काष्ठमण्डप एउटै रुखबाट नभई एकै जातको रुखबाट बनेको



वि.सं. २०७२ को महाभूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण भएसँगै अब एउटै रुखबाट नभई एकै जात अग्राखको रुखबाट बनेको मन्दिरको परिभाषामा परिणत भएको छ । ने.सं. २६२ लक्ष्मीकामदेवको राज्यकालमा काठमाडौं नगरको केन्द्रस्थल काष्ठमण्डपलाई नेपालभाषामा मरु सतः भनिन्छ । तर २०७२ सालको महाभूकम्पले जगैदेखि भत्किएर पुनर्निर्माण सम्पन्न काष्ठमण्डपले एउटै रुखबाट बनेको परिभाषा फेरिएर एउटै जातको रुखबाट बनेको परिभाषा पाएको हो ।

कल्पवृक्ष उपनामले प्रख्यात काष्ठमण्डप बनाएर बाँकी काठहरु हनुमानढोकाको पुरानो डी.एस.पी. कार्यालयमा राखिएको र भूकम्पबाट खण्डित गोरखनाथ सतलको चार कुनामा रहेको चार गणेशका मूर्ति पुरातत्व विभागमा राखी नयाँ हुबहु प्रतिकृति मूर्ति थापना गर्नुपरेको समितिका अध्यक्ष तथा प्रदेशसभाका सभासद राजेश शाक्यले बाध्यता जाहेर गर्नुभयो । तर काठमाडौं नगर बसाउँदा म्हेपीलाई मञ्जुश्रीको खड्गको शिर र पचलीलाई बिँड बनाई चारैतिर अष्टमातृका गणसहित कलिगत संवत ३८२५ मा प्रतिष्ठापित गरेको तथ्य पाइन्छ । जीवित देवीको रथारोहणमा थने अर्थात् माथिल्लो टोल र कोने तल्लो टोल परिक्रमा गरिँदा मरु सतः काष्ठमण्डपलाई बीच केन्द्र शून्यस्थललाई मरु भनियो । जहाँ मरु गणेश, मरु हटी ढुङगेधारा र मरु बही प्रतिष्ठापित भएजस्तै मरु सतः काष्ठमण्डप पनि प्रतिष्ठापित भएको कथन छ ।

मरु सतःको सात्विक अर्थ केन्द्रीय शून्यस्थलमा बनेको पाटी हो । शून्यस्थललाई अझै वास्तुकलायुक्त बनाउँदै लान सतलको माझ गुरु गोरखनाथ र सतलको चारैतिर चार गणेश– चन्द्र विनायक चाबहिल, सूर्य विनायक भक्तपुर, कार्य विनायक बुङगमति ललितपुर र जल विनायक चोभार कीर्तिपुर प्रतिष्ठापित गराइयो । जुन पाँचवटै पुरातात्विक मूर्तिहरु ०७२ सालको भुकम्पले खण्डित गरेको भन्दै प्रदेश सभासद तथा निर्माण समितिका अध्यक्ष राजेश शाक्य, पुरातत्व विभागका पूर्वनिर्देशक भेषराज दाहाल, वास्तुविद् प्रा. सुदर्शन तिवारीको टोलीद्वारा सो ठाउँमा नया मूर्ति राखिए । खण्डित मूर्ति पूजा गर्न नहुने भएकोले नयाँ मूर्ति थापिएको भनियो तर विश्व सम्पदा क्षेत्रभित्रको ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदालाई संरक्षण महासन्धी १९७२ नेपालको संविधानको धारा २७ र ३२ ले बर्खिलाप बताएको छ ।

नेपालको संविधान प्रचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ (ग) मा कुनै पुरातात्विक वस्तु नष्ट गरे, भत्काए, हटाए वा परिवर्तन गरे बिगो बमोजिमको रकम असुलउपर गरी पाँच हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्ष कैद हुने कानुनी व्यवस्था छ । कानुनी झमेलाबाट मुक्तिका लागि नयाँ मूर्तिसँगै पुरानो मूर्ति पनि राख्नुपर्ने देखिन्छ ।

विशालकाय अग्राखको एउटै काठबाट बनेको भनिएको मरु सतः काष्ठमण्डप बनाएर बचेको काठबाट सिल्यो सतः (सिंह सतल) बनेको बताइन्छ र त्यो रुखको जराजुरीबाट कुमारी छेंसँगैको सिंखोमु तरुमुल महाविहार बनेको आख्यान प्रख्यात छ । तर सो किंवदन्तीबारे अनुसन्धान आवश्यक छ भने पुनर्निर्मित काष्ठमण्डपमा कति प्रतिशत पुरानै काठ, माटो, इँटा पुनः प्रयोग भयो, तथ्यसहित विवरण राख्नुपर्ने देखिन्छ । ऐतिहासिक तथ्यविना पुरातात्विक संरचनामा नयाँ–नयाँ संरचना मात्र थप्दै जाने हो भने पुनर्निर्माणको नाउँमा देशभर धरहरा नै धरहराजस्तै बन्दै जाने निश्चित छ ।

मरुगणेश र बीचकेन्द्र :
भनिन्छ, राजा गुणकामदेवले काठमाडौं नगर बसाउँदा माथिल्लो भागलाई थँहिटी, तल्लोलाई कोहिटी र बीचलाई मरूहिटी भनियो । नगरको माथिल्लो बुद्ध बिहार थँवही र तल्लो विहार, कोहिटी वहीजस्तै मरूवही, मरू सतः (काष्ठमण्डप) जस्तै मरू गणेश नाउँ रह्यो । १२ वर्षमा किराती राजा गास्तीका वंशज गथुमालीका पचली भैरवसँग गद्दिनसीन राजाले खड्ग साट्ने केन्द्र भूतीशः छ । भनिन्छ, मरु गणेशस्थानमा अशोक जातको रूख थियो । एक दिन रूखमुनि देवताहरूको भेलामा भुँडी गणेश छुचुन्द्रो चढेर ढिलो पुग्दा चन्द्रमाले खिसी गर्दै हाँस्न थालेछन् । क्रुद्ध गणेशले चन्द्रमालाई जसले रातमा तँलाई देख्छ चोर बनोस् भनी श्राप दिएछन् । भयभित देवताहरूको आग्रहमा श्राप त फिर्ता लिए तर अँलाथ्व चथाःको दाग नमेटिएपछि चोर्न जाने चलन चलेको बताइन्छ । सोही दिन लाय्कूवहीका लीलावज्रले ने.सं. १३९मा जीवन्यास गरी मरुगणेश स्थापना गराए । धर्मना मानन्धर र ज्यापु भेलाले दशैं चथाको दिन बुसाँध जात्रा चलाएका हुन् ।

मरूवही धर्मश्री महाविहार :
मरूबाट मरूहिटीतर्फ उँचो भागमा चैत्यसहित प्रतिष्ठापित विहार मैत्रेय् बुद्धप्रति मरूवही, धर्मश्री महाविहार हो । ने.सं. ८०२ को मरूवही ने.सं. ८८० मा जीर्णोद्वार भएको खुल्छ ।

मरूहिटी र सन्तानेश्वर महादेव :
मरूहिटी काठमाडौं नगरको केन्द्रीय ढुंगेधारा हो । बुद्धमूर्ति अंकित मरूहिटी राजा गुणकामदेवकाद्वारा नगर व्यवस्था क्रममा बनेको हो । मरूहिटीसँगै सन्तानेश्वर छ । ने.सं. ९०३ मा निर्मित देवस्थलमा सोमबार र शनिबार बच्चाको कामना गर्दै धाउँछन् । सन्तानेश्वरकै भाकलबाट राजा पृथ्वी वीरविक्रम शाह जन्मिएको कथन छ ।

सिल्यो सतः (सिंह सतल) :
भनिन्छ, काष्ठमण्डप बनाई उब्रिएको काठबाट बन्यो, सिल्योसतः । ने.सं. १०४० मा तहविलका धमना सायमी (धर्मनारायण)को घर निर्माण गर्दा भेटिएको कृष्णनारायणको मूर्ति र सतलको चार कुनामा पन्छी सिंहको धातु मूर्ति प्रतिष्ठित पछि सिल्यो सतः भनियो । काष्ठमण्डप, सिल्योसतः बनाएर पनि बाँकी जराजुरीबाट श्रीखण्ड तरूमूल महाविहार निर्माण भएको बताइन्छ ।

कुमारी छें र सिंखोंमु तरूमूल महाविहार :
काठमाडौं नगरकै केन्द्रय स्थलमा मातृशक्ति नेपालको प्रमाण हो, जीवितदेवी कुमारी । जीवन्त संस्कार इन्द्रजात्रामा राष्ट्रप्रमुखबाट वसन्तपुर कुमारी दर्शन र रथारोहण हुँदै नै छ । आख्यानअनुसार राजा जयप्रकाश मल्ल र तलेजु भवानीबीच पासा खेल्दै राज्यबारे छलफल हुन्थ्यो रे । एकदिन राजाले तलेजुको हात देखेर कुभावना उब्जाएछन् । सो कुरा थाहा पाई देवीले अबदेखि प्रत्यक्ष नदेखिने, सल्लाहदिन शाक्यकन्याको शरीरमा प्रवेश गर्नेछु भनी अलप भइछन् ।

राजालाई सपनामा कुमारीले रथारोहण गर्न दिएको आदेशमुताबिक राजाले ने.सं. ८७६ मा श्रीखण्डतरूमूल महाविहारकै एक पातोलाई कुमारी घरको रूप दिई भाद्र शुक्ल चौथीदेखि पूर्णिमासम्म ८ दिन इन्द्रजात्राको बेला श्री कुमारी, श्री भैरव र श्री गणेशको रथारोहण प्रारम्भ गराए । काष्ठकलाको ज्वलन्त नमुना कुमारी छेँ ने.सं. ८८० गुरूजु पल्टन तुयुख्वाको नेतृत्वमा बनेको बताइन्छ । ने.सं. ८८८ मा गोर्खाका राजा पृथ्वीनारायणबाट नेपाल एकीकरण गर्दै हनुमानढोकाको राजगद्दीमा जब बसे, उनै तुयुख्वा आजुको नेतृत्वमा पुगेको सेनाले जीवित देवी कुमारी र नेवार संस्कृतिलाई मान्छौं भने राजा मान्छौं भनी बाचा गराएछन् । त्यसैदेखि राष्ट्रप्रमुखलाई नेवार समाजमा भित्र्याई कुमारी दर्शन गर्दै आइरहेको बताइन्छ ।

सिंखोमु बहा :
सिंखोमु बहाल (श्रीखण्ड तरूमूल महाविहार) निर्माणको आख्यानअनुसार, ने.सं. २६२ मा राजा लक्ष्मीकामदेवले काष्ठमण्डप बनाएर बचेको काठबाट सिल्यो सतः (सिंह सतल) बन्यो भने, त्यसबाट बचेको जराजुरीको प्रयोग गरी श्रीखण्ड तरूमूल महाविहार बनाइयो । त्यसै कारण नेपालभाषामा यस विहारलाई सिंखोंमु विहार भनियो । मैत्रेय बुद्धप्रति समर्पित विहारमा बौद्धधर्मको मान्यताअनुसार पापीले भोग्नुपर्ने १० विपाक चित्रमा कुँदिएको छ । १८ वज्रयानी महाविहारमध्ये सिंखोंमु बहाः उपत्यकाकै ठूलो विहार मानिन्छ ।

त्रैलोक्यमोहन नारायण मन्दिर (दश अवतार देगल) :
सन्तपुरमा सिंखोंमु वहालसँगै ठडिएको तीनतले पैगोडाशैलीको त्रैलोक्यमोहन नारायण मन्दिर राजा नृपेन्द्र मल्लको सम्झनामा अर्का भाइ राजा पार्थिवेन्द्र मल्लले ने.सं. ८५७ मा निर्माण गराएका हुन् । इन्द्रजात्राको ८ दिन राति दश अवतारको झाँकी देखाउने यस देवस्थललाई दश अवतार देगलको रूपमा चिन्दछन् । मन्दिरसँगै ने.सं. ८६६ मा राजमाता ऋद्धिलक्ष्मीद्वारा निर्मित हात जोडेको गरूडमूर्ति छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्