साहस ऊर्जाको आईपीओ असोज ६ मा आउने



काठमाडौं (नेस) ।

साहस ऊर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ । सो कम्पनीले ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । जसमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि र ३ प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ भर्न पाइने आयोेजनाले जनाएको छ । सो कम्पनीको आईपीओ असोज १० गतेसम्म भर्न पाइने भएको छ । उक्त अवधिमा सबै आईपीओ बिक्री नभएमा भने असोज २० गतेसम्म खुला रहने भएको भएको छ ।

बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गर्ने भएको छ । इक्रा नेपालले साहस ऊर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

जसको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ बिक्रीपछि यसको कुल शेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्