अफगानी महिलाप्रति ऐक्यबद्धता जनाउँदै कमला भसिनलाई श्रद्धाञ्जली



कपिल काफ्ले, काठमाडौं ।

हजारौं नेपाली महिला अधिकारकर्मीका सामाजिक सञ्जाल शनिबार बिहानैदेखि शोक र श्रद्धाञ्जलीका विवरणले भरिए । विवरणमा लेखिएको थियो– ‘दक्षिण एसिया मात्र नभएर विश्वमै सुप्रसिद्धि हासिल गरेकी महिला अधिकारकर्मी कमला भसिनको दुखद निधन भएका कारण हामी शोक सन्तप्त छौं ।’

राष्ट्रसंघीय निकाय ‘सिड’ का उपाध्यक्ष तथा सुप्रसिद्ध अधिकारकर्मी बन्दना राणाले लेख्नुभएको छ– ‘हामी सबैकी प्रिय कमला भसिनले एकाबिहानै हामी सबैलाई सदाका लागि छोड्नुभयो भन्ने समाचारले मर्माहत बनाएको छ । लैङ्गिक समानतायुक्त संसार निर्माणमा सामाजिक रूपान्तरणका लागि तपाईंले हामीलाई मालाको त्यस्तो धागो बनेर काम गर्नुभयो, जसले हामीलाई एक महान अभियानमा एकीकृत बनायो । तपाईं हाम्रो भावना र अभियानमा सदा अमर रहनुहुनेछ ।’

वास्तवमा कमला भसिन भारतीय नागरिक भएर पनि भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएका बेला आफ्नो सरकारको अमानवीय व्यवहारका लागि लज्जा महसुस गर्दै खुला अभिव्यक्ति दिने भारतीय मित्र हुनुहुन्थ्यो । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकका युवा महिलालाई भेला पारेर ‘संगत’ मार्फत लैंगिक समानताका पक्षमा तालिम सञ्चालन गर्नुका साथै अभियानकै नेतृत्व गर्नुहुन्थ्यो ।

‘पछिल्लो पाँच वर्ष कोभिडले अवरोध पु¥याउनु अघिसम्म भसिन संगत तालिमका मुख्य प्रशिक्षक तथा अभियन्ताका रूपमा निरन्तर नेपाल आउनुभयो’, संगत तालिमका लागि छानिएको टेवा नामक संस्थाका संस्थापक तथा महिला अधिकारकर्मी रीता थापा भन्नुहुन्छ– ‘संगत तालिममार्फत हजारौं युवा अधिकारकर्मीको उत्पादन गर्ने, पितृसत्ताविरुद्ध मातृसत्ता होइन समानताको सत्ता– महिला–पुरुष र यौनिक अल्पसंख्यकको सत्ता, प्रेम र समानताको सत्ता भनेर सिकाउने गुरुमालाई हामीले गुमायौं ।’

थापा शनिबार काठमाडौंको माइतीघर मण्डलामा भएको तालिवानी सत्ताका कारण अफगानी महिला तथा बालिकाप्रति भएको हिंसाविरुद्धको ऐक्यवद्धता कार्यक्रमको नेतृत्व गर्दै हुनुहुन्थ्यो । एक घण्टालामो शान्तिपूर्ण प्रदर्शनको अन्त्यमा तीन मिनेट लामो मौनधारण गरेर सहभागीहरुले स्वर्गीय कमला भसिनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कमला भसिनले ‘उर्लंदो सय करोड’ अभियान जसलाई ‘ओबीआर– वन बिलियन राइजिङ’ का नामले चिनिन्छ, भ्यालेन्टाइन डे का दिन यो दिवस मनाएर पितृसत्तात्मक शासित–शोषितको सम्बन्ध हटाई महिला–पुरुषबीच प्रेम सम्बन्ध स्थापना गर्नुपर्छ भनेर पनि सबैलाई सचेत गराउनुभयो । यसै गरी, विश्वमा १ हजार महिला शान्तिदूत चयन गर्ने कार्यमा दक्षिण एसियाकै संयोजकका रूपमा पनि उहाँले भूमिका खेल्नुभयो ।

क्यान्सरका कारण ७५ वर्षको अल्पायुमै दिवंगत कमला भसिनलाई नजिकबाट चिन्नेहरुले एकै आशय दोहो-याएर स्ट्याटस लेखेका छन्– ‘कमला भसिनजस्ता पितृसत्ता, पुरुषत्व र शक्ति–सम्बन्धका विषयमा गहन जानकारी राख्ने व्यक्तिहरु त यस क्षेत्रमा धेरै छन्, तर दक्षिण एसियालाई नै लैङ्गिक समानताको सूत्रमा बाँध्ने अर्को कोही कमला देखिएको छैन ।’

संगत नेपालकी संयोजक डा. पूजा पन्तले शनिबारको ऐक्यबद्धता कार्यक्रमको संयोजन गर्नुभएको थियो । काठमाडौं, ललितपुर र भक्तपुरमा एकैसाथ दिनको ३ देखि ४ बजेसम्म गरिएको ऐक्यबद्धता कार्यक्रममा तीनै जिल्लामा उल्लेख्य संख्यामा महिला अधिकारकर्मीको सहभागिता भएको जानकारी गराउँदै डा. पन्तले भन्नुभयो– ‘अफगानी महिलालाई त्यहाँका पुरुषसरह अधिकार दिनुपर्छ भनेर विश्वव्यापीरूपमा ऐक्यबद्धता कार्यक्रम राखेकै दिन लैङ्गिक समानताकी महान् अभियन्ता कमला भसिनको निधन भयो, यो कस्तो विचित्रको संयोग !’

प्रतिक्रिया दिनुहोस्