पार्टी महाधिवेशनको भीड र कोभिडको तेस्रो भेरिएन्ट



  • पेशल आचार्य

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको अधिवेशन शुरु भएको करिब ४ महिना भैसक्यो । त्यो सकिने छेकछन्द अझै देखिएको छैन । बीचमा एमालेले फुत्त आफ्नो विधान अधिवेशन सकेर मङ्सिर दोस्रो साता लाखौं मानिसको भीड जम्मा गरी चितवनमा १० औं महाधिवेशन शानका साथ भ्याइसक्दा पनि कांग्रेस हस्याङ्फस्याङ गर्दै भर्खर महाधिवेशनमा जुटिरहेको छ । बूढो भनेको आखिर बूढै हुँदो रहेछ, व्यक्ति होस् वा पार्टी । अहिले नागरिकहरु यसो भन्न थालेका छन् । कांग्रेस देशको जेठो बूढो पार्टी अवश्य हो । सो पार्टीका प्रभावशाली नेता गगन थापाले त एमालेको चितवनको चुनावी भाँडभैलोलाई सेटायर हान्दै ‘एमालेको ओलिवेशन र हाम्रो चाहिँ अधिवेशन’ सम्म भन्न भ्याए ।

यो त भयो थापाको कुरो । कांग्रेस नेता गगन थापाले के भन्छन् के भन्दैनन्, त्यो आम जनतालाई मतलब हुने कुरा पनि भएन । कुरो नचपाई भन्दा यतिखेरसम्म मुलुकमा सबैभन्दा व्यवस्थित राजनीतिक पार्टी भनेकै एमाले देखिएको छ । भलै त्यसले भोटर/समर्थकका आँखामा छारो हाल्नका लागि इतर पार्टी चुनावको ढ्वाङ किन नफुकोस् । हुन त उसले आफ्नो राजनीतिक गीताकै रुप दिएको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तमा इतर पार्टी चुनावका बारे सो जबज सिद्धान्तका परिकल्पनाकार दार्शनिक नेता मदन भण्डारीले बोलेकै छन् । तर उनको लिखित बोली ओलीको मौखिक बोलीका तुलनामा अब भने धिमा गतिको हुँदै गएको पक्का हो ।

यो पनि भुल्नुहुँदैन कि एमालेले यतिखेर कमरेड माधव नेपालको गुट एमालेमै कचपच गरेर बसिरहेको हुन्थ्यो भने ओली महोदयलाई यति सजिलै १० औं महाधिवेशनबाट पुनः अध्यक्षको टीका लगाउन दिने थिएन । ओलीका हकमा भने एकपटकका लागि भए पनि विधान संशोधन गरेरै ७० बर्से उमेरको हदबन्दी एमालेले तोडेको छ । यो भनेको उसका दोस्रो पुस्ताका नेताहरु सुवास नेम्वाङ र ईश्वर पोखरेलहरुलाई ओलीपछि एकाएक बिदाइ गर्ने रणनीति हो ।

महाधिवेशनमा देशभरिबाट छानिएर आएका प्रतिनिधिहरुमा ओलीका मात्र समर्थक रहेका भन्नेलाई उनले भीम रावललाई त्यत्रो मतान्तरले जितेको देखाइदिएर दह्रो जवाफ दिए । साथै भीम रावलले पनि इतर पार्टी चुनावमा दबाब, प्रभाव र अभावका बाबजुद निडर, हक्की, सैद्धान्तिक नेता भएको प्रमाण देश दुनियाँलाई दिएका छन् । यसर्थमा भीम रावल राजनीतिका डाक्टर हुनलायक नेता रहेछन् । अहिले एमालेमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने नेता र कार्यकर्ताको अन्तर्दिलबाट स्वतःस्फूर्तरुपमा निस्किरहेको यो आवाज हो । चाहे त्यसलाई ओली र उनका मौन पिछलग्गुहरुले मानून् या नमानून् ।

जिन्दगीमा सबै खेलहरु जितिँदैनन् । कतिपय खेलमा जित्दा भन्दा हार्दा शान हुन्छ । लडाइँमा सामेल भएर साथै हारेर पनि शानका साथ शिर उचो भयो भने त्यसलाई ‘बाजिगर’ भनिन्छ । भीम कमरेड एमालेका ‘बाजिगर’ भएका छन् । अर्कोपल्ट उनीझैँ अरू पनि धेरै बाजिगरहरु एमालेमा जन्मेर ओली र ओली प्रवृत्तिलाई मटियामेट पार्न सफल भए भने मात्रै एमालेको झन्डा युवा र लाखौं जुझारू कमरेडहरुले बोकेको भान हुनेछ । अर्को अर्थ नलागेमा, नत्र भने यसपटकको महाधिवेशनमा राखिएको प्रतीकात्मक एकसिँगे गैँडाको ‘मस्कट’ ले नै त्यो बोकेजस्तो हुनेछ ।

महाधिवेशनअघि र पछि जति भीम रावलले बोले त्यसको तुलनामा ओलीको टीको लगाएर पद पड्काउनेहरुले एक शब्द पनि देश र जनताका हितमा बोलेनन् । यो भनेको प्रकारान्तरले मुर्दा शान्ति नै हो । एमालेजस्तो देशको जल्दोबल्दो र आश लाग्दो पार्टीमा यसरी एक व्यक्तिका लागि ‘त्वं शरणम्’ हुने प्रवृत्तिको जबसम्म समूल अन्त्य हुँदैन तबसम्म समग्र युवाहरुले यसलाई संशयकै घेराभित्र राखेर हेरिरहने छन् । यति हुँदाहुँदै पनि ‘कानुनका डाक्टर’ भीम रावललाई ‘आठ पासे’ ओलीले कल, बल र छल सबै हत्कण्डा अपनाएर बन्दसत्रको अन्तिम समयसम्म टिक्नै दिएनन् । जुन महाधिवेशनको दृश्यमा शोभनीयसमेत देखिएन । एमालेको पार्टी पत्रकारिता गरेर राजनीतिमा उठेका भनिएका गोकुल बाँस्कोटाको अन्तर्वार्ता र ‘पपेट’ प्रवृत्तिका केही हनुमान कार्यकर्ताको लोली र बोलीले एमालेको बचेखुचेको लाजको जिनिसलाई नारायणीमै बगाएको भन्ने पनि जीवन अर्पेर लाभको पदमा नपुगेका केही कार्यकर्ताहरुका मुखारविन्दबाट सुनियो ।

यसै बीच राप्रपाले आफ्नो महाधिवेशनमार्फत मुलुकलाई मात्र नभई दक्षिण एसिया हुँदै विश्वलाई नै गतिलो शिक्षा दियो । बिचरा कमल थापाको बाँचुन्जेल पार्टी सभापति भएर राजासँग हिन्दूधर्म र राजतन्त्रका लागि गरिरहने बार्गेनिङ अब सदाका लागि अन्त्य भएको छ । उनले त फेसबुकमा स्टाटस नै लेखेर नागरिक भैसकेका पूर्वराजालाई गाली गरे । यो उनको राजनीतिक जीवनकै ठूलो असहिष्णु लेखाइमा दरियो । युवा नेतृत्वको चयन गर्दै सानो पार्टी भएर पनि राप्रपाले ठालु भनिएका कांग्रेस, एमाले, माओवादी र नेकपा एसलाई दह्रो सबक सिकाएको छ ।

मजा त त्यो बेला भयो जब रेखा थापा र कुन्तीकुमारी शाहीको फेसबुक जुहारीले दुवैलाई एकाएक भाइरल बनायो । कतिपयले राप्रपा र कांग्रेसको महाधिवेशनलाई जोडेर भन्नसमेत भ्याइसकेछन्– ‘कमल थापा हारे, रेखा थापा हारिन् र अब हार्ने पालो कांग्रेसका गगन थापाको ।’ बोल्नेका मुख थुन्न सकिन्न । कांग्रेसमा युवाहरुको वर्चश्व ल्याउन पनि गगन थापाजस्तो वाकपटुताका धनी र क्यारिस्मेटिक व्यक्तित्वले पार्टीको होस् या संसदीय चुनाव हार्नुहुँदैन । कतिपय सबालमा उनी हार्नु भनेको मात्र व्यक्ति हार्नु नभएर देश नै हार्नुसमेत देखिन्छ । विगतको सरकारको पेलान भएका बेलामा प्रतिपक्षी सांसद हुनुको धर्म निभाएर उनले प्रजातन्त्रको नम्र्स मर्न दिएनन् ।

महाशक्ति राष्ट्र चीनको औधोगिक शहर वुहानमा सन् २०१९ को डिसेम्बरमा मासु पसलबाट फैलिएको कोभिड–१९ ले आफ्नो बर्थ डे मनाउन नपाउँदै संसारव्यापी भयो । कोभिड–१९ का चौतर्फी असरहरूमध्ये लकडाउनलाई लिइन्छ । लकडाउनले बिस्तारै आफ्नो पखेटा फिँजाउँदै जाँदा उद्योगधन्दा, व्यापार÷व्यावसाय, कलकारखाना, शिक्षण संस्था, सिनेमा हल, पार्टी प्यालेस, पर्यटन, सेवा उद्योग, थोक तथा खुद्रा बजार र यातायात क्षेत्रलाई नै अकल्पनीय तवरले तहसनहस बनाउने काम गरेको कुरा हाम्रा सामु जगजाहेर नै छ ।

उद्योगी व्यापारीहरूका लागि ‘लक डाउन’ (ओरालो लाग्दो भाग्य) नै साबित भएको र त्यसको चित्र उद्योगी व्यावसायीका आँखामा झल्झली नाचिरहेको छ । नेपालले चीनमा शुरु भएकै समयमा पर्याप्त मात्रामा पूर्वतयारी गर्ने समय हुँदाहुँदै सो नगरेर देशव्यापी सङ्क्रमणको दर ह्वात्तै बढ्यो । शक्ति राष्ट्रहरूले आफूलाई यो महामारीबाट बचाउनका लागि आरडीटी, पीसीआर टेस्टदेखि लिएर कोरोना भ्याक्सिन उत्पादनसमेतलाई ध्यानमा राखी आफ्नो अर्थतन्त्रलाई पूर्णरूपमा दह्रो बनाउँदै चलायमान गराउन थाले । अर्कातिर विकासशील मुलुकहरूले चाहिँ नाकाबन्दी र लकडाउन प्रक्रियामै अल्झँदा धेरै मानिसहरूले अकालमा ज्यान गुमाए ।

अहिले फेरि तेस्रो भेरिएन्ट विश्वमा फैलन थालेका समाचारहरू तारन्तार आइरहेका छन् । अफ्रिकी मुलुकहरूबाट फैलिएको ‘ओमिक्रोन’ नामक तेस्रो भेरिएन्ट १६ वटा अफ्रिकी मुलुकहरूमा फैलिसकेको र अब त्यो भारत हुँदै नेपाल पस्ने सम्भावित डरले हालै नेपाल सरकारले ती १६ मुलुक र हङ्कङसमेत गरी १७ मुलुकहरूबाट हवाई यात्रा हुँदै नेपाल भित्रिने यात्रुहरूलाई निषेध गरेको छ ।

यसै बीच दिल्लीमा मङ्सिर दोस्रो साता दुईजना भारतीय नागरिकहरूमा यो भेरिएन्टको भाइरस देखा परेको छ । नेपाली चिकित्सकहरूले सरकारलाई बेलैमा सचेत गराइरहेका छन् तर सरकारको तयारी सुस्त छ पार्टीहरु महाधिवेशनका कुम्भमेलामा खर्किएका पण्डाझैँ देखिएका छन् । नेपाल फेरि कोरोनाको ‘हटस्पट’ बन्न सक्छ । विश्व स्वास्थ्य संगठनले नेपाललगायत विश्वका १७ देशहरूलाई ‘रेडजोन’ मा राखिसकेको छ ।

अब के हुन्छ ? नेपालीहरूमा अव्यक्त भय व्याप्त छ । व्यवसायीहका मुटुमा ढ्याङ्ग्रो ढोक्न थालिसक्यो । यस्तो अवस्थामा सरकारले सबै नागरिकहरूलाई अनिवार्यरूपमा खोपको व्यवस्था गर्नुपर्ने पहिलो सर्त हो भने नयाँ भेरिएन्टले अघि लगाएका दुई मात्रा खोपको एन्टिबडी निर्माण कार्यलाई थप सहयोग नगर्ने भएकाले फेरि ‘फ्रन्टलाइन’ मा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र यातायातकर्मीहरूलाई ‘बुस्टर डोज’ लगाउनुपर्ने आवश्यकता देखिएको छ ।

यसका लागि सरकारले पूर्ण तयारीका साथ काम गर्नुपर्ने देखिन्छ । मुलुकमा सबै मुलुकीलाई पुग्ने खोपको भण्डारण भई नसके पनि खरिद प्रक्रियामा रहेको र अहिले मुलुकमा भण्डारण भैरहेको खोपको संख्यालाई हेर्दा करिब ३ करोड खोप मौज्दात रहेको छ भने १६ वर्षमाथिका प्रायः सबै नागरिकहरूलाई खोप लाइसकिएको छ । अब नवजात शिशुदेखि १६ वर्षमुनिका बालबालिकाहरूलाई खोप दिनुपर्नेछ ।

ओमिक्रोनलाई मध्यनजर गर्दै विभिन्न ११ मुलुकबाट नेपाल आउने यात्रीले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । सीसीएमसी र स्वास्थ्य मन्त्रालयले क्वारेन्टिनमा बस्नै पर्ने बताएको छ । कानयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकी मुलुकहरूमा डरलाग्दो गरी फैलिरहेको छ । सरकारले बेल्जियम, बोत्सवाना, स्वाटिनी, लेसोथो, मोजाम्बिक, जिम्बाबे, दक्षिण अफ्रिका, बेल्जियम, हङकङ, इजरायल र तान्जेनियाबाट आउने नागरिकहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी नियम ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा यात्रुहरूलाई क्वारेन्टिनको व्यवस्था गरिनेछ । उनीहरूलाई हाल होटल क्वारेन्टिनमै राखिने बताइएको छ ।

ओमिक्रोन ९ दिनमै ३० देशहरूमा फैलिइसकेको छ । मङ्सिर १६ गतेमात्र भारतको कर्नाटकमा ओमिक्रोन सङ्क्रमित फेला परे । अनुसन्धानकर्ताका अनुसार ओमिक्रोनको फैलावट डेल्टा भरिएन्टभन्दा कैँयौं गुणा बढी छ ।

यसअघि डेल्टा भेरिएन्टकै कारण भारत र नेपालमा कोरानोको दोस्रो लहर आएको थियो । सबैभन्दा पहिलो दक्षिण अफ्रिका र बोत्सवानामा ओमिक्रोनको पहिलो केस भेटियो । यो भाइरसको ५३ म्युटेसन भइसकेको र उसको स्पाइक प्रोटिनमै ३२ म्युटेसन हुने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अब नेपालजस्तो देशमा कोभिडको तेस्रो भेरिएन्ट सुकेको खरमा आगो लागेझैँ ह्वात्तै बढ्यो भने त्यसले पुनः नेपालका उद्योग, व्यवसाय, शिक्षण संस्था, यातायात, पर्यटन र सेवा उद्योगलाई थला पार्ने कुरा निश्चित छ । विशेषज्ञको सल्लाहमा सरकारले द्रूतत्तर गतिमा कोभिड अस्पताल, आइसोलेसन सेन्टर, सीमा नाकामा चेक जाँच, केन्द्रका साथै सबै उमेर समूहका नागरिकमा खोप अभियान चलाएर भौतिक एवं सामाजिक दूरी अपनाउन लगाउँदै माक्स प्रयोगमा कडाइ नगरी यो महामारी कम हुने छाँट देखिन्न ।

प्रतिक्रिया दिनुहोस्