म्याग्दीमा चाडपर्व लक्षित खेलकुदजन्य गतिविधि गर्न र देउसी भैलो खेल्न रोक

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीमा चाडपर्वलक्षित खलकुदजन्य गतिविधि सञ्चालन गर्न र देउसीभैलो खेल्न रोक लगाइएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जिल्ला सुरक्षा समितिको वैठकको निर्णयअनुसार मेलाजात्रा लगाउन र देउसी खेल्न रोक लगाइएको हो ।

जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रमुखसहित सरोकारवालाहरुको राय, सल्लाह र सुझावको आधारमा नजिकिँदै गरेको दिपावली, छठपर्वलगायत चाडपर्वमा भेला तथा जमघट हुने खालका खेलकुदका गतिविधिहरु गर्न र देउसीभैलो खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले चाडपर्वमा भेला हुने र भीडभाड गर्ने खालका गतिविधि सञ्चालनमा रोक लगाइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले चाडपर्वको अवसरमा हुने मेला, जात्रा, देउसीभैलो, खेलकुद तथा साङ्गीतिक कार्यक्रम जस्ता बढी भीडभाड हुने क्रियाकलापहरुमा रोक लगाइएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनाको वेवास्ता र उल्लङ्घन गरेर कसैले चाडपर्वको नाउँमा खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना तथा सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारवाही हुने सहायक प्रजिअ पौडेलको भनाइ छ । घरदैलोमै पुगेर खेलिने देउसीभैलोले कोरोना संक्रमणको उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको प्रशासनले जनाएको छ ।

म्याग्दीमा पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभर कुल ३ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ हजार २ सय ६६ जना निको भई आइसोलेसनमुक्त भएका छन् । अहिले एकजना बेनी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत रहेकोमा २७ जना संक्रमितहरु भने होम आइसोलेसनमा छन् ।