उत्पादनमुखी अर्थतन्त्र निर्माणबिना राष्ट्रिय स्वाधीनता बलियो हुँदैन : अर्थमन्त्री शर्मा

0
Shares

न्युज अफ नेपाल, ककनी ।

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताउनु भएको छ । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभएको हो । ‘उत्पादनमा केन्द्रित भएर मात्र हामी गरिबीलाई अन्त्य गर्न सक्छौँ, देशलाई आत्मनिर्भर बनाउन सक्छौँ’, उहाँले भन्नुभयो, ‘विदेशमा भर परेर हाम्रो देश अगाडि बढ्न सक्दैन । हाम्रो राष्ट्रियता र स्वाधीनता बलियो हुँदैन, यसलाई बलियो बनाउन मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता आवश्यक छ ।’

मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि बढ्न आग्रह गर्नुभयो । समाजवादका लागि गरिबीको अन्त्य, समानता, न्याय र स्वतन्त्रता आवश्यक हुने औँल्याउनुभयो । त्यसतर्फ नेतृत्व, कार्यकर्ता तथा जनता सबै लाग्नुपर्ने समेत बताउनुभयो ।

उहाँले कुनै पनि कार्य गर्दा नेता तथा नेतृत्वलाई जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्ने बताउनु हुँदै त्यसो नभए नेता बाटोबाट बहिकिने बताउनुभयो । ‘जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्छ, त्यसो भएन भने नेता काम लाग्दैन’, उहाँले भन्नुभयो ।

यसैगरी मन्त्री शर्माले स्थानीय तहलाई स्रोत र साधन अझ बढी उपलब्ध गराउनुपर्ने बताउनुभयो । स्रोत र साधन उपलब्ध गराए स्थानीय स्तरका सडक पूर्वाधारलगायतका कामहरू आफैँ गर्न सक्ने उहाँको भनाइ रहेको छ । संघीयताको पूर्ण कार्यान्वयनका लागि पनि स्थानीय तहलाई थप अधिकार र स्रोत उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।