अर्थ र राष्ट्र बैंकको कदमको प्रभाव शेयर बजारमा



काठमाडौं, (नेस) ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले सोमबार उठाएको कदमको सकारात्मक कदम मंगलबार शेयर बजारमा परेको छ । नेपाल राष्ट्र बैंकले सोमबार केही वस्तुको आयातमा सीमा लगाएको थियो भने अर्थ मन्त्रालयले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो । वित्तीय क्षेत्र तरलता अभावमा गुज्रिरहेको बेला सरकारको यस कदमको प्रभाव शेयर बजारमा परेको विश्लेषण गरिएको छ ।

मंगलबार कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार सुधार भएको हो । यस दिन नेप्से परिसूचक ५६ दशमलव ७३ अंकले बढेर २४१५ दशमलव ५५ अंकमा पुगेको छ ।

कुल २२६ कम्पनीको ४९ लाख ७४ हजार कित्ता शेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पु“जीकरण ३३ खर्ब ९६ अर्ब ३२ करोड १३ लाख १० हजार रुपियाँको हाराहारीमा पुगेको छ । यस दिन कारोबार भएका सबै १३समूहको सूचक वृद्धि भएको छ । जसमध्ये बैंकिङ ३२ दशमलव ९१, व्यापार ६९ दशमलव ८२, होटल तथा पर्यटन ५४ दशमलव शून्य ३, विकास बैंंक १३७ दशमलव ८८, जलविद्युत् ३७ दशमलव ९२, निर्जीवन बीमा २०४ दशमलव ३४, उत्पादन १७० दशमलव १, अन्य ७० दशमलव ४९, लघुवित्त ९० दशमलव ७१, जीवन बीमा २०६ दशमलव ५८, सामूहिक लगानी कोष शून्य दशमलव १२ र लगानी १ दशमलव ४२ अंकले बढेको छ । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ५८ लाख ६९ हजार रुपियाँको कारोबार भयो । नबिल बैंकको १४ करोड १८ लाख चार हजार, नेपाल दूरसञ्चार कम्पनीको १० करोड ३९ लाख ३८ हजार, मञ्जुश्री फाइनान्सको ७ करोड ५५ लाख ६५ हजार र एनएमबि बैंक ६ करोड ४८ लाख २५ हजारको कारोबार भएको छ ।

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स ९दशमलव ८१, रसुवागढी हाइड्रोपावर ९दशमलव २१, ग्रीनलाइफ हाइड्रोपावर ८ दशमलव २६, र रिलायन्स फाइनान्सको ७ दशमलव ९३ प्रतिशतले शेयर मूल्य बढ्दा गोर्खाज फाइनान्सको ८ दशमलव ८९, नबिल ब्यालेन्स फण्ड ३ दशमलव ५२, तेह्रथुम पावर कम्पनी ३ दशमलव २६, एनएमबि डिवेञ्चर २ दशमलव ५० प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्