नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस) ।

लगातारको गिरावटपछि मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १३ दशमलव ८३ बिन्दुले उकालो लागेर २७१२ दशमलव शून्य ७ मा पुगेको छ । कुल २२३ कम्पनीको एक करोड ५३ लाख छ हजार ६१ कित्ता शेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार रुपियाँमा कारोबार भएको छ । मंगलबारको कारोबारपछि नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ३७ खर्ब ९५ अर्ब ७६ करोड ८५ लाख ९२ हजार रुपियाँ पुगेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका १३ समूहमध्ये चार समूहको सूचक ओरालो लागेको छ भने नौ समूहको शेयर उकालो लागेको छ । जसमध्ये व्यापार ५० दशमलव २५, वित्त १८ दशमलव ४५, उत्पादन १९ दशमलव शून्य १ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य १ बिन्दुले ओरालो लागेको छ । त्यस्तै बैंकिङ समूह ३ दशमलव ७४, होटल तथा पर्यटन समूह ७६ दशमलव शून्य ९, विकास बैंक २७ दशमलव ३७, जलविद्युत् २२ दशमलव ८३, निर्जीवन बीमा ७२ दशमलव शून्य २, अन्य १३ दशमलव ८१, लघुवित्त १४ दशमलव ४९, जीवन बीमा १९९ दशमलव ६४ र लगानी १ दशमलव २७ अंकले बढेको छ । यस लिन पनि कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । सो कम्पनीको २५ करोड ४४ लाख १५ हजार रुपियाँको कारोबार भएको छ । यस्तै नबिल बैंकको २० करोड ५६ लाख ६ हजार, नेपाल पूर्वाधार बैंकको २० करोड ४६ लाख ११ हजार, हिमालयन डिस्टिलरीको २० करोड १९ लाख ३६ हजार र अपी पावर कम्पनीको १८ करोड आठ लाख ४३ हजार रुपियाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस दिन मनकामना स्मार्ट लघुवित्त ९ दशमलव ९९, रुरु जलविद्युत् परियोजना ५ दशमलव ७८, नेपाल पूर्वाधार बैंकको ४ दशमलव ६६, लाइफ इन्स्योरेन्स कम्पनीको ४ दशमलव २८, माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतले कमाएका छन् । तर, सानिमा लार्ज क्याप फन्ड, एक्सेल डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, माउन्टेन इनर्जी नेपाल र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्