पुँजी बजारमा ‘बाउन्स ब्याक’ को संकेत



काठमाडौं, (नेस) ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक क्रमशः सुधार हुँदै ‘बाउन्स ब्याक’ को संकेत देखिएको छ । नेप्सेमा मंगलबार दोहोरो अंकको वृद्धि भएसँगै बुधबार उच्च अंकको वृद्धि हुँदै सुधारको संकेत देखिएको हो ।

बुधबार नेप्से १०४ दशमलव ८८ अंकले बढेर परिसूचक २८१६ दशमलव ९५ बिन्दुमा पुगेको छ । परिसूचक बढेअनुसार कारोबार रकममा भने सुधार भएको छैन । कुल २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख रुपियाँमा कारोबार भएको छ । बुधबारको कारोबारपछि बजार पुँजीकरण ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख रुपियाँ पुगेको छ ।

यस दिन कारोबार भएका १३ वटै समूहको सूचक बढेका छन् । जसमा बैंकिङ समूह ६० दशमलव ९२, व्यापार १३२ दशमलव ६७, होटल तथा पर्यटन १३६ दशमलव ९, विकास बैंक ३८१ दशमलव ४२, जलविद्युत् १६९ दशमलव ४४, वित्त २०७ दशमलव ९३, निर्जीवन बीमा ४४१ दशमलव ८७, उत्पादन १८२ दशमलव ३१, अन्य ४१ दशमलव ७३, लघुवित्त १७० दशमलव ७३, जीवन बीमा ५५१ दशमलव ७५, सामूहिक लगानी कोष शून्य दशमलव २२ र लगानी समूह ३ दशमलव ८९ अंकले बढेका छन् । बुधबार १४ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा प्रिमियर इन्स्योरेन्स, वेस्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक, आइसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंकलगायत छन् ।

बुधबार पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ३४ लाख ८५ हजार रुपियाँको कारोबार भएको छ । यस्तै नेसनल हाइड्रोपावरको १८ करोड ४८ लाख ७४ हजार, आरएमडीसी लघुवित्त १६ करोड ९९ लाख ६८ हजार, हिमालयन डिस्टिलरी १५ करोड ४८ लाख ८९ हजार र अपि पावर कम्पनी १३ करोड ५३ लाख ७१ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्