थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिलोमा सोमबारसम्म सार्वजनिक गरिने उहाँले बताउनुभयो । करिब ९ लाख रहेका क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

पार्टीले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यको विवरण सार्वजनिक गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । वडा अधिवेशन सम्पन्न भएका ५५ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिएकोे केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुंग्याएर दशँंअघि सबै जिल्लाका पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन गरिने कांग्रेसको योजना छ ।

प्रतिक्रिया दिनुहोस्