सत्ता गठबन्धनमा सहमति जुटाउन सकस



काठमाडौं, (नेस) ।

सत्तारूढ दलबीच नै विवाद बढ्दै जाँदा सरकार गठन भएको साढे दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले यसअघि सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ ।

मन्त्रीमण्डल विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफल पनि सहमतिमा पुग्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूलाई तत्काल मन्त्रीमण्डल विस्तारमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर, जसपाले भने राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेको थियो । जसपाका नेता महेन्द्र राय यादवले बालुवाटारमा भएको छलफलमा राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निस्क्रिय बनाउने विषयमा निर्णय गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको जानकारी दिनुभयो ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित रहेको थियो । अहिलेसम्म एक राज्यमन्त्रीसहित कांग्रेसबाट चार र माओवादीबाट २ गरी ६ जना मात्रै मन्त्री नियुक्त गर्नुभएका देउवाले सत्ता गठबन्धनमा सहमति बन्न नसक्दा बाँकी मन्त्री नियुक्त गर्न सक्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्