फोनिज स्याङ्जाको संयोजकमा गुरुङ

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्याङ्जाको संयोजकमा तिलक गुरुङ चयन हुनुभएको छ । आदिवासी जनजाति पत्रकार महासंघ स्याङ्जाको भेलाले गुरुङलाई तदर्थ समितिको संयोजकमा चयन गरेको हो । गुरुङले ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गर्दै आउनुभएको छ ।

त्यसै गरी भेलाले सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसको उपसंयोजकमा अप्सरा राना, सचिवमा इशा राना, सदस्यहरूमा अस्मिता राना, सिता थापा, प्रमोद गुरुङ र जमुना गुरुङ चयन हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष एमवि आस्था मगरको अध्यक्षमा भएको भेलामा प्रमुख आतिथी वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले अब सरकारले समावेशी सञ्चार नीति ल्याउनुपर्ने बताउनुभयो ।

नगर उपप्रमुख कल्पना तिवारीले पत्रकारिता क्षेत्रमा आदिवासी जनजातिको उपस्थिति कम छ भन्दै समावेशी मिडिया अवधारणाले सीमान्तकृत समुदायको पहुँच अभिवृद्धि हुने उल्लेख गर्नुभयो । गठन भएको तदर्थ समितिले भदौ २५ गतेभित्र जिल्ला अधिवेशन गर्नुपर्नेछ ।

त्यसै गरी नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले जनजाति पत्रकारसँग संगसगैं हातेमालो गरेर अघि बढ्न नेपाल पत्रकार महासंघ स्याङ्जा सधैं तयार रहेको बताउनुभयो । ‘महासंघ समावेशी सञ्चार र समावेशी समाचार कक्षको पक्षमा छ,’ सिग्देलले भन्नुभयो, ‘तर सीमान्तकृत समुदायबाट जति पत्रकारहरू आएका छन्, उनीहरूको पेसागत सुनिश्चितता नहुँदा बिचैमा छाड्नु परेको समस्या छ ।उत्पीडित समुदायलाई पत्रकारितामा ल्याउने प्राथमिकता दिंदैछौं ।’

फोनिजका नवगठित अध्यक्ष तिलक गुरुङले नेपालको विविधता सुहाउँदो समावेशी सञ्चार नीति बनाउन आवश्यक रहेको बताउनुभयो । भेलामा आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश इन्चार्ज होमबहादुर गुरुङ, नेपाली काँग्रेस वालिङ नगर समितिका उपसभापति पदमराज गुरुङ, नेपाल प्रेस युनियनका अध्यक्ष प्रदिप कोइराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति न्यौपाने लगायतका वक्ताहरूले आफ्नो हक अधिकारका लागि आदिवासी पत्रकारहरू सङ्गठित हुनु राम्रो पक्ष रहेको बताउनुभएको थियो ।

पत्रकार उत्पादनका लागि तालिम आवश्यक देखिएकाले जिल्ला अधिवेशन पछि तालिम सञ्चालन हुने प्रदेश अध्यक्ष एमवि आस्थाले प्रतिवद्धता व्याक्त गर्नुभयो । आस्थाले पत्रकारिताको क्षेत्रमा आदिवासी जनजातिको उपस्थिति बढाउन तालिम जरुरी रहेको बताउनुभयो । यसैगरी संघले नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाँउ सिरुवारीमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा पत्रकार अभिवृद्धि विषयक अन्तरक्रिया समेत सम्पन्न गरेको छ ।