समाजवादी प्रेसको घोषणासभा कात्तिक २७ र राष्ट्रिय भेला पुस ५ मा


काठमाडौँ ।

समाजवादी प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला–२०७८ आगामी पुस ५ गते गरिने भएको छ । भेला चितवन वा हेटाँँैडामा गरिने जनाइएको छ । गत भदौ १० गते सङ्गठन स्थापना गरिने निर्णय भएको थियो । सङ्गठनका २०१ सदस्यीय संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम एवं जिम्मेवारी यही कात्तिक २७ गते आयोजना गरिने घोषणासभाबाट सार्वजनिक गरिनेछ ।

सङ्गठनले गत वर्ष पुस ५ मा गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई नेपालको इतिहासमा असंवैधानिक दिन मानी सोको भण्डाफोर गर्ने दिनका रूपमा उपयोग गर्ने निर्णय गरेको संस्थापक संयोजक शम्भु श्रेष्ठले जारी गरेको अन्तर सङ्गठन निर्देशनमा उल्लेख छ ।

राष्ट्रिय भेलाले सङ्गठनका नीति, कार्यक्रम, कार्यदिशा र आगामी कार्ययोजना निर्माण गर्ने, विधानबमोजिम १५१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य चयन गर्ने र राष्ट्रिय सम्मेलनको मिति तय गर्ने जनाइएको छ ।

यही कात्तिक १२ गते काठमाडौँमा उपलब्ध संस्थापक केन्द्रीय तदर्थ कमिटीका सदस्यको बैठकले सङ्गठनलाई प्रशासनिक निकायमा छिट्टै दर्ता गर्ने जनाएको छ । बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव, प्रचार विभागका प्रमुख एवं सङ्गठनका इञ्चार्ज जगन्नाथ खतिवडा, पार्टी केन्द्रीय कमिटी सदस्य चमिना भट्टराई र अशेष घिमिरे उपस्थित हुनुहुन्थ्यो ।

तोकिनुभएका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, संयोजक, सहसंयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित सङ्गठनका केन्द्रीय संस्थापकसहित पार्टीको प्रचार विभाग हेर्ने गरी तोकिनुभएका पदाधिकारीका उपस्थितिमा एक हप्ताभित्र सम्पूर्ण जिल्लाका संयोजकको नाम टुङ्गो लगाई केन्द्रीय कार्यालयलाई जानकारी दिनुपर्ने, दुई हप्ताभित्र प्रदेश कमिटीलाई पूर्णता दिनुपर्ने, केन्द्रीय कार्यालयसँग समन्वय गरी आगामी मङ्सिर दोस्रो हप्तादेखि सङ्गठनको प्रशिक्षणमूलक प्रदेश भेला आयोजना गर्ने र प्रदेश कमिटीको सङ्ख्या बढीमा ५१ सदस्यीय हुने निर्देशनमा उल्लेख छ । कमिटीमा जिल्ला संयोजक स्वतः सदस्य हुने बताइएको छ ।

जिल्ला कमिटीको सङ्ख्या बढीमा २१ सदस्यीय हुनेछ । केन्द्रबाहेकका प्रत्येक कमिटीमा महिलासहित उपाध्यक्ष दुई तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक–एक रहनेछन् । पूर्वसंस्थाबाट सङ्गठनमा आउन चाहनेलाई राष्ट्रिय सम्मेलनबाट न्यायोचित भूमिका दिने र त्यसअघि सङ्गठन निर्माण काममा लागिपर्नका लागि अनुरोध गरेको पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

प्रदेश कार्यविभाजनमा पर्नुभएका सबै सङ्गठनको संस्थापक केन्द्रीय तदर्थ कमिटीमा रहेको र टुङ्गिन बाँकी रहेका सहइञ्चार्ज, सहंयोजक र सचिवको नाम सम्बन्धित प्रदेश इञ्चार्जका सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने बताइएको छ ।

सङ्गठनको प्रदेश १ इञ्चार्जमा तीर्थराज सिग्देल, सहइञ्चार्ज रत्नप्रसाद आचार्य, सहइञ्चार्ज बुद्धवीर बाहिङ राई र शिव ढुङ्गाना तथा संयोजकमा बन्धु पोखरेल र सचिवमा भोला प्रधान श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै प्रदेश २ इञ्चार्जमा प्रकाश खतिवडा र संयोजकमा बृजलाल पासवान हुनुहुन्छ । वाग्मती प्रदेश इञ्चार्जमा नवराज छत्कुली, सहइञ्चार्जमा राजन दाहाल र मधुकर लुइँटेल तथा संयोजकमा ध्रुव रायमाझी र सहसंयोजक मोहन रिजाल र सचिवमा भोलाराज पौडेल हुनुहुन्छ ।

गण्डकी प्रदेश इञ्चार्जमा श्रीराम सिग्देल, संयोजकमा गणेश पौडेल, सहसंयोजकमा कृपा भण्डारी र खगेन्द्र पराजुली हुनुहुन्छ । लुम्बिनी प्रदेश इञ्चार्जमा विकास बञ्जाडे, संयोजकमा शिवलाल सुवेदी र सचिवमा विजयसिंह भारती, कर्णाली प्रदेश इञ्चार्जमा दुर्गा थापा, सहइञ्चार्जमा जीवन सेजुवाल र संयोजकमा यज्ञराज थापा रहनुभएको छ । सुदूरपश्चिम प्रदेश इञ्चार्जमा राजेन्द्र कुँवर, सहइञ्चार्जमा मीन ठकुरी र हरि जोशी तथा संयोजकमा नरेन्द्र भट्ट हुनुहुन्छ ।

उपत्यका प्रदेश इञ्चार्जमा सन्तराम बिडारी, सहइञ्चार्जमा टिबी विरही, संयोजकमा सविन शर्मा र सचिवमा आशिष गुरागाईं, प्रतिष्ठान प्रदेश इञ्चार्जमा नरेश न्यौपाने, संयोजकमा रामकुमार शाही, सहसंयोजकमा देवीप्रसाद सापकोटा र सचिवमा धनवीर दाहाल तथा एसोसिएट्स प्रदेश इञ्चार्जमा तेजप्रसाद वाग्ले, सहइञ्चार्जमा निर्मल अधिकारी, संयोजकमा नारायण पौडेल र सचिवमा अफरोज मन्सुर रहनुभएको छ ।