पुस्तान्तरित विसङ्गति र निष्ठाहीन राजनीति



हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालले ‘महापुरुषको सङ्गत’ निबन्धमा आठजना महापुरुषहरू खाजेका छन् । निबन्धकारले त्यहाँ लम्बरी पण्डितले धेरै मोल आए गोरु बेच्ने नत्र बाहुनले गाई–गोरु बेच्नु नहुने तर्कबाजका पात्रलाई राखेर मीठो व्यङ्ग्य गरेका छन् । महास्वार्थी प्रवृत्तिको पराकाष्ठा निबन्धमा कलात्मक ढाँचामा प्रस्तुत भएको छ । आफ्नो बखान आफौँ गर्दै हिँड्ने तर नामचाहिँ सद्गुणानन्द भएका अर्का पात्र छन् । यथार्थमा यस निबन्धले नेतृत्वको स्वभाव र आचरणमा प्रश्न उठाएको छ । वास्तवमा नेतृत्वको नियतका कारण मुलुकको नियतिमा ठूलो आघात भइरहेको छ । विकासमा खर्चिनुपर्ने उन्नत समय सधैँ स्वार्थ, किचलो, अस्थिरता, सत्तालिप्साजस्ता राजनीतिगत कलुषित व्यवहारको गोलघरमा खर्चिएको छ ।

निबन्धकार अर्यालले निबन्धमा चयन गरेका आठजना पात्रमध्ये ‘बुहारीको जिउ होस् या त बिरालीको घिउ’ जे बेचेर भए पनि पैसा नै कमाउने कालु साहु, यौनभोगी पण्डित गोपी गुरु, यसो विदेश पसिसक्दा भाषा र संस्कृति बिर्सने दाहाल बाबु भन्ने मान्छे स्वदेश फर्किसक्दा ‘मिस्टर ड्याल बाउ’ लगायतका गज्जबका पात्र र यथार्थ प्रसङ्ग आज पनि सुधारको बाटोमा देखिँदैन । उस्तै नै लाग्छन् अनि हामी जनता पनि कसैको पिछलग्गु मात्रै भइरह्यौँ । यो समय विचारको सङ्क्रमण र स्वार्थको बाध्यताले प्रभुत्व जमाएको छ ।

जनता असमञ्जसमा कुँजिएर बसेका छन् । समाज र राजनीतिभित्रका कलुषित आचरण र प्रवृत्तिले मुलुक नै विसङ्गतिभित्र जकडिएको छ । स्वभाव पाखण्डी भए पनि नेता नेतै हुने, निष्ठा र अनुशासन नभए पनि नेता नै हुने कुसंस्कारले राजनीतिमा असल व्यक्ति को छ भनेर खुट्याउनै सकिँदैन । स्थानीय तहमा समेत मतलबी समाजको प्रभुत्व हाबी हुँदै गएको छ । यसको मूल कारण काम गरेर देखाउनभन्दा काम नगरेर झुक्याउन चाहनेको अचम्मको प्रतिस्पर्धामा होडबाजी देखिन्छ । अनि, मान्छे कसैलाई बोकेर दगुरेको छ । उसका कमजोरीलाई ढाकछोप गर्ने नियतका कारण न्यायालयसमेत राजनीतिक अखडा हो कि भन्ने शंका उब्जिन्छ । अहिलेको अर्को ठूलो समस्या भनेको स्वच्छ पत्रकारिताको खडेरी हुनु पनि हो । राजनीतिले पत्रकारिता र सञ्चारलाई समेत नराम्ररी गाँजेको भान नहुने पटक्कै होइन । यसर्थ विसङ्गतिका लप्काले देश अर्धानो भएको जस्तो लाग्छ ।

हिजो एउटा समयमा राजतन्त्रको विरोध गर्दा असत्य हुन्थ्यो । त्यो असान्दर्भिक लाग्थ्यो । त्यतिखेर त सर्वहारा वर्गलाई नै ‘म सर्वहारा हुँ’ भन्ने थाहा थिएन । तथापि, राजतन्त्रात्मक व्यवस्थामा पनि त विकास र शान्तिकै पक्षमा नारा त घन्किन्थे नै । त्यतिखेर एक व्यक्ति र सीमित मान्छेको चाकडी गरेर केन्द्रीकरणको राजनीति हुन्थ्यो । बहुदलीय व्यवस्था भए पनि २०४६ पछि भ्रष्टाचार, स्नार्थ र गुटबन्दीको अभ्यासले त्याग र निष्ठा रहेन । संघीय पद्धतिमा रहँदासम्म पनि वर्तमान समाज र राजनीति चाकडी र स्वार्थमा अल्मलिइरहेकै छ । स्वार्थको विषवृक्ष त झनै बहुल व्यक्तिमा विभाजित छ । चाकडीमा पनि उपचाकडीको कस्वार्थ हिजोको तुलनामा तीन तहको सरकारदेखि कर्मचारीतन्त्रसम्म हलाहल विष जसरी फैलिएको छ । एउटा सत्य हिजोको एकतन्त्रात्मक व्यवस्थामा पनि थियो किनभने त्यो स्थापित स्वार्थको तहमा पनि देशको स्वार्थतिर उन्मुख राजनीतिक पद्दति चाहिँ थियो ।

स्वार्थको हिसाबमा त त्यतिखेर पनि जनताको समृद्धिकै अपेक्षा नगरिएको होइन तर आफ्नो हालीमुहाली होओस् र रहिरहोस् भन्ने एउटा सोचले प्रश्रय पाइरहेको हो । आजसम्म पनि स्वच्छता, निष्पक्षता, निःस्वार्थपनको अभाव वस्तुतः कायम छ । जनताले हजुर्याईँ गर्नुपर्ने बाध्यता तब पनि यथावत् छ ।

राजतन्त्रमाचाहिँ अकाट्य शासन अनि विकासको कुरा जोड्दै लैजाने केन्द्रीकरणको सोचले परिवर्तनको कुरा कछुवा गतिमा चलेको देखिन्थ्यो । जीवनशैली बढी परम्परागत थियो । मान्छे आफ्नो तरिकाले गरिखान्थे । बाटाघाटा गाउँगाउँमा पुगेका थिएनन् । प्रविधिले फड्को मारेको थिएन । त्यो क्षण, परिवेश र सोचलाई हेर्दा मानिसहरू चिया गफभन्दा पेटको समस्या र आफ्नै कर्मतिर अल्झिएका देखिन्थे । जनतामा परिवर्तनको सोच जगाउने काम शिक्षाबाटै अलिक बढी भयो । पढालेखाहरूले नै समाज र व्यवस्थामा सुधारको अपेक्षा गरिरहँदा माओवादी द्वन्द्वले विकासको मार्गमा अवरुद्ध पारिदियो । भएका संरचना पनि बरु भत्काइए । जनतामा राज्य पक्ष र द्वन्द्व पक्षधर दुवैका कारणले त्रासैत्रासमा जिउनुपरेकाले सिर्जना र विकास गर्ने परिवेश भएन । तब मानिसले सुरक्षित स्थान रोज्नुपर्ने बाध्यताका कारण सहरतिर बस्नेको सङ्ख्या बढ्यो ।

तथापि, त्यो घटनाले विकासका लक्ष्यलाई पछाडितिर धकेलिदिएको भए पनि चेतनाको दैलो उघार्ने देनलाई पटक्कै बिर्सन मिल्दैन । जनलहरभित्र एउटा अधिकारको आवाज उठाउने श्रेय तत्कालीन द्वन्द्वरत माओवादी पार्टीलाई जान्छ । यद्यपि, परिणामको समीक्षामा चाहिँ विपरीत अर्थबोध हुनु स्वाभाविकै हो किनभने माओवादी आन्दोलनको नेतृत्व गरेका प्रचण्ड सबैभन्दा धेरै समय सत्तापक्षभित्रै देखिनेमध्येमा पर्नुहुन्छ । उहाँ जुन जुक्ति लाएर भए पनि सत्ताका वरिपरि घुम्नेभित्रै गनिनुहुन्छ । चाहे कांग्रेससँग मिलेर होस् या कम्युनिस्ट एकताका सवालमा नेकपा एमालेसँग मिलेर नै पनि उहाँलाई सायदै प्रतिपक्षमा बसेको देख्नुपरिरहेको छैन । निर्णायक बन्न नसके पनि गणतन्त्र र लोकतन्त्रको परिकल्पना गर्ने भूमिकाका लागि उहाँले आफ्नो हिजोको कर्मको फाइदा लिइरहनुभएको छ भन्दा अत्युक्ति नहोला ।

अब आजकै कुरा गर्ने हो भनेचाहिँ नेतृत्वमा अवसरका आशाले विचार र व्यवहारमा स्खलन भइरहने, अन्तरविरोध हुने अनि गुटवाद हाबी हुने अस्थिरताको चपेटामा आम नेपाली जनता प्रत्यक्ष परोक्ष दुवै रूपमा प्रताडित छन् । विकासको काममा भन्दा पार्टीको समस्या सुल्झाउनैमा यसअघिको सरकार लाग्यो । संविधानको मर्म र मर्यादालाई कुल्चियो । तसर्थ अब पचास वर्ष राजनीति गर्छौँ भन्नेहरू नै आज तीनतिर देखिएका छन् । जनता फेरि स्यालको हुइँया भजन विभाजित भएर भजन गाइरहेकै छौँ । सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेकै छौँ । चेतनाको स्तरमा गिरेकै छौँ । आलोचना गर्न माहिर छौँ तर समालोचनामा सबैभन्दा कमजोर छौँ । यसर्थ आदर्श नेतृत्वको अभावमा वैकल्पिक चिन्तनको पनि खडेरी छ । आखिर चुनावमा नहुनु मामाभन्दा कानो मामा जाति भन्दै नजिकका मान्छेलाई समर्थन गर्दै गर्दा हामीले असल र आदर्श नेतृत्वको खडेरीमा बाँचिरहनुपरेको छ । यो दशा दोहोरिरहने पिरलो कायमै छ ।

स्वार्थको र उल्टो दिशाको घडी :
आफू निष्ठा र न्यायको सत्तामा नहुनेले अरूलाई निष्ठा र त्यागको भाषण सुनाउनुको तुक रहन्न । नेतृत्व कतै न कतै पतीत छ चाहे पद वा स्वार्थ होस् या कालोधनको सङ्कलन नै किन नहोस् । अहिले देखिएका पार्टीहरूका लडाइँ राष्ट्रिय स्वार्थका निम्ति समर्पित नभएर व्यक्तिसत्ताको वरीपरी छ । वर्षौँदेखि पार्टीलाई मुठीमा राखेर चलाउनेहरू स्वतन्त्रताको मियो मै हुँ भन्न लाजै मान्दैनन् । हिजो सडकमा पनि व्यक्ति स्वार्थको पहाड ठडिएर अन्तर विरोधको प्रहसन भएको हो । पदको लालसामा निष्ठा र न्याय कुल्चने सोचभित्र शीर्ष नेताहरू विलय देखिँदा नयाँ र जुझारु पुस्ता सूर्यको छेउमा बत्ती हुन्छन् । व्यक्तिस्वार्थजनीन सोचकै कारण हिजोको राजतन्त्रलाई निरङ्कुश भनिएको होइन र ? यो नकारात्मक प्रकृतिको घडीको सुई नितान्त उल्टो दिशामा छ ।

२०६२/०६३ को जनआन्दोलनमा त राजतन्त्र निरङ्कुश हो भनेर राजा फाल्दा छुमन्तरै हुन्छ भनेर भनिएका पनि हुन् । त्यसपछिको परिवेशमा पनि परिवर्तनले गति लिनै सकेन । सबैको दिमागमा अस्थीर सरकार भएका कारणले समस्या भयो भनियो । त्यहाँ पनि घडीको सुई सुल्टो घुमेन । तब ‘नौ महिने सरकार’ पद्दतिलाई दोष दिइँदै गइयो । संविधान नबनेको कुरालाई लिएर पनि निकै समय होहल्ला भए । संविधान पनि बल्लतल्ल १० महिनासमम्ममा जन्मनुपर्ने बच्चा १५ महिनामा जन्मे जसरी सारै कठिनले मात्रै आयो । जनवर्गीय संविधानको नाम दिइयो । राजतन्त्रको वकालत तब त बिस्तारै–बिस्तारै भुल्दै गइएकै थियो । तत्पश्चात् अझ भनौँ– स्थीर सरकार त्यसमा पनि बहुमतको सरकार बनेपछि जनताले छाती ढक्क फुलाएर भन्न पाएका थियौँ, ‘अब त घडीको सुई सुल्टो घुम्ला नि त ।’

भन्नलाई त ‘लोकतन्त्रमा पार्टी–पार्टीबिच अन्तरविरोध त भइहाल्छ नि’ भन्ने तर्क बोक्नेको पनि कमी छैन तर यदि कथमकदाचित जनताले विकल्पमा उही सडकबाट फालेको राजतन्त्रलाई सडकबाटै ल्याए भने पनि दुई धार हुने त पक्का छ । वर्तमान राप्रपाको नयाँ नेतृत्वको चयनले यो विषय एउटा चिन्तनयोग्य पनि बनेको छ । तब पनि अर्थ घडीको सुई त जसरी घुमे पनि घुम्छ नै तर अस्थीर र असन्तुष्टि कायमै रहन्छ । यो पनि अन्तिम विकल्प र अन्तिम सत्य होइन । बाम एकताको दुई पाइलटीय कथा पनि कम रोचक कहाँ थियो ।

भागबन्डा नपुगेर सडक नाटक मञ्चन गर्नेहरूको अर्को चर्को प्रहसनमा जनतालाई सडकमा डामेको होइन त ? तब बहुमतको सरकार निर्माण हुँदा जनताको मुहारमा छाएको खुशी अनायासै स्खलित भयो । केवल राजनीतिक स्वार्थ नै यसको कारण हो ।

यो केवल व्यक्तिगत स्वार्थका लागि नेताहरूले बाँधेको गुटको परिणाम हो अनि त्यही गुटलाई बोक्ने नेतालाई चाप्लुसी गरेर साथ दिने अवसरवादी कार्यकर्ताको कारणले हो । यसर्थ अबको परिवर्तनका लागि गुटगत राजनीतिको विपक्षमा रहेर गुटरहित राजनीतिको समर्थन गर्दै विकासतर्पm लम्कनु जनताको पनि दायित्व हो । विकास र समृद्धिबाहेक अरू स्वार्थको तहमा साथ नदिनु जत्तिको उत्तम उपाय अरू केही होइन । यो आम जनता र पार्टीको झण्डा बोक्ने कार्यकर्ताको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्