुरा स्पष्टरुपमा प्रमाणित भएको छ ।

पञ्चायत कालमा पनि शासकहरुबाट हरेक क्षेत्रमा जनजनहरु पक्कै ठगिएका थए । राजनीतिकरुपमा होस् या आर्थिकरुपमा, त्यति बेलाका राजनीतिक अंशियारहरुले ठग्न कुनै पनि जनलाई बाँकी राखेनन् । अरु त अरु, आफ्नै सहयात्रीहरु पनि ठगीको मारमा परेका बग्रेल्ती उदाहरणहरु छन् । त्यति बेला पञ्चायती तानाशाहीबाट देशलाई उन्मुक्ति प्रदान गरे पनि वर्तमान शासकहरुबाट पञ्चायती शासकहरुले ठगेको भन्दा पनि कैयौँ गुणा जनजनलाई झुक्याउँदै ठग्ने काम गर्न पुगे, जुन सामान्य जन र कुनै पनि कार्यकर्ताले कल्पनासम्म पनि गरेका थिएनन् । वर्तमान शासकहरुलाई आफूहरुले गरेको कुकृत्यप्रति सामान्य आत्मग्लानिसम्म पनि भएको प्रतीत हुन सकेन । जतिपटक झुक्याएर ठगे पनि किन हामीले जनता, कार्यकर्तादेखि लिएर समस्त देशलाई ठगिरहेका छौँ भन्ने आफूले आफूलाई प्रश्न सोध्ने कहिल्यै आँट गरेनन् । उनीहरुमा पलाएको ठगाइको रोग उनीहरुमा मात्र सीमित रहेन । राज्यका प्रत्येक निकायहरुलाई कसरी ठगी गरेर नाजायज सम्पत्ति कमाउन सकिन्छ भन्दै उल्टो उत्प्रेरित गरिरहे । आफूलाई लागेको रोग राज्यका प्रत्येक अंगहरुमा सार्दै गए ।

ठग्नु हुन्न, ठग्नु अपराध हो भन्दै ठगीको परिभाषा दिँदै आफैँले कानुन बनाएर देशमा लागू गरे अनि त्यही कानुनलाई आफैँले धोती लगाउँदै यो र त्यो नाउँमा राजनीतिकदेखि लिएर हरेक प्रकारका ठगी धन्दा सञ्चालन गरिभ्याए र त्यसको निरन्तरता जारी नै राखे । अरु त अरु, यो आलेख तयार पार्दाको दिन देखिएका केही समाचारहरुलाई हेर्दा र नियाल्दा राजनीतिक अंशियारहरुले देशलाई कस्तो जर्जर अवस्थामा पुर्याएछन् भन्ने कुराको आभास हुन्छ । काठमाडौं महानगरपालिकाका केही कर्मचारीहरुलाई अख्तियारले मुद्दा चलाएपछि काठमाडौं महानगरपालिकाका कामहरु अहिले ठप्प प्रायः छन् । निर्वाचित भएपछि सय दिनमा एकसय एक काम भ्याइसक्ने मेयरज्यूको प्रतिबद्धताका कामहरु त यस्ता–यस्ता कामहरु रहेछन् भन्ने कुराको जनजनमा अब विवाद देखिएन ।

यो त महानगरपालिकाभित्र भएका बेथितिहरुलाई छोप्दा–छोप्दा छोप्ने साधन नै नभएर बाहिर निस्केको एउटा सानो सांकेतिक रुप मात्र हो । साँच्चै नै ती छोपिएका कुकृत्यहरुलाई बाहिर निकाल्न सक्ने कुनै योद्धा त्यहाँ पुगेर बाहिर निकाल्ने हो भने प्रत्येक जन यस्तालाई आफ्नो मत प्रदान गरेर, प्रतिनिधि बनाएर पठाएकोमा आफूले आफूलाई धिक्कार्नसम्म धिक्कार्ने छन् । त्यस्तै अर्को समाचार सार्क ल नेपालले वर्तमान प्रधानन्यायाधीशको राजीनामा मागेछ । भलै प्रधानन्यायाधीशका ठूलठूला कमजोरीहरु आफ्ना ठाउँमा पक्कै छन् तर खासै सरोकार नभएका निकायहरुले देशको प्रधानन्यायाधीशको राजीनामा माग्दै हिँड्ने शैली कत्तिको उपयुक्त हुन्छ ? के यस किसिमको कार्यले देशको न्यायपालिकामा देखा परेका विकृतिहरु निर्मूल हुन्छन् ? प्रश्न प्रत्येक दिन गम्भीर र जटिल हुँदै गइरहेको छ ।

प्रत्येक जनतालाई राजनीतिकरुपमा झुक्याई ठगी गर्ने राजनीतिक ठगहरुलाई उनीहरुले नै बनाएको ठगीसम्बन्धी कानुन अनुसार कार्यवाही हुनुपर्ने माग उठ्न थालेको छ ।

उनीहरुले बनाएको ठगीसम्बन्धी कानुनमा कस्तो काम गरेमा ठगी गरेको कार्य हुन जान्छ भनी आफैँले स्पष्ट व्यवस्था गरेका छन् । उनीहरुले नै बनाएको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ मा ठगीको स्पष्ट परिभाषा उनीहरु आफैँले गरेका छन् । उक्त ऐनको परिच्छेदको दफा २४९ को उपदफा (१) मा कसैले ठगी गर्न वा गराउन हुँदैन भन्दै उपदफा (२) मा उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि–नोक्सानी वा क्षति पुर्याएमा आफ्नो वा अरुको लागि लाभ प्राप्त गरेमा निजले ठगी गरेको ठहर्छ भनेर स्पष्टरुपमा परिभाषित गरिएको छ । ठगीको अवस्था हेरी बढीमा दश वर्षसम्म कैद र एक लाखसम्म जरिबानाको व्यवस्थासमेत गरिएको छ भने यसैका उपदफा (४) मा बालबालिका, होस ठेगानमा नरहेको व्यक्ति, असहाय निरक्षर वा ७५ वर्षमाथिको व्यक्तिलाई ठगी गरेमा उपदफा (३) मा लेखिएको सजायँमा थप एक वर्ष कैद सजाय हुने व्यवस्था गरिएको छ । याद रहोस्, कुनै पनि राजनीतिकर्मीले कुनै पनि राजनीतिक रुपमै ठगी गरेमा पनि उन्मुक्ति पाउने व्यवस्था यो ऐनमा छैन ।

जीवनका हरेक पाटामा केही निःस्वार्थ र त्यागसम्बन्धी कुराहरुले महत्वपूर्ण अर्थ राखेजस्तै राजनीति सत्ताको महत्वपूर्ण भर्याङ भए पनि राजनीतिमा निःस्वार्थ सेवा र त्यागले महत्वपूर्ण अर्थ राख्छ ।

नागरिकका लागि विभिन्न महत्वपूर्ण मानिएका कुनै पनि विषयको सवालमा पहिलो सत्यता, दोस्रो सम्बन्धित विषयहरुबारे सेवा दिने र सेवा लिनेबीचका आचरण अनि तेस्रो विषयबारेको सार्थक परिणाम निकाल्ने खालका बहसहरुले महत्वपूर्ण अर्थ राख्दछन् । आजभोलि सत्य र जसरी पनि धन आर्जन गर्ने सोचको बीचमा कसले बाजी मार्ने हो भनेर प्रायः सदैव लडाइँ भैरहेको हुन्छ । सत्य र जसरी पनि धन आर्जन गर्ने सोचको बीचमा पलाइरहेको प्रतिस्पर्धाले देशमा न्याय हार्न पुगेको छ । नैतिकता हार्न पुगेको छ । विधि र कानुन हार्न पुगेको छ अनि देशको संविधान हार्न पुगेको छ ।

रोगीको पक्षमा जोडिएको डाक्टरले रोग चाँडो निको पार्नको लागि, यात्रुमा जोडिएको चालक वा पाइलटले यात्रुहरूलाई तोकिएको स्थानमा सुरक्षित अवतरणका लागि, मुद्दाका पक्ष–विपक्षहरूमा जोडिएका वकिलहरू र न्याय प्रदान गर्छु भनेर न्यायको कुर्सीमा विराजमान न्यायाधीश दुवै पक्षले न्याय प्राप्त भएको महसुस गराउनको लागि र राजनीतिकर्मीले सेवामुखी भावनाबाट अभिपे्ररित भई देशमा शान्ति सुव्यवस्था, कानुनको पालना, भ्रष्टाचारमुक्त समाज र निकायको स्थापना अनि कार्यान्वयनमा आफ्नो भूमिकालाई सदैव विवादमुक्त बनाइराख्न सक्नुपर्छ । डाक्टरको सामान्य त्रुटि वा लापरबाहीले रोगीको मृत्यु हुन सक्छ । चालक वा पाइलटको सामान्य त्रुटिले यात्रुहरू दुर्घटनामा पर्न सक्छन् । वकिल र न्यायाधीशको गलत आचरण अनि रवैयाले मुद्दाका पक्षहरूले अन्याय सहनुपर्छ र राजनीतिकर्मीले सेवामुखीको सट्टा अर्थमुखी भावनाबाट अभिपे्ररित भई कार्य गर्न पुगेमा देशमा शान्ति सुव्यवस्था, कानुनको पालना, भ्रष्टाचारमुक्त समाज/निकायको स्थापना अनि कार्यान्वयनमा कतै टेवा पुग्दैन र यी सबै क्षेत्रहरु पङ्गु बन्न पुग्छन् । हाम्रो देश अहिले यही अवस्थामा छ ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)
[email protected]

प्रतिक्रिया दिनुहोस्