दुई जलविद्युत् कम्पनीको आईपीओ आउँदै



नेपाल समाचारपत्र, काठमाडौं ।

दुई जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्दै छन् । शेयर जारी गर्न लागेका कम्पनीमध्ये एउटाको बुधबार र अर्कोकको असोज ११ गतेदेखि आईपीओ जारी हुन लागेको हो ।

जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च बिन्दुमा पुगेका बेला आईपीओ जारी गर्न लागेको साहस ऊर्जा लिमिटेड रहेको छ । यस कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दै छ । कम्पनीले कुल ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र ३ तीन प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यस आईपीओ असोज १० गतेसम्म भर्न सकिन्छ । इक्रा नेपालले साहस ऊर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । यस कम्पनीले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जसको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपियाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ बिक्रीपछि यसको कुल शेयर पुँजी ३ अर्ब ५० करोड रुपियाँ पुग्नेछ ।

त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपियाँ अंकित मूल्यको ८ करोड रुपियाँको आठ लाख कित्ता प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

आठ लाख कित्तामध्ये पाँच प्रतिशतअर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने दुई प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । कम्पनीले बाँकी सात लाख ४४ हजार कित्ता साधारण शेयर आगामी निष्कासन गर्न लागेको हो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । कम्पनीको जारी पुँजी ४० करोड रकम बराबरको प्रतिसाधारण शेयर सय रुपियाँ अंकित दरले हुने ४० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् १२ करोड रुपियाँबराबरको १२ लाख कित्ता शेयर सार्वजनिक निष्कासनको निमित्त छुट्याएको थियो । जसमा स्थानीयको लागि आवेदन गर्न जारी पुँजीको १० प्रतिशतले हुने चार लाख कित्ता शेयर गत साउन ३२ गतेदेखि भदौ १५ सम्म खुलाएको थियो । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा जलविद्युत् उत्पादन केन्द्र रहेको कम्पनीले चार दशमलव ९९ मेगावाट क्षमताको आयोजना विकास गरिरहेको छ । यसमा प्रतिमेगावाट लागत २३ करोड ८० लाख हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्